काठमाडौँ– आफ्ना सिर्जनामा जातीय विभेदको मुल मुद्दा बनाएर सशक्त रचना गर्ने गायक, कलाकार तथा निर्देशक प्रकाश सपूत वर्षभरि नै चर्चामा रहे । बेलाबेलामा आफ्ना सिर्जनाका कारण विवादमा मुछिए पनि उनले यस वर्ष गीत संगीतका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए ।
गीत संगीतका माध्यमबाट समाजमा व्याप्त जातीय समानता खोज्न उनी वर्षभरि नै आन्दोलनमा उत्रिए । सार्वजनिक मञ्चमा जातीय विभेदका बारेमा त्यति बहस नगरे पनि उनले संगीतका माध्यमबाट यो प्रथाको विरोध गर्न छाडेनन् ।
उनले यो वर्ष एक से एक सांगीतिक कोशेली पनि दर्शकलाई दिए ।
गत वर्षको शुरुवातमा उनले सार्वजनिक गरेको गीत ‘सकम्बरी’ ले यो वर्ष निकै ख्याति कमायो । यो गीत यति लोकप्रिय भयो कि, आम संगीतप्रेमी स्रोता तथा दर्शकलाई कण्ठस्थ थियो । वर्षभरि नै प्रकाश अभिनित गीतका भिडियो र उनका सिर्जनाले चर्चा कमाइरहे ।
गीत संगीतमा मात्र होइन, उनले अभिनय गरेको फिल्म ‘परदेशी २’ ले पनि उत्तिकै चर्चा कमायो । यो फिल्ममा उनले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।
केकी अधिकारी, वर्षा शिवाकोटी लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मले आफ्नो लगानी सुरक्षित गर्यो । फिल्मका निर्देशक नारायण रायमाझीले पनि गायक सपूतको अभिनयको खुलेर प्रशंसा गरे ।
हरितालिका तीजको अवसरमा सार्वजनिक गरिएको शान्तिश्री परियारको आवाजमा रहेको गीत ‘अरेली काँडैले’ मा प्रकाश सपूतले अञ्जली अधिकारीसँग भिडियोमा अभिनय गरेका थिए । उक्त गीत वर्षभरि नै चर्चामा रह्यो । तीजको अवसरमा सार्वजनिक गरिएको सो गीत अहिले पनि विभिन्न कार्यक्रममा गुञ्जिने गरेको छ ।
गीतमा पृथक प्रयोग गर्न रुचाउने प्रकाश सपूतले तीन महिनाअघि सार्वजनिक गरेको ‘मुटु कटक्कै’ ले पनि उत्तिकै लोकप्रियता कमायो । यो गीतमा उनीसहित कुशल बेलबासे र प्रताप दासको समेत स्वर थियो ।
यस्तै उनले ‘जाले रुमाल फाट्यो’ र ‘दमाई महाराज’ पनि यसै वर्ष सार्वजनिक गरे । यी दुईले पनि उत्तिकै लोकप्रियता कमाए । दुवै गीतमा उनले जातीय विभेदका मुद्दालाई उठान गरेका छन् ।
त्यस्तै उनले अभिनय गरेका म्युजिक भिडियोले पनि उत्तिकै लोकप्रियता कमाए । अझ केही समयअघि उनले पोखरामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेतालाई ‘गलबन्दी’ गीत मा स्टेजमा नचाएर लोकप्रियता कमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया