काठमाडौं- अमेरिकी प्रविधि कम्पनी मेटामा ठूलो प्राविधिक गडबडी देखा परेको छ । यसका कारण मेटामा आबद्ध सबै प्लेटफर्म डाउन भएका छन् । मेटाका प्लेटफर्महरु ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए ।
यसले गर्दा केही समय प्रयोगकर्तालाई सकस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।
बुधबार राति अबेरसम्म विश्वभरका हजारौँ प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको गुनासो गरेका थिए । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो ।
वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार ह्वाट्सएपका ८० हजार भन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन् ।
ह्वाट्सएपले एक्समा जानकारी दिँदै भनेको छ ‘हामीलाई थाहा छ कि केहि व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन् । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौँ ।’
यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया