काठमाडौँ– कालिकास्थानस्थित सर्वनाम थिएटरले यही चैत्र १८ गते आफ्नो ४३ औं वर्ष स्थापना दिवस मनायो ।
थिएटरले नाटक ‘ओरालो ओरालो’ मञ्चनका साथ सर्वनामका संस्थापक अशेष मल्ल, सावित्री मल्ल कक्षपति लगायतका रङ्गकर्मी तथा रङ्गप्रेमीहरुमाझ बसेर दिवस मनाएको थियो ।
यसबाहेक यस वर्ष सर्वनाममा ‘द डिपार्चर’, ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटक लगायत कविता, नाटक विमर्श, पुस्तक विमोचन लगायतका गतिविधिहरु भए । वर्ष २०८० लाई अग्रज रङ्गकर्मी मल्ल उत्साहपूर्ण रुपमा लिन्छन् ।
राजधानीभित्र र बाहिर सबै ठाउँमा नयाँ पुस्ताका रङ्गकर्मीहरुमा देखिएको उत्साहले अत्यन्तै खुशी लागेको उनले जोय नेपालसँगको कुराकानीका क्रममा सुनाए ।
यो वर्ष उपत्यकाका नाटकघरहरु वर्षभरी नै सक्रिय देखिए । उपत्यकामा रहेका मण्डला, शिल्पी, कौसी, आरोहण गुरुकुलको कुञ्ज जस्ता थिएटरमा नियमित जस्तै नाटक मञ्चनहरु भए । यी बाहेक पुरानोघर, शैली, स्टुडियो लगायतका थिएटरहरुमा समेत नाटक मञ्चन भइरहे ।
एकाधबाहेक सिनेमाले दर्शक पाउन समेत सकस परिरहेको अवस्थामा रङ्गमञ्च बाहेक मण्डला, शिल्पी र कौसी जस्ता थिएटरहरुले महिना दिनसम्म भरिभराउ दर्शकका साथ नाटक मञ्चन गर्न सफल भए ।
मण्डला थिएटरमा यस वर्ष मञ्चन भएका ‘एउटा सपनाको अवसान’, ‘हिउँभन्दा चिसो’, ‘दमिनी भिर’, ‘मासिन्या’ जस्ता नाटकहरुले थिएटरमा नयाँ दर्शकलाई तान्न सफल भए ।
तामाङ समुदाय जस्ता उत्पीडन वर्गको पीडालाई समेटेको ‘मासिन्या’ जस्ता नाटकमा दर्शकको ओइरो लागेपछि मञ्चन समय समेत थप गर्नुपरेको थियो ।
मण्डलाका अनुसार यस वर्ष मात्र थिएटरमा डेढ दर्जनभन्दा बढी नाटकहरु मञ्चन भए । त्यस्तै बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा कुमार नगरकोटीको ग्राफिक्स नोबेल ‘जे थर्टी(थ्री)’ उपन्यास भित्रको एक अंशलाई विमोचन समारोहमा नाटकका रुपमा मञ्चन गरिएको थियो ।
शिल्पीले केही समयअघि मात्र दीवंगत भएका कथाकार राजेन्द्र पराजुलीको कथासंग्रह ‘जन्तरमन्तर’मा समावेश कथा ‘मासु बेच्ने केटो’लाई मञ्चन गरियो । नाटकको निर्देशन रङ्गकर्मी संगीता उराँवले गरेकी थिइन् ।
शिल्पीमा यस वर्ष चेतन आङथुपोको ‘झोडा’, चे शंकरको ‘गंगालाल’ लगायतका नाटकहरु मञ्चन भए । यसलाई उर्वर रुपमा लिनुपर्ने रङ्गकर्मी मल्लको भनाइ छ ।
‘दक्षिण एसियामै महिना दिनसम्म नाटक चल्ने हाम्रो देश नै छ, यो कुरा हामीले सुनाउँदा विदेशी साथीहरु छक्क पर्छन्,’ उनले भने, ‘काठमाडौँभित्र र बाहिरका नाटकघरमा राम्रा–राम्रा भाइबहिनीहरु आइरहनुभएको छ, व्यक्तिगत रुपमा म एकदम खुशी छु ।’
टेकुस्थित कौसी थिएटरमा नाटक ‘उबुर उबुर टिक्की’को मञ्चन भर्खरै सकिएको छ । कौसीमा यस वर्ष ‘विडिङ एल्बम’, थिएटर भिलेजको ‘त्रयम’ ‘बोधिसत्व’, ‘लेट्स अभिनय गरौं’ लगायतका नाटकहरु मञ्चन भए ।
सिनामङ्गलस्थित ‘पुरानो घर’मा ‘चे इज ब्याक’, ‘मोन्टाज’ र ‘घरको माया’ नाटकहरु मञ्चन भएको रङ्गकर्मी राजकमल फकिरले जानकारी दिए । थापागाउँस्थित कुञ्जमा भने यस वर्ष ‘माक्र्स फर्किए’, ‘आधा अपुरो’,‘काल’ लगायतका नाटकहरु मञ्चन भएका छन् ।
यसबाहेक राजधानीमा भएका थिएटरहरुमा नाटक बाहेक नाटक कार्यशाला, प्रशिक्षण एवं साहित्यिक गतिविधिहरु समेत निरन्तर रुपमा भइरहे ।
शिल्पीको पहलमा यसै वर्ष मोरङ, सुन्दरहरैँचा, सलकपुरस्थित ‘सुन्दरहरैँचा नाट्य केन्द्र’ निर्माण कार्य थालनी भएको छ । चार सय दर्शक बस्न मिल्ने मुक्त रङ्गमञ्च (एम्पी थिएटर) निर्माण कार्य थालनीलाई शिल्पीको महत्वपूर्ण उपलब्धिका रुपमा रहेको शिल्पीका रङ्गकर्मी घिमिरे युवराजले सुनाए ।
शैली थिएटरले यसै वर्ष १५ औं ‘राष्ट्रिय बाल नाटक महोत्सव’ सम्पन्न गर्यो । कमलपोखरीस्थित रुसी सदनमा गरिएको महोत्सवमा देशभरीबाट आएका दुई दर्जनभन्दा बढी नाटकहरु मञ्चन गरिएको थियो ।
त्यस्तै हालै नाट्यकर्मी महासंघले ‘राष्ट्रिय बाल नाटक मेला’ सम्पन्न गरेको छ । समग्रमा हेर्दा यस वर्षको नाट्य क्षेत्रलाई उत्साहजनक रुपमा लिनुपर्ने नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमाल सुनाउँछन् ।
‘वर्षभरी नै थिएटरहरुमा नाटक चलिरहेका छन् । थिएटरका कलाकारहरु फिल्मतिर पनि त्यतिकै व्यस्त देखि नै रहेका छन्, उनीहरु खाली बस्नु परेको छैन, यसलाई उत्साहजनक रुपमा नै लिनुपर्छ,’ उनले भने ।
उपत्यकाबाहिर पनि उत्साहपूर्ण उपस्थिति
वर्ष २०८०मा राजधानीभित्र मात्र नभएर बाहिरका थिएटरहरुमा समेत रङ्गकर्मीहरुको उत्साहपूर्ण उपस्थिति देखिएको छ ।
इलामस्थित चुलाचुली रङ्गमञ्च समूहले मौलिक कथामा नाटक ‘झोडा’लाई तयार गरी मञ्चन गरे । समूहले नाटकलाई राजधानीको शिल्पीमा ल्याएर उत्साहपूर्ण रुपमा मञ्चन सम्पन्न गर्यो ।
त्यस्तै झापास्थित कदम थिएटरले पनि वर्षभरी नै रङ्गमञ्च तथा साहित्यका गतिविधिहरु गरेर चलायमान बनाएको रङ्गकर्मी सिजन दाहालले बताए । उनका अनुसार थिएटरले यस वर्ष ‘लङ्ग टाइम नो सी’, ‘मनचिन्ते फिरन्ते’, ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ र नाटक, साहित्य तथा संगीतको कोलाब्रेसनको रुपमा ‘शरद फेस्ट’ उत्सव सम्पन्न गरेको छ ।
यसै वर्षदेखि थिएटरले नयाँ रङ्गकर्मीहरु उत्पादन गर्ने हेतुले थिएटर कक्षा समेत सञ्चालन गरेको उनले सुनाए । पहिलो वर्ष नै १५ जनालाई तीन महिने थिएटर प्रशिक्षण दिइएको उनको भनाइ छ ।
यसलाई उपलब्धिपूर्ण रुपमै लिनुपर्ने उनलाई लाग्छ । पोखरास्थित ‘पोखरा थिएटर’मा पनि यस वर्ष विभिन्न नाटक मञ्चन र गतिविधिहरु उत्साहका साथ भएको थिएटरका संस्थापक तथा रङ्गकर्मी परिवर्तनले बताए ।
उनका अनुसार थिएटरमा ‘रिफन्ड’, ‘धनिरामको गोरु’, ‘१२ दुर्वासा’ लगायतका नाटकहरु मञ्चन भए । थिएटरले पाँचौं संस्करणको विद्यालयस्तरको नाटक प्रदर्शन पूरा गरेको छ ।
अहिलेको अवस्था हेर्दा राजधानीबाहिर पनि नाटकघर चलाउन सक्छ भन्ने आँट पलाएको उनले सुनाए ।
उनले भने, ‘यतातिर विद्यालय स्तर र अडियन्सहरुमा नाटक फैरिएको छ, अब आज भोलि नै उठेर जानुपर्छ भन्ने अवस्था छैन ।’
उनका अनुसार नाटकको समीक्षा गर्ने दर्शकको माहोल समेत राजधानी बाहिर बनेको छ । मेचीस्थित परिवर्तन थिएटरमा चैत्र २३ गतेदेखि भवानी भिक्षुको कथामा आधारित नाटक ‘त्यो फेरि फर्कला ?’ मञ्चन शुरु भएको छ ।
त्यस्तै विराटनगरस्थित आरोहण गुरुकुलको आयोजनामा यही चैत्र २३ गतेदेखि सुशीला कोइराला नाटकघरमा नाटक ‘सत्य हरिश्चन्द्र’को पहिलो प्रदर्शन भयो । यसरी सरसर्ती हेर्दा काठमाडौंबाहिर पनि नाटकघरहरुमा नाटकहरु मञ्चन क्रम निरन्तर चलिरहेको छ ।
शिल्पीका रङ्गकर्मी युवराजका अनुसार २०८० मा राजधानीमा भन्दा पनि बाहिरका थिएटरहरु बढी चलायमान भए ।
‘राजधानीभित्र जति नाटकहरु हुनुपर्ने त्यो भएन जस्तो मलाई लाग्छ, तुलानात्मक रुपमा हेर्दा काठमाडौं बाहिर धेरै राम्रो भयो,’ उनले भने ।
राज्यको शून्य उपस्थिति
नेपाली नाट्य क्षेत्रमा मल्लकाललाई छोडेर हेर्ने हो भने राज्यको उपस्थिति शून्य देखिएको रङ्गकर्मी मल्लको ठहर छ ।
उनका अनुसार रङ्गकर्मीहरुको आफ्नै बलबुताले नेपाली नाट्य क्षेत्र आजको स्थितिसम्म आइपुगेको छ । राज्यको उपस्थिति देखिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानतले समेत नाट्य क्षेत्रमा उल्लेखनीय भूमिका खेल्न नसकेको उनले सुनाए ।
नेपाली रङ्गमञ्च अब यसरी नै उत्साहकासाथ अगाडि बढ्ने उनको विश्वास छ ।
‘हाम्रो रङ्गमञ्च विश्वमा तुलना गर्न सक्ने अवस्थामा पुगेको छ, यसमा राज्यको उपस्थिति भए राम्रै हो तर नभए पनि हिजोदेखि हामी आफै हिँडिरहेका छौं,’ उनले भने ।
राज्यमा शासक आफैं नै दलीय स्वार्थको टकरावमा रहेकाले यस्ता पक्षको संलग्नता हुनुभन्दा नहुँनै बेस हुन्छ भन्ने उनलाई लाग्छ । थिएटरलाई आर्थिक तथा भौतिक रुपमै बलियो बनाउन रङ्गकर्मीहरु नै सक्रिय हुनुपर्ने नाट्यकर्मी महासंघका अध्यक्ष रिमालको सुझाव छ ।
निरन्तर रुपमा नाटक गर्ने रङ्गकर्मीहरुका निम्ति थिएटरहरुले पारिश्रमिकको हिस्सा निश्चित गर्नुपर्ने उनले सुझाए । एउटा नाटक गरे बापत आउने निश्चित हिस्साले रङ्गकर्मीहरु दिगो र चलायमान हुन सघाउ पुग्ने उनको मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया