मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

रुकुम- रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् ।

गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पु¥याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ । सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ ।

झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ । सिङ्गो झ्याङ गाउँका बासिन्दाले लुसुन खेती गरिरहेका छन् । बाइस परिवार रहेको यो गाउँमा सबैले लसुन खेती गरिरहेका छन् । लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ ।

गाउँमा पहिलो पटक २०६२/६३ सालदेखि लसुन खेती सुरु गरेका स्थानीय ७१ वर्षीय य झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताए । “गाउँमा पहिलो पटक लसुन खेती गर्ने कुषक म नै हुँ, पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ,” खड्काले भने ।

गहुँबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उनी बताउँछन् । “गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ ।”

गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट रु एक लाख १० हजार आम्दानी भएको खड्काले बताए । एक दशकअघिको कुरा स्मरण गर्दै खड्काले भने, “पहिले डोकामा बोकेर चार घण्टा हिँडेर सदरमुकाम खलङ्गा पुगेर लसुन बिक्री गरेको हुँ, अहिले त गाउँ नजिकै सडक पुगेको छ । त्यही लगेर गाडीमा सजिलै बजार पु¥याउन सकिन्छ । धैरै कुरामा सहज भएको छ ।”

लसुनबाट मनग्य आम्दानी हुने भएकाले गहुँ लगाएको बारीमा आगामी वर्षदेखि लसुन खेती गर्ने सोच उनको छ । स्थानीय ६१ वर्षीय कर्णबहादुर खड्का पनि यतिबेला लसुनले फल लगाउने समय भएकाले लसुन खेतीको रेखदेख तथा गोडमेलनमा व्यस्त हुन्छन् । घर नजिकैको केही जग्गामा गहुँ खेती गरे पनि धेरै जग्गामा लसुन खेती गरेका छन् ।

गत वर्षको भन्दा यसपटक अलि धेरै लसुन खेती गरेको खड्काले बताए । विंस २०६८ देखि व्यावसायिक लसुन खेतीमा लागेका खड्का लसुन खेतीबाट सन्तुष्ट छन्। “गहुँ खेतीभन्दा लसुन खेतीलाई जोड दिएको छु, गहुँ खेतीबाट परिवारको खर्च व्यवस्थानप गर्न समस्या हुन्थ्यो, व्यावसायिक लसुन खेती गर्न थाले पनि आर्थिक रुपमा सहज भएको छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?