काठमाडौँ– साहित्यकार सरुभक्त श्रेष्ठलाई ‘हेमराज पहारी स्मृति पुरस्कार –२०८०’ बाट सम्मान गरिएको छ ।
आज शुक्रवार हेमराज पहारी स्मृति प्रतिष्ठानले पोखरामा एक कार्यक्रम गरी प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने, कवि तीर्थ श्रेष्ठ लगायतको उपस्थितिमाा उनलाई एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाली साहित्यमा लामो समयसम्मको योगदानको कदर गर्दै प्रतिभा छनोट समितिले उनको सिफारिश गरेको थियो ।
साहित्यकार, समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवर्धन गर्दै आएको प्रतिष्ठानले हरेक २ वर्षमा एक लाख राशीको पुरस्कार प्रदान गर्दे आएकोमा अघिल्लो वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्ने घोषणा गरेको थियो ।
पोखरामा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले देशभरका साहित्यिक स्रष्टाहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानले यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ, स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोक कवि अलि (मरणोपरान्त) मिया तथा मकवानपुरको झरना साहित्यक परिवारलाई पुरस्कृत गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया