काठमाडौँ – प्रतीक्षित नेपाली फिल्म ‘महाजात्रा’ आजबाट प्रदर्शनमा आएको छ ।
सोसल–कमेडी ड्रामा जनराको यो फिल्म सुपरहिट सिरिज फिल्म ‘जात्रा’ र ‘जात्रै–जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो शृङ्खला हो । यसले प्रिमियरमा पाएको प्रतिक्रिया र हाइपकै कारण देशभर उच्च मात्रामा शो प्राप्त गरेको छ ।
हाइप, प्राप्त शो र प्रिमियरमा प्राप्त प्रारम्भिक प्रतिक्रियालाई आधार मान्दा सुखद ओपनिङ गर्ने आशा गरिएको यो फिल्मले देशभर २५० हाराहारीमा शो प्राप्त गरेको छ ।
‘महाजात्रा’लाई क्यूएफएक्सले देशभरका पर्दामा ६७ शो दिएको छ । आईएनआई, बिग मुभिज, क्युज सिनेमाज, बीएसआर, एफक्युब, सिने द सेफ, रञ्जना, कीर्तिपुर, सीके, इन्फिनिटी, वान सिनेमाज लगायतले पनि उत्साहजनक शो दिएका छन् ।
यो साथले उत्साहित निर्देशक तथा लेखक प्रदीप भट्टराईले देशभर प्राप्त शो आफूहरूमाथिको विश्वास रहेको बताए। यसअघिका फिल्मलाई विश्वास गरेर हलसम्म पुग्ने दर्शकको समय र पैसा खेर नजाने उनले बताए।
यता वितरक अशोक शर्माले पनि शो सङ्ख्यामा अझै वृद्धि हुनसक्ने अनुमान गरे । जहाँ निर्माण पक्षले पनि यसको विज्ञापनमा खुलेरै खर्च गरेको छ ।
आपत्कालीन रूपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल लगायतको अभिनय छ । फिल्मलाई षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया