काठमाडौँ– पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकामा व्यापक रूपमा वायु प्रदूषण बढिरहेको छ ।
काठमाडौँको वायु प्रदूषण बढ्नुको मुख्य कारणमा डढेलो, धुलाम्मे सडक तथा सवारी साधनबाट निस्कने धुलो र खाना पकाउने ऊर्जाका परम्परागत स्रोत लगायतलाई मानिएको छ ।
मौसम विभागले काठमाडौँमा अझै केही दिन वायु प्रदूषणको यो अवस्था रहने र यो केही दिन पूर्ण रूपमा हट्ने सम्भावना नरहेको बताएको छ ।
वायु प्रदूषणका कारण आँखा पोल्ने तथा श्वासप्रश्वास सम्बन्धी समस्याका साथै छालाको रोग र क्यान्सर, हृदयाघात र मस्तिष्कघातजस्ता समस्या देखिन सक्ने कन्सल्टेन्ट जनरल प्राक्टिसनर डा. पुष्प मणि खरालले बताउँछन् ।
वायुमा रहेका कपालभन्दा पनि मसिना कणहरू मानव रक्तसञ्चार प्रणालीमार्फत मुटुमा पुगेर हृदयाघात हुने सम्भावना अधिक रहने पनि उनको भनाई छ ।
यस्तै यस्ता मसिना धुलो धुवाका कणहरू रगतको माध्यमबाट नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात एन्जाईटी , डिप्रेसनसँगै अल्सर र प्यारालाइसिस हुने सम्भावना पनि अधिक रहने भएको सतर्क रहन उनको सुझाव छ ।
कसरी बच्ने वायु प्रदूषणबाट
– इन्धनको रूपमा प्रयोग गरिँदै आएको दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने ।
– प्लास्टिक तथा धुवाँजन्य पदार्थहरू नजलाउने र व्यवस्थित सहरीकरणको विकास गर्ने ।
– पुराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँचमा कडाइ गर्ने ।
– बिजुलीबाट चल्ने सवारी साधनमा जोड दिने ।
– व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अपनाउने ।
– वायु प्रदूषण बढी हुने समयमा सकेसम्म घरबाहिर ननिस्कने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया