काठमाडौँ– नेपालमा मोबाइल सेवा सुरु भएको धेरै वर्ष भएको छैन । नेपाल टेलिकमले सन् १९९९ मा पहिलो पटक जीएसएम मोबाइल सेवाको सुरुवात गरेको थियो ।
नेपालमा मोबाइल सेवा सुरु भएदेखि नै मोबाइल नम्बर १० अङ्ककै छ । अन्य देशमा कतै १२ अङ्कको, कतै ९ अङ्कको त कतै ११ अङ्कको मोबाइल नम्बर हुने गर्दछ ।
तपाईँले कहिले सोच्नुभएको छ, नेपालमा मोबाइल नम्बर किन १० अङ्ककै हुन्छ ? आज हामी तपाइलाई यस प्रश्नको उत्तर दिने कोसिस गर्दै छौ ।
सेवा प्रदायकका लागि मोबाइल नम्बर फ्रिक्वेन्सी जत्तिकै महत्त्वपूर्ण विषय हो ।
हरेक प्रयोगकर्ताले प्रयोग गर्ने मोबाइल नम्बरहरू हरेक देशका नियमनकारी निकायले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) को ई डट १६४ मापदण्ड अन्तर्गत रहेर सेवा प्रदायकलाई वितरण गर्ने गर्छ ।
सेवा प्रदायकले त्यसैका आधारमा प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउँछन् ।
आईटीयुको ई डट १६४ अनुसार कन्ट्री कोड (नेपालमा ९७७) लिड नम्बर, अपरेटर कोड र सब्सक्राइबर्स नम्बर गरेर अधिकतम १५ अङ्कसम्म बढाउन सक्ने व्यवस्था रहेको छ ।
नेपालको मोबाइल नम्बर हेर्दा मात्र १० नम्बरको छ । तर, वास्तवमा आईटीयूले निर्धारण गरेअनुसार कन्ट्री कोड सहित हाम्रो मोबाइल नम्बर १३ अङ्कको रहेको छ ।
हामीले प्रयोग गर्दै आएको जीएसएम सिमको पहिलो दुई नम्बर अर्थात् ‘९८’ सिस्टम कोड हो । ९८ पछिको एउटा अङ्क सेवा प्रदायकको कोड हो । त्यसपछिका बाँकी नम्बर भने सेवा अनुसार फरक हुन्छन् ।
यस्तै ग्रामीण दूरसञ्चार सेवा प्रदायकको मोबाइल नम्बर ९ अङ्कको हुन्छ । त्यसमध्ये सुरुको ९९ सिस्टम कोड हो । त्यसपछिको एक अङ्क अपरेटर कोड हो भने त्यसपछिको दुई वटा एरिया कोड हो ।
बाँकी रहेको ४ वटा अङ्क ग्राहकको नम्बर हुन्छ । त्यस्तै लिमिटेड सेवा प्रदायकको हकमा भने १० वटा अङ्क दिइएको हुन्छ । त्यसमध्ये सुरुका दुई अङ्क सिस्टम कोड ९९६ र ९७० हो ।
त्यसपछिको एक वटा अङ्क सेवा प्रदायकको कोड हो भने त्यसपछिको एक अङ्क एरिया कोड हो । भने बाँकी ६ अङ्क ग्राहको नम्बर हुन्छ । ग्राहक नम्बर अर्थात् सब्सक्रिप्शन नम्बरलाई नेपालको जनसङ्ख्यासँग दाँजेर नम्बर तय गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया