मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । मन्दिर बाहिर लहरै ठेला राखेर पसल थापिएको छ ।

मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थी कोही मन्दिरभित्र प्रवेश गरिररहेका छन् । कोही आफूलाई मनपर्ने सामान किन्न व्यापारीसँग मोलमोलाइ गरिरहेका भेटिन्छन् । पछिल्लो केही सातायता महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो । हजारौँको सङ्ख्यामा दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउँदा महेन्द्रनगर बजारमा पनि चहलपहल बढेको छ ।

पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने श्रद्धालुको भीडभाडले यहाँको व्यापार–व्यवसाय पनि बढेको हो । पछिल्लो समय गड्डाचौकीबाट महेन्द्रनगर बजारसम्मै श्रद्धालुको लस्कर देखिन्छ । नेपाल र भारतमा लाग्ने पूर्णागिरि मेलाले महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिर दर्शनार्थी गुलजार बनेको छ ।

“अरु बेला दर्शनार्थी कमै हुन्छन् । पूर्णागिरि मेलाले यो समयमा सिद्धबाबा दर्शनका लागि धेरै मानिस पुग्ने गरेका छन्”, सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका सचिव पुष्कर उप्रेतीले भने, “फागु पूर्णिमादेखि वैशाख पूर्णिमासम्म श्रद्धालु बढी आउँछन् । त्यसपछि दर्शनार्थी घट्दै जान्छन् ।” उनका अनुसार हरेक वर्ष फागु पूर्णिमादेखि पूर्णागिरि मेला लाग्ने गरेको छ । यसअवधिमा ठूलो सङ्ख्यामा श्रद्धालु आउने हुनाले भीमदत्त नगरपालिका–९ ब्रह्मदेव र महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा घुइँचो लागेको हो ।

भारतको उत्तराखण्डस्थित पूर्णागिरि मन्दिरमा पुगेपछि सिद्धबाबाको पनि दर्शन गरेमात्रै मनोकामना पूरा हुने मान्यताअनुसार पूर्णागिरिको दर्शन गरेका श्रद्धालु सिद्धबाबाको दर्शन गर्न पुग्ने गरेका छन् । “हामी हरेक वर्ष पूर्णागिरि दर्शन गर्छौँ । गाडी भाडामा लिएर गाउँभरका मानिस दर्शनका लागि आएका छौँ”, सिद्धबाबा मन्दिरमा भेटिएका उत्तरप्रदेश बहराइचका सुकदेवले भने, “पूर्णागिरि पुगेपछि सिद्धबाबा पुगेर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।”

पूर्णगिरि मेला भर्न पुगेका नेपालका विभिन्न ठाउँका श्रद्धालुका साथै भारतको उत्तराखण्ड र उत्तरप्रदेशलगायत ठाउँबाट श्रद्धालु सिद्धबाबा दर्शनका लागि पुग्ने गरेका छन् । प्राचीनकालमा सिद्धबाबाले गरेको भक्ति देखेर प्रशन्न भएका पूर्णागिरिले आफ्नो दर्शन गरेपछि सिद्धबाबाको दर्शन गर्नुपर्ने र त्यसपछि मात्रै मनोकाङ्क्षा पूरा हुने बरदान दिएको किंवदन्ती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?