काठमाडौँ– ठमेलका व्यापारी सिंह सार्थ बाहु सुन्दरीहरुको भेषमा आएका राक्षसनीहरुबाट कसरी बचे होलान् ? एक मुरी चामलको भात गुरुमापा राक्षसलाई होली विसर्जनसँगै प्रत्येक वर्ष किन खुवाउनुपर्छ होला ?
उपत्यकामा मनाउने होलीको रौनकताबीच यी पात्रहरुका कथा जति रोमाञ्चक छन्, त्यति नै सांस्कृतिक पाटोले समेत गहन अर्थ बोकेका छन् ।
उपत्यकामा मान्दै आएको पौराणिक कथन अनुसार सार्थ बाहु ठमेलका व्यापारी थिए । उनी अन्य व्यापारीहरुसँगै ल्हासाबाट व्यापार गरी फर्कदै गर्दा ब्रम्हपुत्र नदीमा सुन्दरीहरुको भेषमा आएको राक्षनीहरुले सबैलाई मारिदिए तर उनी मात्र बाँच्न सफल भए ।
यही खुशीयालीमा बसन्तपुरमा चीर ठड्याएर आठ दिनसम्म सिन्दूरयात्रा गरी अबिर रङ्ग छ्यापेर आपसमा रमाइलो गरी होली पर्व मनाएको पौराणिक कथन छ । लेखक एवं संस्कृति अध्यता प्रेममान डंगोलका अनुसार सार्थ बाहुको जस्तै गुरुमापा राक्षसको पनि होलीसँग जोडिएको रोचक किस्सा छ ।
गुरुमापाले उपत्यकाका बच्चाहरुलाई चोरेर लैजाने गरेपछि उपत्यकाबासीले इटुम्बहालका केशचन्द्रलाई उजुरी गरे । केशचन्द्रको आज्ञा अनुसार गुरुमापालाई बालबालिकाको रक्षा गर्ने र टुँडिखेलमा बस्नुपर्ने वाचा गराइयो ।
त्यसबापत प्रत्येक वर्ष होली पूर्णीमाका दिन एकमुरी चामलको भात, एउटा राँगोको मासुका साथै जाँड, रक्सी खुवाउनुपर्ने चलन चलाइयो । नेवारी समुदायमा अझै पनि होली पर्व शुरुवात भएपछि अबिर जात्रासँगै ठमेलमा पुगी सार्थ बाहुलाई पूजा गर्ने र टुँडिखेलमा गुरुमापालाई दर्शन स्वरुप भात पकाइ भोज गर्ने चलन यथावत रहेको संस्कृतिविद् चुन्दा बज्राचार्य बताउँछिन् ।
उनका अनुसार नेवारी समुदायमा वसन्त पञ्चमीको आगमनसँगै अबिरको छर्ने र पूजाआजा गर्ने प्रचलन छ ।
‘होलीलाई मनोरञ्जन, सिङ्गारको रुपमा लिइए पनि नेवार समुदायमा यसको सांस्कृतिक महत्व छ’, उनले भनिन्, ‘ठमेलमा सार्थ बाहुलाई भगवानकै रुपमा पुजिन्छ । पूर्णिमाको दिन टुँडिखेलमा गुरुमापालाई भात खुवाउन गुठीहरु जान्छन् ।’
होली पर्वलाई नेपालका सबै स्थानहरुमा उत्तिकै महत्वका साथ मनाउने गरेको पाइन्छ । स्थान र संस्कृति विशेष ठाउँअनुसार होलीको आ–आफ्नै मान्यता तथा कथनहरु भेटिन्छन् ।
उपत्यकामा होलीको रौनक फागुन शुक्ल अष्टमीका दिन हनुमान ढोका दरवार गद्दीको दक्षिणपट्टी चीर ठड्याएर पर्वको प्रारम्भ गरिन्छ । ‘चीर’ले नेपाली संस्कृतिको अखण्ड प्रतीकको प्रतिनिधित्व गर्ने अर्का संस्कृतिविद् गोविन्द टण्डनले बताए ।
उनले भने, ‘होलीमा चीर ठडाएर प्राचीन सभ्यता, सनातन परम्परा, सार्वभौम संस्कृति देखाउने चलन पहिलेदेखि नै चल्दै आएको छ । यसले हामीलाई सद्भाव, सामिप्यता, भद्रता र एकताको पाठ सिकाउँछ ।’
उनका अनुसार पहिला–पहिला होलीमा हुने सार्वजनिक बिदामा राजामहाराजा, हाकिमदेखि अन्य काम गर्ने सबै एकै ठाउँमा भेला भएर होली मनाउँथे ।
सबै जना एक ठाउँमा भेला भएर होली खेल्ने जुन प्रचलन अहिले पनि यथावत् छ । राज्य तथा नागरिक पक्षमा धार्मिक, सांस्कृतिक तथा सामाजिक पाटोमा समेत होलीको महत्व रहेको उनले सुनाए । होलीलाई उनी अनेकतामा एकता रहेको रङ्गहरुका पर्वका रुपमा लिन्छन् ।
हिन्दू धार्मिक कथन अनुसार होलीलाई असत्यमाथि सत्यको विजयका रुपमा मनाइन्छ । हिन्दू धर्म अनुसार दैत्यराज हिरण्य कश्यपले आफ्ना छोरा प्रल्हाद विष्णुको भक्त भएको कारण मार्ने प्रयास गर्छन् । ब्रह्माबाट आगोले नाश नहुने वरदान पाएकी उनकी बहिनी होलीकाले प्रल्हादलाई काखमा राखी बलिरहेको अग्नि ज्वालामा बसेर मार्ने प्रयास गर्छिन् ।
आगोले होलिका जलेर अन्त्य हुन्छिन् भने प्रल्हाद जीवितै हुन्छन् । यसरी सत्यको विजयको खुसीमा होली मनाउने प्रचलन शुरु भएको भन्ने गरिन्छ । ठाउँ, संस्कृति पौराणिक कथन अनुसार जतासुकै होली पर्व मनाए पनि त्यसमा असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाउने गरेको पाइने संस्कृतिविद् बज्राचार्यले सुनाइन् ।
होलीको रङ्गमा कृष्ण राशलीला र कामदेवता
होलीको रङ्ग रातो नै भएको परम्परागत मान्यता र प्रचलनहरु छन् । यद्यपि होलीको सप्तरङ्ग अर्थात् रङ्गीचङ्गीले कृष्णको राशलीलालाई समेत संकेत गर्ने संस्कृतिविद् बज्राचार्य सुनाउँछिन् । उनका अनुसार होलीमा रङ्ग र पानीसँग खेल्ने माहोलले कृष्णले नुहाइरहेका गोपिनीहरुसँग गरेको राशलीलालाई इंगित समेत गर्छ ।
अर्कातिर वसन्त ऋतुमा पर्ने होली पर्वले कामुकता र यौनप्रति आशक्ति हुने कामदेवता सक्रिय अवस्थालाई जनाउने संकृतिविद् ओम धौभडेलले सुनाए । उनका अनुसार वसन्त ऋतुमा चलिरहेको हावाको बहावसँगै उडाइने रङ्गहरुले मानिसमा कामदेवता आउनसक्छ । फुर्सदिलो समय, चिसोबाट न्यायो हावामा रङ्गहरुसँगै मानिसको मन त्यतिकै चञ्चल हुने उनले सुनाए ।
समाजको साँघुरो सोच र धारणा भएको समयमा होलीकै बहानामा युवायुवतीहरुबिच होली खेल्दाखेल्दै प्रेम साट्ने प्रचलन समेत रहेको भन्ने गरिन्छ । भ्यालेन्टाइनका रुपमा मनाइने फागुन महिनामै होली पर्ने भएकोले रातो अबिर रङ्ग गाला वा टाउकोमा लगाएर प्रेम देखाउने गरेको धौभडेल बताउँछन् ।
यद्यपि यसलाई प्रेम व्यक्त गर्ने पर्व भन्दा पनि मनोरञ्जन तथा सांस्कृतिक तथा धार्मिक मान्यतामा मनाउँदै आएको उनको भनाइ छ ।
उनले जोय नेपालसँगको कुराकानीमा भने, ‘अबिरलाई सौन्दर्य र सौभाग्यको प्रतीकका रुपमा लिने गरिन्छ । मन मिलेकाहरु आपसमा रङ्ग दलेर मनाउने भएर पनि यसलाई प्रेम र विवाहसँग जोडिएको हुन सक्छ ।’
मौसम परिवर्तनसँगै आउने होलीले एक खालको उमङ्ग, उत्साह र खुशीयाली ल्याउने भएकोले यसलाई धार्मिक तथा सांस्कृतिक पाटोमा मात्र नभएर कामुकता र मानसिक आवेगसँग पनि जोड्नुपर्ने अर्का संस्कृतिविद् तीर्थराज मुकारुङको धारणा छ ।
स्वतन्त्र रुपमले महिला पुरुषले होली खेल्ने अवसर पाएपनि प्रेम भाव नै व्यक्त गरिने कुरा अपवादमा हुन सक्ने संस्कृतिविद् टण्डनको बुझाइ छ । अहिलेसम्म धार्मिक तथा सांस्कृतिक महत्वका साथ होली मनाउँदै आएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया