गर्मी महिना प्रारम्भ भएसँगै उपत्यकामा पनि डेङ्गीको जोखिम बढ्ने विगतकाे उदाहरणले देखाउँछ । सामान्यतया जाडोयामको तुलनामा गर्मी महिनामा बढी रोगहरु लाग्ने गर्दछन् । गर्मी लागेसँगै पानी पर्न समेत शुरु हुन्छ । यसकारण खाल्डाखुल्डीमा पानी जम्ने, हिलो जम्ने हुनाले लामखुट्टेको प्रकोप बढ्दै जान्छ ।
जसकारण डेङ्गी माहामारीकै रुपमा फैलिन सक्छ । यसकारण यो मौसममा डेङ्गीको प्रकोपसँग कसरी जोगिने, डेङ्गी लाग्यो भने कस्तो औषधी उपचार गर्ने, कस्तो खानपान र जीवनशैली अपनाउने भन्ने सन्दर्भमा कीर्तिपुर अस्पतालमा कार्यरत संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
डेङ्गी कस्तो रोग हो ?
डेङ्गी भनेको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । रोग लगाउने विषाणु डेङ्गी भाइरस हो । जुन लामखुट्टेको टोकाइका कारण एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने हुन्छ । यो निश्चित लामखुट्टेहरुको टोकाइबाट मात्रै सर्ने हुन्छ । अहिले नेपालमा यस्ता लामखुट्टेहरुको मात्रा बढिरहेको छ । जाडो सकिएर गर्मी लाग्ने समयमा लामखुट्टेको सङ्ख्या पनि बढ्ने भय हुन्छ । पहिला पहिला तराई क्षेत्रमा मात्रै यो रोगको प्रकोप थियो । यसकारण तराईका मानिसहरु शहर पस्दा मात्रै डेङ्गी भित्रिन्थ्यो । तर अहिले भने काठमाडौँसहित पहाडी भेगमा पनि लामखुट्टे स्थापित भइसकेको छ ।
डेङ्गी हुनुको मुख्य कारण के हो ?
डेङ्गी हुनुको मुख्य कारण भनेको फोहोर पनि हो । हाम्रो वरपरको वातावरण फोहोर भयो भने उक्त ठाउँमा लामखुट्टेहरु हुर्किन्छन् । अर्को भनेको शहरमा घर नै घर मात्रै छन् । चार आनामा पनि घरहरु बनाइन्छ । त्यहीँ पेटी हुन्छ, पानी जमिनमुनि जाने ठाउँ नै हुँदैन । यसकारण पनि पानी जमेर यो रोग फैलिन्छ ।
यसका लक्षणहरु के–कस्ता हुन्छन् ?
कतिपयलाई यसको लक्षण नै देखा पर्दैन । मात्रै टेस्ट गर्दा पोजेटिभ भएको हुनसक्छ । अर्को लक्षण हुने अधिकांश मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, आँखाका गेडीहरू दुख्ने, ज्यान दुख्ने, कमजोर महसूस हुने, जोर्नीहरु दुख्ने र कडा खालको लक्षणहरु हुनेलाई शरीरका विभिन्न ठाउँहरुमा जस्तै छाला, नाक, गिजा,आन्द्राबाट रक्तश्राव हुने, जन्डिस हुने, आँखाहरु पहेँलो हुने, भित्री अंगहरुमा असर पर्ने, कलेजोमा असर हुने लगायतका समस्या देखिन्छन् ।
डेङ्गी लागेपछि कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ?
कुनै पनि भाइरल रोग लाग्दा शरीरमा पानीको मात्रा कम हुन्छ । यसकारण डेङ्गी लागेपछि हामीले पहिलो कुरा पानी प्रशस्त मात्रामा पिउनुपर्छ । चिकित्सकको परामर्श अनुरुप औषधि उपचार गर्नुपर्दछ । खानपानको सन्दर्भमा मुख बार्नुपर्ने अवस्था हुँदैन । सकेसम्म पोसिलो आहार खाने गर्नुपर्छ ।
यो रोग लागेकै कारण कस्ता जटिलता निम्तिन सक्छ ?
यो रोगले धेरै मात्रामा जटिलता निम्त्याउँदैन । सिकिस्त हुने मान्छे थोरै नै हुन्छन् । जो सिकिस्त हुन्छन्, उनीहरुमा भने शरीरका विभिन्न अंगहरुमा रक्तश्राव हुने र यसै कारणले मृत्यु हुने, मुटुमा असर गरेर मृत्यु हुने, फोक्सोमा पानी जमेर, जन्डिस भएर मृत्यु हुने जोखिम हुन्छ । धेरै सिथिल हुने जस्तैः लगातार पाँच–सात दिनसम्म ज्वरो आउने, ज्यान धेरै गल्ने भइरह्यो भने रिस्क रहन्छ ।
यसको घरेलु उपचार कसरी गर्न सकिन्छ ?
यसको घरेलु उपचार छैन । बरु यसबाट बच्न डेङ्गी हुनै नदिन आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न दिनु हुँदैन । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । दिउँसो पनि लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने र पूरै शरीर ढाक्ने लुगा लगाउने गर्नुपर्छ ।
पानी राख्ने भाँडाहरू जस्तैः ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने, काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तैः बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने गर्नुपर्छ ।
कस्ता व्यक्तिहरुलाई यसको जोखिम बढी हुन्छ ?
विशेष गरी निकै कम उमेरका बालबालिका, उमेर पाका भएका वृद्धवृद्धा, गर्भवती महिलाहरुलाई यसको जोखिम बढी हुन्छ र जटिलताको सम्भावना पनि उच्च हुन्छ ।
अन्त्यमा पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
गर्मी मौसम शुरु भएसँगै पूरै बाउला भएका कपडा लगाएर शरीर ढाकेर मात्रै घरबाहिर निस्कनुपर्छ । साथमा लामखुट्टेलाई विकर्षण गर्ने क्रिम, लोसनहरु लगाएर आफू सुरक्षित रहनुपर्छ । घरनजिक खाल्डाखुल्डी, पानी जम्ने खाली भाँडाहरु पनि नराख्नुहोला । लामखुट्टे फैलिन नदिनु नै सबैभन्दा उत्तम विकल्प हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया