काठमाडौँ– शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ ले देशभर बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन एक करोड २३ लाख ग्रस कलेक्सन गरेको फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो फिल्म हो । प्रदर्शनको पहिलो दिन नेपालका अधिकांश शो हाउसफुल भएका छन् भने विदेशमा पनि सोही अवस्था छ । अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ ।
शुक्रबार हलमा फिल्म हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायत पुगेका थिए
दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको अभिनेता आचार्यले बताए । ‘हामी शनिवार पनि दर्शकसँग भेटिरहेका छौँ । प्रिमियर झैँ प्रतिक्रिया प्राप्त भईरहेका छन् । मनोरञ्जनसँगै हामीले दिएको संदेशलाई दर्शकले ग्रहण गर्नुभएको छ । हामी कृतज्ञ छौँ’, अभिनेता आचार्यले भने ।
निर्देशक भट्टराईले पहिलोदिन प्राप्त गरेको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए । ‘महाजात्रा नेपाल मात्र नभई विदेशमा पनि हाउसफुल भइरहेको छ । हामीलाई गर्नुभएको माया र विश्वासलाई हामीले जति धन्यवाद दिए पनि अपुग हुन्छ । हामीलाई दर्शकको विश्वासमा अडिग रहने चुनौती थियो । आज विश्वभरबाट प्राप्त प्रतिक्रियाले हाम्रो टिम नै उत्साहित छ’, निर्देशक भट्टराईले भने ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया