बागलुङ – चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैते दसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
मङ्गलबारदेखि नवरात्र सुरु भएको छ । चैते दैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजा आराधना हुने भएकाले टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन् ।
चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजा आराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास रहेको छ । गण्डकी प्रदेशको मुख्य शक्ति पीठका रूपमा रहेको यहाँस्थित कालिका मन्दिरमा चैते दसैँ सुरु भएपछि भक्तजनको घुइँचो लाग्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
“आज चैतेदसैँको तेस्रो दिन हो । बिहानै एक हजार दुई सय जना मन्दिर परिसरमा भक्तजन हुनुहुन्थ्यो । चैते दसैँमा यस मन्दिरको सबैभन्दा बढी धार्मिक पर्यटक आउने गर्दछन्, त्यसपछि बडादसैँमा बढी घुइँचो हुन्छ”, खड्काले भने, “यहाँ यही चैत ३० गतेदेखि ऐतिहासिक चैते दसैँ मेलासमेत आयोजना गरिएको छ । भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।”
उनका अनुसार मन्दिरलाई सजाइएको छ भने सत्तल, मठ र अन्य स–साना मन्दिरसमेत चिटिक्क पारिएको छ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी करिब पाँच लाख धार्मिक पर्यटक बागलुङ भित्र्याउने गुठीको लक्ष्य रहेको उनले जानकारी दिए ।
कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैते दसैँ मेला आयोजना गरिएको हो । मेलाको मुख्य आकर्षणका रूपमा यसपटक खुला राष्ट्रिय लोकदोहरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगिता रहेका समितिका अध्यक्ष खड्काले जानकारी दिए ।
मेलामा स्थानीय कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई निःशुल्क स्टल उपलव्ध गराइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया