धादिङ – धादिङको नीलकण्ठ नगरपालिका-३, धादिङबेसीमा सञ्चालित जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा बिस्तार गरिएको हो ।
चिकित्सालयले अब १६ शय्याको सेवा प्रदान गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा. अमुल्य दाहालले बताए । उनले चिकित्सालयको भवन निर्माण गरी सेवा प्रदान गर्न लागेको जानकारी दिए ।
धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिनेछ ।
सोह्र शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भइरहेको छ । औषधि न्यून मात्रामा उपलब्ध हुने भएकाले पनि सेवाग्राहीलाई सहजरुपले सेवा दिन नसकेको चिकित्सालय धादिङका प्रमुख दाहालको भनाइ छ ।
चिकित्सालयले वैकल्पिक उपचार विधि अन्तर्गत बहिरङ्ग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजिओथेरापीलगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत ३० वर्षभन्दा माथिका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
आमा समूहमा भान्साघर औषधालय कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत भान्सामा चल्ने खानेकुरा र स्वादिलो बनाउन प्रयोग हुने मसलाको मात्राको विषयमा सिकाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया