अब गर्मी महिना शुरु भएसँगै सर्पको बिगबिगी बढ्न थालेको छ । अझ तराईका जिल्लाहरूमा त यो समस्या व्यापक नै हुन्छ । सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । विषालुले टोकेमा ज्यान समेत जान सक्छ । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ ।
गोमन र करेत सर्पले टोक्दा न्युरो टक्सिभेनममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसकारण मानिसको मृत्यु हुने जोखिम धेरै हुन्छ । सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ ।
भाइपर सर्पमा हेमोटक्सिन हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुन्निने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने हुन्छ र समयमा उपचार गरिएन भने हातखुट्टा काट्नुपर्ने वा अङ्गभङ्ग हुने जोखिम बढी हुन्छ । नेपालमा सर्पदंशबाट हुने मृत्युमध्ये ९० प्रतिशत भन्दा धेरै मृत्यु करेत र गोमन सर्पको टोकाइबाट हुने गरेको पाइन्छ ।
सर्पले टोक्नासाथ के गर्ने ?
गाउँघरमा अहिले पनि सर्पले टोकेमा घरेलु उपचार नै गर्ने चलन देखिन्छ । सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलि माथि कपडाले वा अरू कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्नेजस्ता घरेलु उपचार गरिन्छ, जुन एकदमै गलत हो ।
यसले फाइदाभन्दा पनि हानि पुर्याउँछ । सर्पले टोकेमा यसको खास प्राथमिक उपचार नै छैन । टोकेको ठाउँमा लगाउने पीआईबी (प्रेसर इमुलाइजेसन व्यान्डेजिङ) नामको ब्यान्डेज पाइन्छ, जसले घाउलाई छोप्न र नहल्लाउन सहयोग गर्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य चौकीमा पुर्याइदिनुपर्छ ।
सर्पले कुन भागमा बढी टोक्छ ?
सर्पले प्रायः शरीरको तल्लो भागमा टोकेको देखिन्छ । हात, खुट्टा, कम्मर, ढाड, छाती, घाँटी, टाउको जुनसुकै ठाउँमा सर्पले टोक्न सक्छ । टाउको र घाँटीमा टोकेमा विषले चाँडै असर गर्छ, जसकारण मृत्यु हुने जोखिम पनि धेरै हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया