मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कलाले आम सर्वसाधारणसम्मको विषयलाई समेट्नुपर्छ’

काठमाडौँ– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली कला केबल एक जनाको सिर्जना मात्र नभएको बताएका छन् । उनले कलामा समाजको दर्पण हुन्छ र यसले मानव जीवन र समाजलाई प्रभाव पार्ने समेत बताए ।

‘कलाले समाजलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले सर्जकले यसको प्रभावकारिताका बारेमा सधै सजग हुनुपर्छ,’ कुलपति हार्तम्छालीले भने ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलवार बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ अन्तर्गत ‘कला समीक्षा कार्यशाला’मा बोल्दै उनले कलामा भाषा, बिम्व र गहन अर्थ बोक्नुपर्ने धारणा राखे ।

उनका अनुसार भावना, बौद्धिकता, विवेकतालाई जोडेर कलाको सिर्जना हुनुपर्छ । प्रतिष्ठानको मुख्य नारा अनसुन्धान, सिर्जना र सम्मानको रणनीतिलाई जोडेर अगाडि बढेको उनले सुनाए ।

‘हामीले कलालाई अनुसन्धान, अन्वेषण, अनुभव र अभियन्तासँग जोडेर जान जरुरी छ,’ उनले भने, ‘हाम्रो समकालीन कला युग अनुकुल लानुपर्ने देखिएकोले नयाँ–नयाँ खोजको आवश्यकता छ ।’

कलालाई स्थापित मान्यताको विरासतलाई पनि जोड दिँदै विश्व परिवेश अनुसार लैजानुपर्नेमा उनले जोड दिए । नयाँ शैलीका कला सिर्जना हुन सकेमा त्यसमा पद्धति र धार नै परिवर्तन हुन सक्ने उनको मत छ ।

कलाको गतिशीलताका लागि कला क्षेत्र विचार राख्दै उनले फैलनुपर्ने परम्परागत धारलाई पनि सँगसँगै लैजानुपर्ने सुनाए ।

उनले भने, ‘हामीले गतिशीलताका लागि हात फैलाए पनि खुट्टा त त्यही नै हुन्छ, सिर्जनामा दर्शक, समीक्षक र प्राज्ञिकतालाई जोडेर लैजान सकिन्छ ।’

समकालीन कलाबारे बोल्दै उनले कलाले सामाजिक रुपान्तरणको भूमिका खेल्नुपर्ने बताए । यसका लागि कलाको समेत वस्तुवादी मूल्यांकन हुनुपर्ने उनको भनाइ छ । जसरी साहित्य, संगीत विधाले समकालीन समाज र समस्यालाई बोकेर हिँडेको छ, त्यसरी नै ललितकलाले बोक्नुपर्ने उनले बताए ।

‘कला समाज सापेक्ष हुन जरुरी छ, समाजको आवश्यकता के छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ, कला मनोञ्जन मात्र होइन, यसले समाजलाई सही दिशामा समेत डोर्‍याउनुपर्छ,’ उनले भने ।

समाजमा जागरण ल्याउन राष्ट्रिय गीतहरुले खेलेको भूमिकाबारे प्रस्ट्याउँदै उनले कलाले त्यस्ता विषय अभिव्यक्त गर्नुपर्ने सुनाए । उनका अनुसार पछिल्लो सिर्जना सामाजिक सौन्दर्यताको हिसाबले निकै कम सिर्जना भएका छन् ।

‘ललिकला भनेको के हो ?,’ भन्ने प्रश्न अझै जनमानसमा देखिन्छ । यसरी आम सर्वसाधारणसम्म पुग्नलाई कला क्षेत्रले उनीहरुकै विषय समेट्नुपर्ने कुरामा उनले जोड गरे ।

उनले भने, ‘सामाजिक जागरण र रुपान्तरण ल्याउने हिसाबले नै हामीले खोजेका छौँ, जागरणका नीतिले कलालाई विस्तार गर्न प्रोत्साहन मिल्छ भन्ने विश्वास लिएका छौं ।’

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बागमती प्रादेशिक ललितकला प्रदर्शनीका सन्दर्भमा ललितकलालाई नजिकबाट बुझ्न र बुझाउनका लागि कला समीक्षा कार्यक्रम गरिएको बताए ।

कला सौन्दर्यको सैद्धान्तिक पाटो लेखनमा अभिव्यक्त हुँदा त्यसको पाठक धेरै हुने र त्यसबाट धेरै व्यक्तिहरू लाभान्वित हुने उनले धारणा राखे । 

कलाकार उदयचरण श्रेष्ठले परम्परागत चित्रकला, प्राज्ञ प्रदीप शाक्यले मूर्तिकला विषयमा शैली, माध्यम, दर्शनबारे विश्लेषण गरेका थिए ।

कलाकार केशव राज खनालले भने कलाको ज्ञान लेखनमा यसको व्याकरण, कलाकारको जीवनी, शैली, कम्पोजिसन, रङको भाषाबारे स्पष्ट पारे ।

प्रतिष्ठानले पहिलोपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ थालनी गरेको छ । हाल ६ वटा प्रदेशमा प्रदर्शनी गरिसकेर बागमती प्रदेशको प्रदर्शनी प्रतिष्ठान परिसरमा जारी छ । प्रर्दशनीमा परम्परागत, आधुनिक तथा प्रिन्ट चित्र, मूर्तिकला, कार्टुन, प्रतिस्थापन कला र तस्वीरहरु समेत प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?