मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । 

तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ ब्रेक थ्रु भएको हो । 

आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिए । 

 “अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार आठ सय मिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो”, उनले भने  “बाँधदेखि विद्युत्गृहमा पानी लैजान पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण भएको छ ।”

सुरुङ छेडिएपछि प्रवद्र्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरूले खुसीयाली मनाएका छन् । तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो । बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ । 

मलाङको ‘आउट लेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने नौ सय मिटर पाइप लाइन जडान भइरहेको छ । तीन सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ ।

आउट लेट र विद्युत् गृहको उचाइ तीन सय ५० मिटर छ । विद्युत् गृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ । तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

मङ्गले राहुघाटको विद्युत् गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ । 

करिब रु १४ अर्ब लागतमा विसं २०७७ मा सुरु भएका दुई वटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इन्जिनियर तिमिल्सिनाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?