यौवनावस्थामा डण्डीफोर आउने समस्या समान्य भए पनि यसलाई कतिपयले जटिल समस्याका रुपमा लिने गर्छन् । अनुहारमा डण्डीफोर आउँदा आफ्नो सुन्दरता बिग्रिएको भनेर कतिपय युवायुवतीले यसलाई ठूलो समस्याका रुपमा लिने गर्छन् ।
मेडिकलको भाषामा डण्डीफोर हर्मोनका कारण छालामा आउने एक प्रकारको रोग हो । तर, यो ठूलो समस्या भने होइन ।
डण्डीफोरलाई निकै ठूलो समस्याका रुपमा लिने युवायुवतीले यसलाई निको पार्न घरेलु विधिसमेत अपनाएको पाइन्छ । चिकित्सकहरूले यसलाई सामान्य रुपमा लिन सल्लाह दिन्छन् ।
मानिसको शरीरमा हुने ‘रौं’ को फेदमा स–साना प्वाल हुन्छन् । ती रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । उक्त ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुन बेला यसको जरामा रहेको प्वाल बन्द हुन्छ । त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डण्डीफोर (पिम्पल्स) को अवस्था हो ।
अर्को कुरा, सामान्यतया हामीले अनुहारमा डण्डीफोर आएको धेरैलाई सामान्य लागे पनि कतिपय युवायुवतीको हात तथा डाढमा समेत डण्डीफोर आएको पाइन्छ ।
अनुहारमा बाहेक अरु अङ्गमा डण्डीफोर किन आउँछ? अनुहारमा आउने डण्डीफोर र शरीरमा आउने डण्डीफोर एकै प्रकारका हुन् अथवा भिन्नता छ भन्ने सन्दर्भमा छालारोग विशेषज्ञ डा. कमलराज धितालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
डाढमा डण्डीफोर आउने कारण के होला?
साधारणतया अनुहारमा आउने डण्डीफोर सामान्य हो । जुन जो कोहीलाई यौवनावस्थामा आउन सक्छ । तर ढाड र पिठ्युँमा पनि डण्डीफोर आउँछ भन्ने कुरा सबैलाई अवगत नहुन सक्छ । स्टोरोइड भन्ने औषधीको कारणले गर्दा छालाको राम्ररी स्याहार गरिएन । यदि कसैको छाला निकै चिल्लो छ भने मोस्चराइजर, लोसन लगाउँदा, महिनावारीको समयमा धेरै पेट दुख्ने समस्या छ भने वा अन्य रोगहरुको औषधी सेवन गर्नुहुन्छ भने पनि यस्तो समस्या आउँछ ।
के अनुहारमा आउने डण्डीफोर र शरीरमा आउने डण्डीफोर एकै हुन् ? कि यसमा भिन्नता छ?
अनुहारमा आउने, छातीमा, पिठ्युँ लगायत शरीरका अन्य भागहरुमा आउने डण्डीफोर सबै एकै प्रकारका नै हुन् । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डण्डीफोर आउँछन् । कपडाले ढाक्ने भागमा डण्डीफोर आउँदा खासै फरक पर्दैन । तर अनुहारमा डण्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ ।
यसलाई कसरी निर्मूल गराउने त ?
डण्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो । यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ । जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन । चकलेट धेरै खानेहरूलाई पनि डण्डीफोरको समस्या देखिन सक्छ । डण्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ । कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीन/चारपटक मुख धुनुपर्छ । छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ ।
डण्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधी खानुपर्ने पनि हुन्छ । डण्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा यो समस्याबाट बच्न सकिन्छ । सनस्क्रिन, मोस्चराइजर र क्रिमहरु आफ्नो छालाको प्रकार अनुसार लगाउनुपर्छ ।
यसका लागि घरेलु उपायहरु के–कस्ता छन् ?
मुख्य कुरा त हामीले डण्डीफोरलाई हातले निचोर्ने, चलाउने गर्नुहुँदैन । खानपान र जीवनशैलीको कुरा गर्नुपर्दा पानी प्रशस्त मात्रामा पिउने गनुपर्छ । गुलिया चीज चकलेटहरु र डेरी प्रडक्टहरुको सेवन निकै कम मात्रामा गर्नुपर्छ । डण्डीफोरको घाउलाई हातले छुनु हुँदैन । हातले छुँदा संक्रमणको सम्भावना हुन्छ ।
अनुहारलाई सधैँ सफा राख्नुपर्छ । सौन्दर्य प्रसाधनको उपयोग गर्दा समेत सतर्क रहनुपर्छ । कहिलेकाहीँ कुनै प्रकारको खानाले समेत डण्डीफोरको स्थिति बिगार्न सक्छ । जस्तैः आइसक्रिम, चकलेट, पिजा, बर्गरजस्ता उच्च क्यालोरीयुक्त आहार हुन् ।
डण्डीफोरबाट बच्न औषधियुक्त साबुन, क्लिन्जर वा लोसनको उपयोग दिनमा दुईपटक गर्नुपर्छ । राति सुत्दा अनुहारलाई सफा गरेर सुत्नुपर्छ । सधैं तेलरहित क्रिमको उपयोग गर्नुपर्छ । छाला रोग विशेषज्ञको सल्लाहमा ‘एन्टी–एक्नी’ लोसनको समेत उपयोग गर्न सकिन्छ ।
अनुहारमा रातभरी मोइस्चराइजर लगाएर राख्नुहुन्न । चिकित्सकका अनुसार कहिले पनि डण्डीफोरको पिप बगाउनु र नङले कोट्याउनु हुन्न । यसो गर्दा डण्डीफोरको दाग बस्न सक्छ । महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र सङ्क्रमण मुक्त राख्नुपर्छ । डण्डीफोरको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ । हरियो सागसब्जी र फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ ।
समयमै औषधि उपचार गरिएन भने केही समस्या हुने हुन्छ?
साधारणतया डण्डीफोर आएकै कारण स्वास्थ्य समस्या हुने हुँदैन । तर पिम्पल ढाडमा, अनुहारमा आएको छ भने आफूलाई अरुको अघि उभिँदा असहज महसूस हुने, ओपन कपडाहरु लगाउन समस्या हुने, छाला सौन्दर्य हराउने हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया