काठमाडौँ– नेपाली कलाकार विवादमा तानिरहनु सामान्यजस्तै भइसकेको छ । कमै मात्र कलाकार विवादित छन् । कोही विवादमा आइरहन्छन् भने कोही गुपचुप रहन्छन् ।
गीत सङ्गीतमार्फत दर्शकमाझ लोकप्रिय राजेश पायल राई पनि विवादमा परिरहने गायक हुन् । फिल्मका गीतमा स्वर दिएका राई टेलिभिजनमा प्रसारण हुने द भ्वाइस अफ नेपाल सिजन ४ र ५ का निर्णायक समेत बनिसकेका छन् ।
केही समयअघि उनी स्टेज कार्यक्रममा गीत गाउने क्रममा ‘ब्याक किक’ हानेको भन्दै विवादमा तानिएका थिए । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो क्लिपमा राजेश पायल राईले स्टेजमा एक व्यक्तिलाई पछाडिबाट लात्ती हानेको जस्तो देखिन्छ ।
यसअघि पनि गायक राई पटक–पटक विवादमा तानिएका थिए । कहिले नायिकासँगको सम्बन्ध त कहिले अभिव्यक्तिका कारण उनी विवादमा परिरहन्छन् ।
यसअघि वि.स. २०७९ सालमा विवाहको विषयलाई लिएर उनी विवादमा तानिएका थिए । ४७ वर्षको उमेरमा पनि विवाह नगरेको भनेर टिकाटिप्पणी खेपिरहने राईले बिहे गरेको भने चर्चा भए पनि औपचारिक रुपमा यसबारेमा जानकारी दिएनन् ।
उनले आफ्नो बिहेका बारेमा केही नखुलाउँदा उनका बारेमा अनेक टिकाटिप्पणी भए ।
पछि खोटाङ घर भएकी २१ वर्षीया साङ्बुङ् राईसँग उनले विवाह गरेको बताइन्छ । उनले विवाह गरेको काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा सचिव सुरेश साहु श्रेष्ठले प्रमाणसहित प्रमाणीकरण गरिदिएपछि सो विषय विस्तारै सेलाउँदै गयो ।
त्यसको केही समयअघि भने राजेश र साङ्बुङले बच्चाको फोटो सामाजिक सञ्जालमा शेयर गरे । तर, उनीहरुले विवाहको विषयलाई भने सार्वजनिक गरेनन् ।
त्यसको केही समयपछि राजेश पायल राईले आफ्नै छोरालाई तातो पानी खन्याइदिएको भन्दै विवाद भएको थियो । उनकी पत्नी साङबुङ राईले ‘छोरालाई तातो पानी खन्याइदिने पापी बाउ’ भनेर सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी थिइन् ।
त्यस्तै गत असार २३ गते पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थितिमा हात्तीवन किराँत माङहिम परिसरमा एक वृक्षारोपण कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा राजेश पायल राई पनि कार्यक्रममा उपस्थित थिए । उनले त्यतिबेला कार्यक्रम स्थलमा टाँसिएको एउटा ब्यानरमाथि आपत्ति जनाएका थिए । उनले उक्त ब्यानर नहटाएसम्म आफू नबोल्ने अडान पनि लिए ।
उनको अडानपछि ब्यानर हटाइयो र कार्यक्रम सुचारु भयो । कार्यक्रम सकिएपछि उक्त भिडियो सार्वजनिक भयो । त्यसले राजेश पायललाई पुनः विवादमा तान्यो । राई समुदायभित्रैका हेभनली पाथका अनुयायीहरु उनीसँग रिसाए ।
सिक्किमको पेलिङ गाल्सिङ जिल्लामा डिसेम्बर ३१ मा कञ्चनजञ्घा विन्टर टुरिज्म फेस्टिभल आयोजना गरिएको थियो । जहाँ राजेश पायल राईलाई पनि आमन्त्रण गरिएको थियो । पछि । तर उनको विवादास्पद अभिव्यक्तिले सिक्किम भ्रमण नै रद्द भएको थियो ।
यतिबेला उनी मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेपछि पुन: चर्चामा आएका छन् । रातिको समयमा होहल्ला गरेपछि उनलाई प्रहरीले गएराति पक्राउ गरेको थियो । उनलाई प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया