मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

होली विशेष

‘मिथिला क्षेत्रको होली अरु ठाउँको भन्दा फरक नै छ’

‘आधुनिकताले होलीको मौलिकतामाथि प्रहार गर्दै आइरहेको छ’

काठमाडौँ– एकआपसमा रङमा रंगिएर उल्लासमय वातावरणमा मनाइने होलीलाई  रङ्गीन पर्वका रुपमा पहाडदेखि तराई तथा गाउँदेखि शहरसम्म सबै उमेर समूहका मानिसले मनाउने गर्छन् ।

होली पर्व मनाउनुका पछाडि धेरै पौराणिक कथनहरु रहेको जनविश्वास पाइन्छ । आपसी सद्भाव, भ्रातृत्व र उमङ्गको प्रतीक मानिने फागु (होली) पर्वको आफ्नो छुट्टै मौलिक विशेषता पनि छन् । त्यस्तै नेपालको प्राचीन मिथिला क्षेत्रमा मनाइने होलीको अझ विशेष महिमा छ ।

प्राचिन मिथिला क्षेत्रमा मनाइने होली पर्वको विशेषता के छ ? यसको सांस्कृतिक महत्व तथा मौलिकताको महिमा के छन् ?, होली पर्वलाई आधुनिकताले कस्तो प्रभाव पारेको छ ? लगायत विषयमा केन्द्रित रहेर मिथिला संस्कृतिका अध्येता संस्कृतिविद् तथा संगीतकर्मी धीरेन्द्र प्रेमर्षिसँग जोय नेपालका लागि अर्जुन धामीले गरेको कुराकानीको सम्पादित अंश:

होलीको खास महिमा र यसको सांस्कृतिक महत्व के छ ?

होली पर्व देशका करीब सबै स्थानमा मनाइने भए पनि होली एक आध्यात्मिक र सांस्कृतिक पर्व हो । होली हातमा रङ लिएर गाउँदै, बजाउँदै, रमाइलो गर्दै आफ्नो अहङ्कारलाई बिर्सेर कही रङले त कही माटोले समेत उत्साह र उमङ्गका साथ मनाइन्छ ।

वसन्त पञ्चमीदेखि नै संगीतमय उल्लासका साथ मनाइने यो पर्व मानिसको व्यक्तित्व सुधार्ने पर्व पनि हो । पुराणमा उल्लेख गरिएअनुसार राक्षसराज हिरण्यकश्यपकी ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी बहिनी होलिकाले विष्णुभक्त प्रहलादलाई आगोमा राखेर दहन गर्न खोज्दा आफै दहन भएको खुशीमा हरेक वर्ष यो पर्व मनाउने गरेको हो ।

होली पर्व नेपालको सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षको एक अभिन्न भाग हो । अझ देवी सीताको जन्म भएको पवित्र माटो जनकपुरको होलीको त छुट्टै सांस्कृतिक महत्व रहेको छ ।

पहाडी र मिथिला क्षेत्रको होलीमा खासमा कस्तो भिन्नता देखिन्छ ?

होली देशैभरी मनाइने पर्व हो । पहाड र मधेशको संस्कृति फरक–फरक भएको हुनाले चाडपर्व मनाउने कुरा पनि फरक त हुने नै भए । पहाडमा फागुन शुक्ल पक्ष अष्टमीको दिनदेखि शुरु भएको होली पूर्णिमाका दिन सम्पन्न हुन्छ । तर, तराई मधेशमा प्रायःजसो वसन्त पञ्चमीका दिनदेखि नै होलीको शुरुवात हुन्छ ।

त्यो पनि ठाउँअनुसार फरक हुनसक्छ । तराई र पहाडमा फरक–फरक दिनमा किन होली मनाइन्छ भन्ने कुराको तुलनात्मक अध्ययन भएको पाइँदैन । फरक भूगोल र फरक संस्कृतिका कारण फरक–फरक दिनमा मनाउने गरिएको हो । यो एउटा संस्कृति हो । सबैले आ–आफ्नै तरिकाले मनाउन सकिन्छ । 

मिथिला क्षेत्रको होलीलाई सांस्कृतिक हिसाबले पनि विशेष महत्व राखिन्छ नि होइन ?

गीत–संगीतमा धनी मिथिलाञ्चलको होलीमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा छ । त्यसकारण पनि मिथिला क्षेत्रको होली अरु ठाउँको भन्दा फरक नै छ । ओराहा अर्थात् पाक्न लागेको चना तथा गहुँजस्ता खानेकुरा पोलेर खाने चलनले पनि मिथिला क्षेत्रको होलीलाई विशेष बनाएको छ ।

यस्तै १५ दिने मिथिला परिक्रमा तथा जकपुरधाममा मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा आयोजना गर्ने महामूर्ख सम्मेलनजस्ता कार्यक्रमले पनि मिथिला क्षेत्रको होलीलाई छुट्टै तथा विशेष बनाएको छ भन्ने मलाई लाग्छ ।

आधुनिकतासँगै होलीको मौलिकता हराइरहेको भन्ने सुनिन्छ, होलीलाई आधुनिकताले प्रभाव पारेकै हो त ?

बढ्दो आधुनिकताले सबै क्षेत्रमा प्रभाव त पारेकै छ । त्यसैले होलीमा पनि यसले प्रभाव नपार्ने भन्ने त पक्कै होइन । पछिल्लो समय होली मनाउने निहुँमा तडकभडक, रक्सी खाने, होहल्ला गर्ने, इच्छा विपरीत रङ्ग लगाउने, जस्ता प्रवृत्ति बढ्दै गएको जस्तो मलाई लाग्छ ।

यस्ता विकृति गर्नेमाथि सम्बन्धीत निकायले कारबाही गर्नुपर्छ । कतिपय अवस्थामा त कारबाही गरिएका कुराहरु पनि आउँछन नै । होली रङ्गको चाड हो । होलीको दिन मानिसले एकअर्कामाथि विभिन्न प्रकारका रङ्ग हालेर एक अर्कालाई रंङ्गीन बनाउनुपर्छ । तर यसको पौराणिक कारण र इतिहास पनि बिर्सिनु हुँदैन ।

होलीमा आधुनिकता भित्रिएसँगै यसले युवाहरुमा परेको प्रभावलाई कसरी नियालिरहनुभएको छ ?

होलीमा आधुनिकता भित्रिएसँगै सबै कुराहरु नराम्रो मात्रै भैराखेका छन् भन्ने त पक्कै पनि होइन । तर पहिले–पहिले जसरी अहिले होली पर्व मनाउन छोडिँदै आएको छ । ‘होरैया र जोगिरा’, ‘बाँसको पिचकारी’, र एक अर्काको घरमा गएर होली खेल्ने परम्परा त लगभग हराइ नै सक्यो ।

होलीमा मनोरञ्जनका लागि पहिला भाङ खाने परम्पराको ठाउँ अहिले मदिरा सेवन गरी लट्ठ हुने, होलीका मौलिक गीतहरु गाउन छोडेर डिजेमा भोजपुरी गीत बजाएर नाचगान गर्ने परम्परा बढेको छ । होली मनाउने क्रममा मादकपदार्थ सेवन गरेर हो–हल्ला गर्ने यु्वाहरु जताततै भेटिन्छ ।

होलीको मौलिकता कायम राखिरहन हामीले कस्तो भूमिका निर्वाह गर्न सक्छौं ?

कुनैपनि क्षेत्रमा बढिरहेको आधुनिकताको प्रभावलाई छेक्न सकिँदैन । विस्तृत रुपमा अनुकुलता चाहीँ ल्याउनुपर्छ । एउटा हिन्दी फिल्ममा डाइलग छ, ‘हे तुने धक्का क्यू दिया, धक्का दिया तो दिया, तु ने क्यू लिया ।’

संस्कृतिमाथि आधुनिकताको प्रभाव पनि यसरी नै आइरहन्छ तर हामीले कति लिने र कसरी लिने भन्ने मात्रै हो । किनकि यसका सबल र दुर्वल दुवै पक्ष हुन्छन् ।  तर आधुनिकताका कारण हाम्रो मौलिक संस्कृति मर्न दिनु हुँदैन । अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न जरुरी छ ।

यस्ता कमजोरीहरुलाई हामी प्रत्येक सजग नागरिकहरुले परित्याग गरी होलीको असल पक्षहरुको सन्देश प्रवाह गर्नु जरुरी छ । यसका लागि संस्कृतिको पुस्तान्तरण हुनुपर्छ । सांस्कृतिक सबलताको लागि सरकारले समेत पहलकदमी लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?