काठमाडौँ– फिल्म जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माण टिमले दाबी गरेको छ ।
निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जानकारी दिएको दिएको हो ।
चैत्र ९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले औसत समीक्षा पाए पनि व्यापारमा भने ठूलो क्रेज पैदा गरेको छ । यो फिल्मले दैनिक एक करोडभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ ।
सामाजिक सञ्जालमार्फत निर्माण टिमले दैनिक फिल्मको ग्रस कमाइबारे जानकारी दिँदै आएका छन् ।
यस्तै, आइतबार बेलुकी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृङ्खलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए ।
दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि फिल्मको हाइप बढिरहेको निर्माण टिमले जनाएको छ ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया