मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अलमलमा युवापुस्ता

के नेपालमा काम गर्ने वातावरण नभएकै हो?

मेहनत गर्नेले नेपालमै कमाएका छन् करौडौँ रुपैयाँ

काठमाडौँ– देशकै माटोमा पसिना बगाए नेपालमा पनि राम्रो गर्न सकिन्छ भन्ने उदाहरण समाजमा थुप्रै छन् । तर, सामाजिक सञ्जाल र गल्लीका चिया पसलहरुमा नेपालमा केही हुँदैन, पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने भाष्य निर्माण भइरहेको छ ।

यस्तो अवस्थामा पनि गाउँदेखि शहरसम्म केही जाँगरिला युवाहरूले भने नेपालमै केही गर्न सकिन्छ है भनेर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् ।

पश्चिमी पहाडी जिल्ला डडेल्धुराको जोगबुडाका रामदत्त भट्ट पनि नेपालमै केही गर्न सकिन्छ भनेर आफ्नै व्यवसाय सञ्चालन गरेर बसेका छन् । उनी आफ्नै गाउँमा कुखुरा फार्म सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

लामो समय नेपाली सेनामा बिताएका उनी अवकाशपछि फार्म सञ्चालन गरे देशमै केही गर्ने अठोट लिएका हुन् । उनका अनुसार सञ्चय कोषबाट आएको पैँतीस हजार रुपैयाँ लगानी गरेर उनले व्यवसाय शुरु गरेका थिए ।

‘हामीसँग सम्भावनाले भरिएको भविष्य छ, यहीँ केही गर्छु भन्ने संकल्प लिएपछि सफलता हाम्रो अगाडि झुक्नेछ,’ उनी भन्छन् ।

अहिले उनको फार्ममा साठी लाख रुपैयाँ लगानी पुगिसकेको छ । उनले भने, ‘मसँग व्यवसाय सम्बन्धी खासै ज्ञान थिएन तर मेहनत गरेँ, अहिले राम्रै कमाइ गरिरहेको छु, युवाहरुले विदेश जाने पैसालाई देशमै लगानी गरेर लगनशीलता देखाए राम्रै हुने हो ।’

कुनै पनि काममा लगनशीलता देखाए सफल हुन सकिने उनको भनाइ छ ।

पछिल्ला केही वर्षयता निरन्तर रूपमा वैदेशिक रोजगारका लागि युवा विदेशिने क्रम बढिरहेको छ । यसले युवाको भविष्य र देशमा संकट आइपर्ने रोजगार क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् ।

भट्ट विदेशिएका युवालाई प्रश्न गर्छन्, ‘विदेशमा पनि १६–१७ घण्टा काम गरेर ३०–४० हजारै कमाउने हो, यति मिहेनत गरे यही कमाउन सकिन्छ, किन विदेशै जानुपर्‍यो ?’

भट्टजस्तै कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ४ का अमरसिंह कार्की पनि देशमै बसेर केही उन्नत गर्ने कोसिस गरिरहेका छन् । देश वा विदेश जहाँ गए पनि सहज रुपमा जीवनयापन गराउने आधार सीप नै रहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘सीप भएको मानिसले जहाँ पनि आफ्नो क्षमता देखाएर खान सक्छ, विदेशमा पनि सीप नै चाहिने हो, सीप नभएका मानिसले त्यहाँ पनि दुःख नै पाउँछन् ।’

उनी गाउँमै ‘भगवती कृषक समूह’ गठन गरेर व्यावसायिक रूपले तरकारी खेती गर्दै आइरहेका छन् । विदेशमा गएर दुःख गर्नुभन्दा यहीँ नै फरक ढङ्गले काम गर्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ भनेर नै उनले अरुलाई पनि देशमै रोजगारीको अवसर सिर्जनाका लागि अगुवाइ गरिरहेका छन् ।

युवाहरु बेरोजगार भएको नभई सामाजिक, सांस्कृतिक विकृति र विसङ्गतिको शिकार भएको उनको बुझाइ छ । विदेश मोहका कारण अहिलेका युवापुस्ताले देशमा केही सम्भावना देख्न नसकेको उनले बताए ।

युवाहरु वैदेशिक रोजगारकै बाटोमा

वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिएर विदेशिने युवाको पछिल्लो तथ्याङ्क ग्राफ बढ्दो छ । विभागको तथ्याङ्क हेर्दा चालू आर्थिक वर्षको ६ महिनामा मात्र दक्षिण कोरिया समेत गरी ३ लाख ४३ हजार ४ सय ११ युवा रोजगारीकै लागि विदेसिएका छन् ।

यस्तै, गतवर्ष ७ लाख ७१ हजार ३ सय २७ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार यो सङ्ख्या भारतबाहेकका देश जानेहरूको मात्रै हो ।

आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए भने २०७७/०७८ मा १ लाख ६६ हजार ६ सय ९८ जनाले नेपाल छाडेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना, २०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २८ जना, जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क विभागसँग छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजीव पोखरेलले देशमा रोजगारका अवसर नभएको भन्ने भाष्य गलत भएको बताए ।

जोय नेपालसँग कुराकानी गर्दै प्रवक्ता पोख्रेलले भने, ‘देशमा रोजगारका अवसर नभएका होइनन्, श्रमको सम्मान गर्ने संस्कार हामीमा हराउँदै गएको छ, जे काम हामी यहाँ सानो भनेर गर्दैनौं, त्यही काम हामी विदेशमा गएर गर्छौं ।’

उनका अनुसार मन्त्रालयले देशका युवाहरुलाई देशमै रोक्नका लागि सक्दो प्रयास गरिरहेको छ । ‘२०८१–०९०’ लाई आन्तरीक रोजगार दशकका रुपमा मनाउने तयारी गरिरहेका उनी बताउँछन् ।

यसका लागि मन्त्रालयले नवप्रर्वतन तथा स्वरोजगार प्रवद्धनका कार्यक्रमहरु अवलम्वन गरिरहेको उनको भनाइ छ । ‘रोजगारी सृजना गर्न अथवा विदेश पलायन हुने युवाहरुलाई देशमै रोक्न एक्लै यस मन्त्रालयले सक्दैन तर सार्वजनिक तथा व्यक्तिगत संस्थासँग सहकार्य गरिरहेका छौं,’ उनले भने ।

यद्यपि रोजगारी सृजना गर्ने काम मन्त्रालयको नभएको उनले सुनाए ।

हाल आन्तरिक र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले मन्त्रालयले ‘नेपाल रोजगार सूचना व्यवस्थापन प्रणाली (नेमिस) सफ्टवेयर’ समेत  सञ्चालनमा ल्याउने  तयारी गरेको मन्त्रालयले जनाएको छ । युवाहरुसँग सीपको अभावले रोजगारीको अवसर नभएको रोजगार क्षेत्रका जानकारहरु सुनाउँछन् ।

नेपालमा लगानी गर्ने वातावरण नभएको र लगानी सुरक्षित हुने ग्यारेन्टी समेत नभएका कारण युवाहरु विदेशतिर जाने गरेको व्यवसायी भट्टको तर्क छ ।

समस्याहरु नेपालमा मा मात्रै होइन, विश्वका जुनसुकै देशमा पनि छन् । तर तिनको वैज्ञानिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले सुनाए ।

उनले भने, ‘हामीसँग सम्भावना प्रशस्त छन्, तर युवा नै विदेश गैहाल्छु भनेर केही गर्नै चाहँदैनन्, यो नै सबैभन्दा ठुलो समस्या हो, हामीसँग उपलब्ध स्रोत र साधनको सदुपयोग गर्न सके सबै युवा स्वरोजगार बन्न सक्छन्, यसले गर्दा देशले पनि समृद्धि हासिल गर्न सक्छ ।’

रोजगार विभागका निर्देशक कविराज उप्रेती वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रुपमा बढ्नु देशका लागि राम्रो संकेत नभएको बताउँछन् । उनी भन्छन्, ‘देशमा अवसर छैन भन्ने होइन, युवाहरु नै सामाजिक दबाब होस् या बाध्यताका कारण विदेश जान खुसी देखिन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?