काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बिहीवारदेखि ‘सम्बन्ध कला प्रदर्शनी २०८०’ थालनी गरिएको छ ।
प्रतिष्ठान र जरा फाउन्डेसनको सहकार्यमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा तथा सिक्किम, दार्जिलिङ र कालिङपोङबाट सहभागी कलाकारहरुको उपस्थितिमा कला प्रदर्शनी शुरु गरिएको हो ।
प्रदर्शनीमा नेपाल तथा प्रवासमा रहेका सिक्किम, दार्जिलिङ र कालिङपोङका कलाकारहरुका कलाकृतिहरु प्रदर्शन गरिएका छन् । दुवै देशका कलाकारहरुले नेपाली भाषा, संस्कृति र परिवेशलाई कलामार्फत उजागर गर्ने जमर्काे गरेका छन् ।
नेपाल पव्रज्ञा प्रतिष्ठानका कुलपति राईले कला, साहित्य तथा भाषाले दुई देशलाई जोडेकै कारण नेपाल र भारतको सम्बन्ध राम्रो रहेको बताए ।
दुई देशको सम्बन्धलाई सांस्कृतिक कूटनीतिले प्रगाढ बनाउन विशेष भूमिका खेल्ने बताउँदै उनले सांस्कृतिक सिमाना सबैभन्दा बलियो हुने धारणा राखे ।
त्यस्तै नेपाल सङ्गीत तथा नाट्य कुलपति शर्माले सम्बन्ध कला प्रदर्शनीले भारतीय र नेपाली कलाकारलाई एकै ठाउँमा जमघट गरेर आपसमा कला, संस्कृति साटासाट गर्ने अवसर प्रदान गरेको बताइन् । प्रदर्शनीबाट दुई देशका कलाकारहरूबिच राम्रो सम्बन्ध कायम हुने उनको विश्वास छ ।
उनले भनिन्, ‘यस किसिमको कार्यक्रमले भावनात्मक सम्बन्धलाई बलियो बनाउँछ । आगामी दिनमा ललितकला, नाट्य, सङ्गीत, भाषासाहित्य सबै क्षेत्रलाई समेटेर के कसरी दुई देशबिचका कला, संस्कृति, भाषा साटासाट गर्ने कार्यक्रमहरू गर्न सकिन्छ भन्ने विषयमा सबै मिलेर काम गर्नुपर्छ । त्यसबाट धेरै अनुभवहरू प्राप्त हुने विश्वास लिएको छु ।’
कुलपति हार्तम्छालीले विशेष गरी सांस्कृतिक रूपले नेपाल र भारतको सम्बन्ध राम्रो रहेको सुनाए । ‘नेपाली माटाको हितेरी– ललितकला बाटाको मितेरी’ भन्ने विचार राख्दै मौलिकता जर्गेना गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।
‘व्यक्तिगत भन्दा पनि संस्थागत रूपले यस्ता कार्यक्रम गर्नुपर्छ भन्ने धारणाले सबैभन्दा पहिला छिमेकी देशबाट नै पहिलो खुड्किलो पार गर्ने भन्ने सोचका साथ सम्बन्ध कला प्रदर्शनीको आयोजना गरिएको हो’, उनले भने । यस किसिमका कार्यक्रमले सांस्कृतिक रूपमा सामाजिक सद्भावका लागि निरन्तर अघि बढ्न प्रेरित गर्ने र सम्बन्धलाई नवीकरण गर्दै अगाडि बढ्न सघाउ गर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको यस कार्यक्रमले दुई देशबिचको भावनात्मक सम्बन्ध प्रगाढ हुनुका साथै कला, संस्कृति साटासाट गर्न मद्दत पुग्ने बताए । आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरू अझ प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरे ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले, फाउन्डेसनका प्रतिनिधि नरेन्द्रबहादुर श्रेष्ठ, ओविया आर्ट सर्कलका अध्यक्ष दीपा राई, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङका कलाकार धिरज प्रधान, विकास सुब्बा, बिमला प्रधान, बुद्धिकुमार सुब्बा लगायतकाको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया