मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ

काठमाडौं- म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए ।

“विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो”, उनले भने, “शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।” वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन् ।

आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन् । आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा गएर बसेका हुन् । घर भए पनि बसोबास छैन । बर्खामा गोठमा गएर बस्ने गरेका छन् ।

गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए । यस वर्ष थप छवटा घर पुनःनिर्माण भइरहेको छ । गाउँपालिकाले पहिराबाट घर भत्किएकालाई पुनःनिर्माणका लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताए ।

“पहिराले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ”, उनले भने, “रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो ।” यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ । हाल दलित समुदायको एउटा मात्र घर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?