काठमाडौँ– सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित फिल्म ‘मेयर’ को क्लाइमेक्सको दृश्य खिचिएको छ । निर्देशक दीपेन्द्र के. खनालले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् ।
निर्देशकले फेसबूकमार्फत दिएको जानकारी अनुसार सो फिल्मको छायांकनका लागि झण्डै ११ हजार सर्वसाधारण उपस्थित भएका थिए । यसलाई उनले फिल्म निर्माणको एक महत्त्वपूर्ण क्षण भएको बताएका छन् ।
उनका अनुसार यो फिल्मको छायांकन करीब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा भइरहेको छ । निर्माण टिमका अनुसार फिल्मको केही छायांकन काठमाडौँ र सिन्धुलीमा समेत हुनेछ ।
यो फिल्ममा मेयरको भूमिकामा कलाकार तथा निर्देशक खगेन्द्र लामिछाने देखिनेछन् । उनले फिल्मका लागि मेयर भरतकुमार थापालाई भेटेर उनको आनीबानी र हाउभाउबारे अध्ययन गरेका थिए ।
साथै यो फिल्ममा अभिनेत्री वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको समेत अभिनय रहनेछ ।
यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया