काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चैत्र महिनामा समापन गर्यो ।
यो प्रदर्शनीसँगै प्रतिष्ठानले पहिलोपल्ट सातै प्रदेशहरुमा शुरु गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी’को योजनालाई सफल रुपमा सम्पन्न गरेको प्रतिष्ठानको भनाइ छ । यसलाई प्रतिष्ठानले कलाको पुनर्जागरणका रुपमा लिएको छ ।
यस प्रदर्शनी मार्फत् प्रतिष्ठानले कलाका नयाँ विधा र कलाकारहरुसँग प्रत्यक्ष रुपमा कला माहोलका बारेमा बुझेको दावी समेत गरेको छ ।
प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावमा कोसी प्रदेशको इटहरी, मधेसको जनकपुरधाम, बागमतीको नक्सालस्थित प्रतिष्ठान, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा प्रादेशिक कला प्रदर्शनी गरेको थियो ।
यसलाई ललितकला क्षेत्रका महत्वपूर्ण कदमका रुपमा ललितकला कर्मी एवं ललितकलाप्रेमीहरुले लिएका छन् । काठमाडौँ केन्द्रित कला माहोल भइरहेको अवस्थामा प्रत्येक प्रदेशमा प्रतिष्ठान पुग्नु नै कला जागरणको स्वरुपलाई लिनुपर्ने कलाकार तथ कला समीक्षक रमेश खनालको धारणा छ ।
शुरुवात मात्र नभएर यसलाई अब निरन्तरता समेत दिनुपर्ने उनको जोड छ ।
सातै वटा प्रदेशमा कला प्रदर्शनी उत्साहजनक रुपमा सम्पन्न भएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताए ।
उनका अनुसार प्रदर्शनी मार्फत् एक हजार भन्दा बढी नयाँ कलाकारसँग साक्षात्कार गरी कलाका नयाँ शैलीबारे समेत बुझ्ने माहोल बन्यो । प्रत्यक्ष रुपमा सहभागी हुँदा स्थानीय कलाकार र कलाका बारेमा भएका कमजोरी तथा समस्या समेत नजिकबाट नियाल्ने मौका मिलेको ‘थुम्केली’ले बताए ।
‘हराएका कलाहरुलाई खोज्ने, संरक्षण गर्ने हेतुले हामीले यसलाई कलाको पुर्नजागरणको चरणका रुपमा लिएका छौं,’ उनले भने, ‘यसलाई लेखन समीक्षा गर्ने, दस्तावेजीकरण, स्थायित्व र स्थानीयबाट अन्तर्राष्ट्रिय चरणमा जाने चुनौती हामीले देखेका छौं ।
अहिलेको शुरुवाती चरणमा पहुँचमा पुग्नु नै चुनौती रुपमा रहेको उनले सुनाए । यसबाहेक २०८० भित्र नै प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी’, ‘राष्ट्रिय ललितकला सम्मेलन’, अग्रज तथा दिवङ्गत कलाकारहरुका कला प्रदर्शनी, कला कार्यशाला, छलफल कार्यक्रमहरु वर्षभभरि नै गरिरहेको छ ।
प्रतिष्ठानले काठमाडौँ विश्वविद्यालय, काठमाडौं महानगरपालिका तथा सिद्धार्थ आर्ट ग्यालरीहरु जस्ता संघ–संस्थाहरुसँग सहकार्यको वातावरण बनाएको छ ।
यी सबै कार्यहरुको समीकरण गर्दा यस वर्षलाई सन्तोषजनक मान्नुपर्ने प्रतिष्ठानको ठम्याइँ छ ।
प्रतिष्ठान मात्र नभएर व्यक्तिगत तवरमा चलेका आर्ट ग्यालरीहरुमा समेत वर्षभरी नै कला प्रदर्शनीहरु भए । कलाकारहरुकै पहलमा स्थापित संघ–संस्थाहरुले समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कला प्रदर्शनी, कला कार्यशाला र कलाबारे विविध गतिविधिहरु गरे ।
‘इन आर्ट वर्ल्ड’को आयोजनामा ‘आकार आर्ट सेन्टर’ र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’को संयोजनमा चैत्र ५ गते मात्र ‘कलाशाला’ शीर्षकमा अन्तर्राष्ट्रिय कार्यशाला तथा कला प्रदर्शनी सकिएको छ ।
कार्यक्रममा भारत, बंगलादेश, ताइवान लगायत देशका एक सयभन्दा बढी कलाकारहरु सहभागी थिए । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीले एकल तथा संयुक्त गरी एक दर्शन कला प्रदर्शनी गरेको छ ।
हालै मात्र ग्यालरीले कलाकार लियो झन्कारको एकल प्रदर्शनी सम्पन्न गरेर भारतीय कलाकारहरुको संयुक्त कला प्रदर्शनी शुरु गरेको छ । त्यस्तै ‘इन्टरनेशनल वाटर कलर सोसाइटी’ले अन्तर्राष्ट्रिय तवरमै काठमाडौँ ‘अन्तर्राष्ट्रिय वाटर कलर फेस्टिभल’ सम्पन्न गर्यो ।
नेपाल आर्ट काउन्सिल, क्लासिक आर्ट ग्यालरी, एम क्युव, विन्ड हर्स, दलाई ला स्पेश, विकल्प आर्ट सेन्टर, अरुपण आर्ट ग्यालरी, तारा गाउँ म्युजियम लगायतका ग्यालरीहरुले निरन्तर कला प्रदर्शनीका कार्यहरुलाई वर्षभरी नै निरन्तरता दिइरहेका छन् ।
ठमेलस्थित म्युजियम अफ नेपाली आर्टस् ग्यालरीले नेपाली परम्परागत तथा आधुनिक कलाहरुलाई प्रदर्शनी, संकलन तथा कलाकारहरुलाई समेत स्थान दिने काम तीव्र रुपमा अगाडि बढाएको छ । क्लासिक आर्ट ग्यालरीले यो वर्ष सामूहिक तथा अन्तर्राष्ट्रिय गरी एक दर्शन कला प्रदर्शनी कार्यशालाहरु गरेको ग्यालरीकी निर्देशक सरिता डङ्गोलले बताइन् ।
क्लासिक तथा अरुपण जस्ता ग्यालरीहरुले कला प्रदर्शनीसँगै प्रशिक्षणलाई समेत अगाडि बढाइरहेका छन् । यी ग्यालरीहरुले बालबालिकाहरुलाई समेत कलामा प्रेरित गर्न कला प्रशिक्षण दिइरहेका छन् ।
क्लासिकले फरक क्षमता भएका बालबालिकाहरुलाई समेत कला शिक्षा दिइरहेको छ ।
समग्रमा वर्ष २०८० लाई हेर्दा कला गतिविधिहरुमा राम्रै चहलपहल देखिएको मिथिला चित्रकार तथा कला लेखक एसी सुमनको बुझाइ छ ।
केन्द्रमा मात्र नभएर प्रदेश र स्नाथीय तहसम्म कला पुग्नुलाई उनले सकारात्मक रुपमा लिए ।
उनले भने, ‘हाम्रो कला र हामी अन्तर्राष्ट्रिय स्तरको पहुँचमा पुग्ने क्रम अझै बढेको छ, जनकपुर साहित्य महोत्सव जस्ता प्लाटफर्ममा कलालाई जोडेर गतिविधि भए, यो निकै राम्रो प्रयास हो, यसलाई राम्रै मान्नुपर्छ ।’
कलाकार तथा क्लासिक ग्यालरीकी निर्देशक डंगोलले पनि कला गतिविधिहरुलाई यस वर्ष सन्तोषजनक नै रहेको सुनाइन् । कलाकार र कला सिर्जना बढिरहेको यो समयमा कलाका गतिविधिहरु अझै न्यून देखिएको उनको अनुभव छ ।
प्रत्येक बस्ती र शहरमा कला ग्यालरी र कलाको बहस हुनुपर्ने उनको मत छ ।
‘निश्चित ग्यालरीहरुमा मात्र कला प्रदर्शन र गतिविधि भएर अब पुग्दैन । समुदायमाझ पनि कला पुग्नुपर्छ । अझै पनि कति नयाँ कलाकारहरुले प्रदर्शन गर्ने अवसर पाएका छैनन् । हामीलाई ग्यालरी चलाउन पनि गाह्रै छ,’ उनले भनिन् ।
काठमाडौँ केन्द्रित कला गतिविधि
२०८० साल मात्र नभएर कला विधिहरुलाई नियाल्ने हो भने अधिकांश काठमाडौँ केन्द्रित नै देखिन्छन् ।
काठमाडौंभित्र हुने कलाको माहोल, कलाकार, कला समीक्षक, मिडियाको उपस्थिति र किनबेचको हिसाबले पनि जो कोहीले काठमाडौँमा नै गएर कला प्रदर्शनी गर्ने गरेको गैंडाकोट, नवलपुरमा रहेर कला सिर्जना गरिरहेका कलाकार भिमप्रसाद शर्माले सुनाए ।
उनका अनुसार राजधानीमा कलाको गतिविधि बढेको देखिन्छ भने बाहिर चहलपहलमा शिथिलता छ । कसैले आँटै गरेर स्थानीय तहमा कला प्रदर्शनी या अन्य गतिविधि गरे पनि स्थानीयको पनि न्यून उपस्थिति देखिएको उनले बताए ।
उनी जस्ता कलाकारहरुलाई पनि आफ्नो कला चिनाउन र बाहिर ल्याएर बिक्री गर्न केन्द्रमा धाउनुपर्ने बाध्यता छ ।
उनले भने, ‘आर्ट हेर्ने, किन्ने, समीक्षा गर्ने सबै कुरा काठमाडौं केन्द्रित नै छन् । हामीले यता कलामा विचार राख्ने मान्छे पनि पाउँदैनौं, यता शिथिलता नै देखिन्छ ।’
यसका लागि कलाकारको आँट र स्थानीय तहमा खुलेका प्रज्ञा प्रतिष्ठानहरुले कलालाई अभियानकै रुपमा लैजानुपर्ने उनको राय छ, उनको भनाइ अनुसार समीक्षक खनाल पनि कला गतिविधिहरु अझै देशव्यापी रुपमा बढ्नुपर्ने धारणा राख्छन् ।
निराशाजनक कला समीक्षा र लेखन
ललितकलाका जति संख्यात्मक गतिविधिहरु भए, तिनका लेखन समीक्षा नहुँदा कला सिर्जना गर्ने जमातभित्र नै सीमित रहेको स्वयं कला लेखन र समीक्षामा निरन्तर रुपमा लागेका कला विज्ञहरुको मत छ ।
कलाका गतिविधिहरु बढाउँदा यसलाई लेख्य रुपमा दस्तावेज बनाउनुपर्छ भन्ने चेतना कलाकारहरुमा कमी भएको कला समीक्षकहरु सुनाउँछन् । कलाका गतिविधिहरु देखिएपनि त्यसैलाई दस्तावेज राख्ने पुस्तक लेखन, प्रकाशन र कला खोज तथा अनुसन्धानका कार्यहरुमा कमी देखिएको समीक्षक खनालको भनाइ छ ।
‘कला गतिविधिहरु जति भएका छन्, तिनिहरुको समीक्षाको पाटो त फिटिक्कै भएन । कला समीक्षकहरु नै देखिएनन्,’ उनले भने ।
यस्तो अवस्थामा कला समीक्षकहरुलाई प्रशिक्षण, कला पत्रिका तथा पुस्तकहरुको प्रकाशनहरुमा कला क्षेत्रले जोड दिनुपर्ने उनको सुझाव छ । अर्कातिर कला शिक्षालाई विद्यालय तहबाट नै पाठ्यक्रममा अनिवार्य नबनाएसम्म कलाको समीक्षात्मक पाटो अगाडि नबढ्ने उनले सुनाए ।
उनका अनुसार कला अध्यापन गराउने शिक्षण संस्थाहरुले समेत कला समीक्षात्मक विषय अध्ययनमा जोड दिनुपर्छ ।
लामो समयदेखि कला लेखन तथा समीक्षामा निरन्तर लागिरहेका ज्ञानेन्द्र विवश पनि कला समीक्षाको पाटो अत्यन्तै कमजोर देखिएको स्वीकार्छन् । कला सिर्जना र प्रदर्शन गर्ने कलाकारहरुले कला समीक्षात्मक पाटोमा भने बेवास्ता गरेको उनको आरोप छ ।
‘कलाका गतिविधि र प्रदर्शनीहरु त भइरहेका छन् तर त्यसैमा समीक्षाको पाटो ओझेल प¥यो । यसले गर्दा कला अभिलेखीकरणमै कमी देखियो,’ उनले भने ।
कलामा निरन्तर रुपमा लेखिरहेकाहरुलाई कला क्षेत्रले बेवास्ता गर्दै गएको उनको भनाइ छ । यसकारण लेख्नेहरु नै हतोत्साहित भइरहेको उनले देखेका छन् ।
कलालाई खरिद गर्ने समूह र व्यक्तिहरु मात्र प्रदर्शनीमा आनमन्त्रण गर्ने परिपाटीले समीक्षा गर्नेहरु छुटिँदै गएको उनले बताए । कला सिर्जना गर्ने सर्जक र संस्थाहरुले नै कला समीक्षकहरुलाई प्रोत्साहन गर्नुपर्ने खनाल र विवश दुवैको एकै मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया