काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेका छन् । सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा आफ्नी श्रीमती राधिका शाक्यसहित फिल्म हेरेका हुन् ।
‘महाजात्रा’ हेरेपछि उनले आफूलाई मन परेको प्रतिक्रिया दिए । उनले फिल्मले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको प्रतिक्रिया दिए ।
‘यसले राजनीतिमा बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ,’ अध्यक्ष ओलीले भने ।
एमाले अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले फिल्म हेरेका थिए । फिल्म अवधिभर मनोरञ्जनसँगै संदेश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले प्रतिक्रिया दिइन् ।
यसअघि ‘महाजात्रा’ लाई पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हेरिसकेका छन् । उनीहरूले पनि राम्रो लागेको प्रतिक्रिया दिएका थिए । समीक्षकले भने यो फिल्म औसत फिल्म मात्र भएको बताएका छन् ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया