कास्की – कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो ।
पूजाआजा गरेमा मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।
मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ ।
विगतमा सामान्य कुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रस्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रस्ट भवन निर्माण गरिसकेको छ ।
अघिल्लो आर्थिक वर्षमा मन्दिर परिसरमा रु १० लाख लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी)लाई व्यवस्थित गर्न वडा कार्यालयले रु आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले जानकारी दिए ।
प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रूपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बुढापाका बताउँछन् ।
प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् ।
मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।
प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया