काठमाडौँ– चलचित्र ‘जात्रा’ मा मुन्नाको भूमिका निभाएपछि अभिनेता रविन्द्र झालाई दर्शकले यही नामले बोलाउन थाले । कति दर्शकलाई त उनको वास्तविक नाम रविन्द्र हो भन्ने पनि थाहा छैन । धेरैले मुन्ना भनेर चिन्छन् ।
चलचित्र ‘जात्रा’ मा काठमाडौँमा सैलुन सञ्चालन गरेर गुजारा चलाउने एक युवाको भूमिका निर्वाह गरेका छन् उनले ।
मुन्ना यस्तो चरित्र हो, जसको लबज फरक छ । जीवन त सामान्य नै छ तर स–साना कुरामा पनि खुशी हुने मुन्नाको जीवनमा पैसा छैन । ऋणको भारीले च्यापिएको उसलाई कम्तिमा ऋण तिर्ने पैसा कमाउनु छ । उसले धेरै पढेको छैन तर व्यवहारमा सबैको प्रिय छ ।
त्यही मुन्नाको चरित्रलाई जस्ताको तस्तै पर्दामा उतारेर रविन्द्र झा पुन: ‘महाजात्रा’ मार्फत पर्दामा देखिँदैछन् ।
नाटकमा रमाइरहेका रविन्द्रलाई मुन्नाको प्रस्ताव आउँदा लागेको थिएन कि, दर्शको यति धेरै माया पाउँछु । बरु लागेको थियो, उनलाई लिएर निर्देशकले निर्माताको लगानी नै डुबाइदिन्छन् ।
उनले शूटिङ सेटमा कैयनपटक निर्देशक प्रदीप भट्टराईलाई भनेका पनि थिए, ‘तपाईँले मलाई लिएर पूरै फिल्म नै डुबाउँदै हुनुहुन्छ है !’
अहिले नोस्टाल्जिक भएर बितिसकेको समय स्मरण गर्दा रविन्द्रलाई लाग्छ, त्यतिबेला त म पो गलत रहेछु । राम्रो कथा भयो भने त दर्शकले मन पराउनुहुने रहेछ ।
हुन पनि ‘जात्रा’ सिरिजमा मुन्नाको भूमिका यति सशक्त छ कि, फिल्मबाट उनको चरित्र निकालिदिने हो भने फिल्म नै खल्लो हुन्छ ।
अझ त्यतिबेला त उनलाई यो चरित्रमा आफू ‘फिट’ हुन्छु भन्नेमा पनि विश्वास थिएन । शीर्ष भूमिका भनेपछि कम्तिमा अलिक हट्टाकट्टा हुनुपर्छ । हिरोजस्तो देखिने हुनुपर्छ भन्ने रविन्द्र स्वयंलाई पनि लागेको थियो ।
उनको मनको आवाज थियो– ‘म जस्तोलाई पनि कसैले हिरोमा गन्छ त? मलाई खेलायो भने त फिल्म नै डुब्छ ।’
हिरोको भूमिकामा अभिनय गर्न कताकता असहज लागे पनि कलाकारका रुपमा भने उनी धेरै खारिइसकेका थिए नाटकले ।
रङ्गमञ्च र रेडियो नाटकमा उनले लामो समय काम गरेको अनुभव सङ्गालेका थिए । पर्दापछाडि रहेर केही नाटकको निर्देशन समेत गरेका थिए । जात्रामा जोडिनुभन्दा अघि उनले प्रशिक्षकका रुपमा पनि धेरैपटक काम गरेका थिए ।
अझ भनौँ, ‘जात्रा’बाट आम दर्शकमा परिचित भए पनि उनले नाटक र केही फिचर फिल्ममा पहिले नै काम गरिसकेका थिए ।
उनलाई बच्चैदेखि अभिनयको सोख जो थियो । जसले उनलाई मिथिला नाटक हुँदै नेपाली फिल्मको यात्रा कोरेको थियो ।
‘मलाई सानैदेखि अभिनयमा रुचि थियो गाउँमा अभिनय गर्ने अवसर पनि त्यति थिएन, विद्यालय छोडेर जान मिल्दैनथ्यो, काठमाडौँ आएपछि कमर्स विषयमा क्याम्पस त पढेँ तर मलाई किन हो अभिनयतिर नै बढी झुकाव थियो,’ रविन्द्र भन्छन् ।
जनकपुर स्थायी घर भएका रविन्द्र उतै बढे । उतै हुर्के । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आए । गाउँमा अभिनय नै नगरेका पनि होइनन्, विद्यालयमा कहिलेकाहीँ अभिनय गर्ने अवसर त जुर्थे तर त्यति उनका लागि पर्याप्त थिएन । सानैदेखि मिथिला कलातर्फ पनि आकर्षित थिए उनी ।
‘काठमाडौँ आएपछि मिथिला नाट्य कला परिषदमा जोडिने अवसर जुट्यो, त्यसपछि मैले नाटकमा काम गर्ने मौका पाएँ, त्यो मेरा लागि साँच्चिकै खुशीको कुरा थियो,’ उनी जोय नेपालसँगको कुराकानीमा सुनाउँछन् ।
मिथिला नाट्य कला परिषदमा आवद्ध भएर कैयन् नाटकमा काम गर्दा उनलाई आफूभित्रको अभिनयको भूतले झनै सताउन थाल्यो । उनलाई अझै अभिनयमा निखारता र अवसरको खोजी गर्नुपर्छ भन्ने लाग्यो ।
त्यतिबेला काठमाडौँमा अहिलेजस्ता नाटक घरहरु पनि खुलेका थिएनन् । राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा प्रतिष्ठान त थिए तर अरु नाटक घरको संस्कृति अझै बसिसकेको थिएन । यो पचासको दशकतिरको कुरा हो ।
‘त्यतिबेला नाटक त गरिन्थ्यो तर आफूलाई नाटकबारे अझै सिक्न पाए हुन्थ्यो भन्ने थियो,’ रविन्द्र अगाडि थप्छन्, ‘मिथिला नाट्य कला परिषदबाटै भारतमा अभिनय कला सिकाइन्छ भन्ने थाहा पाएँ ।’
काठमाडौँमा आफ्नो क्याम्पसको अध्ययन पूरा गरेर उनी भारतको नयाँ दिल्लीस्थित नेसनल स्कूल अफ ड्रामा (एनएसडी) मा अभिनय सिक्न भन्दै उतै हानिए । तर, त्यो वर्ष एनएसडीमा भर्ना सकिइसकेको रहेछ । त्यहाँ अझै एक वर्ष कुर्नुपर्ने भयो ।
त्यसपछि उनले विकल्प खोज्नुपर्ने भयो । नेपालबाट गएर एक वर्ष यत्तिकै झुलेर बस्ने अवस्था पनि थिएन ।
‘एनएसडी पढ्न एक वर्ष नै कुर्नुपर्ने भएपछि मैले त्यहाँको अर्को नाट्य स्कूल आदि नाट्य दृष्टिका बारेमा बुझेँ,’ रविन्द्र भन्छन्, ‘त्यो स्कूलमा पनि एनएसडीकै प्रोफेसरहरुले पढाउनुहुन्छ भन्ने थाहा पाएपछि अन्तर्वार्ता दिएँ र त्यहीँ नाम निकालेँ ।’
उनले त्यहाँ तीन वर्ष नाटक सिके । अझै एक वर्ष उतै बसे । र, नयाँ जोश र अनुभवका साथ काठमाडौँ फर्किए ।
नेपाल फर्किएपछि उनी नाटकमा यति व्यस्त भए कि, नाटक देखाउन र कार्यशाला गर्नका लागि उनलाई भ्याइनभ्याइ भयो । उनले नाटकमार्फत विश्वका कैयन् देशसमेत घुम्ने अवसर पाए ।
‘खासमा भन्ने हो भने मलाई फिल्म क्षेत्रमा रुचि पनि थिएन, किनकि नाटकमै मलाई धेरै राम्रो थियो,’ रविन्द्र सम्झिन्छन् ।
नाटकमा उनको व्यस्तता दिनप्रतिदिन बढ्दो थियो । कतै प्रशिक्षकका रुपमा जान्थे भने कुनै नाटकको आफै निर्देशन गर्थे । लेखन र अभिनय त भइ नै हाल्यो ।
‘त्यतिबेला केही साथीहरु जम्मा गरेर नयाँ केही गरौँ न त भन्ने माहोल भइरहेको हुन्थ्यो, र अलिअलि पकेट खर्च पनि आउँथ्यो,’ उनी आफ्नो विगत सम्झन्छन्, ‘त्यसरी गर्दागर्दै रेडियो नाटकमा पनि लामो समय काम गरियो, पछि स्क्रिप्ट राइटरको जागीर पनि खाएँ तर मलाई सरकारी जागीरतिर कहिल्यै पनि चासो लागेन ।’
परिवारले भने सरकारी जागीर खान सुझाव दिइरहन्थे । नाटककै क्षेत्रमा पनि सरकारी जागीर खाने अवसर त थिए तर उनलाई स्वतन्त्र भएर काम गर्न आनन्द लाग्थ्यो । उनले न्यू वर्ल्ड नामक संस्थामा सात वर्ष रेडियो नाटक लेखनमा सहकार्य गरे । त्यसपछि एन्टेना फाउण्डेसनमा पनि लामो समय बिताए ।
यो अवधिमा उनले फाटफुट नेपाली फिल्ममा पनि अभिनय गरिरहेका थिए । तर, त्यतिबेलासम्म उनले आफ्नो रेडियोको कामलाई असर नपर्ने गरी स–साना भूमिकामा मात्र अभिनय गरेका थिए ।
‘जात्रा’ का निर्देशक प्रदीप भट्टराईसँग उनको पुरानो चिनजान थियो । तर, कामका कारण रविन्द्र रेडियोमै व्यस्त थिए । प्रदीप आफ्नै काममा व्यस्त थिए ।
रविन्द्रलाई चलचित्र ‘जात्रा’ बन्दैछ र उक्त चलचित्रमा शीर्ष भूमिकामा मुन्ना पात्रको खोजी भइरहेको छ भन्ने समेत थाहा थिएन । यता प्रदीपलाई भने कसैले भनेको रहेछ– यो चरित्रका लागि रविन्द्र झा नै एकदमै फिट कलाकार हुन् ।
निर्देशक भट्टराईले पनि रविन्द्रको मनशाय बुझ्नका लागि एकपटक भेट्न बोलाए ।
रविन्द्र र निर्देशक भट्टराईबीच कुनै क्याफेमा कफी खाँदै गफ भयो । फिल्मका गफ भए । नाटकका गफ भए । कुराका सिलसिलामा प्रदीपले रविन्द्रलाई भने, ‘एउटा भूमिका छ, त्यसमा अभिनय गनुपर्यो तपाईँले ।’
रविन्द्रले पनि सहर्ष स्वीकारे । भने, ‘हुन्छ, ठीक छ त ।’
दुवैजनाको कुराकानीपछि सहमति भएर छुट्टिने समय आयो । जाँदाजाँदै रविन्द्रले सोधे, ‘प्रदीप सर कति दिन लाग्छ होला शूटिङ गर्न ?’
प्रदीपले भने, ‘एक महिना लाग्छ ।’
खासमा रविन्द्रले सानो भूमिका होला भनेर एकै क्लिकमा स्वीकारेका थिए । उनले प्रदीपलाई हठात् भनिहाले, ‘ओहो, प्रदीप सर यो त हुन सक्दैन, म एन्टेनामा छु, मलाई गाह्रो हुन्छ ।’
‘जात्रा’ मा रविन्द्र झाले गर्ने कि नगर्ने भन्नेबारेको छलफल टुङ्गिन मात्र एक महिना लाग्यो । किनभने रविन्द्रले प्रदीपको प्रस्ताव पूर्ण रुपमा अस्वीकार गर्न पनि सकेका थिएनन् तर उनलाई समय मिलाउन पनि निकै हम्मेहम्मे परेको थियो ।
‘म एन्टेना फाउण्डेसनमा पनि थिएँ, त्यत्रो एक महिनाको समय छुट्याउन मलाई गाह्रो हुने नै भयो,’ कुराकानीका सिलसिलामा रविन्द्र भन्छन् ।
त्यतिबेला उनी मैथिली धारावाहिक नाटक ‘हिलकोर’ मा व्यस्त थिए । आफूलाई ‘जात्रा’ बाट प्रस्ताव आएको भनेपछि एन्टेना फाउण्डेसनले पनि समय मिलाइदिएको उनी बताउँछन् ।
‘मसँग त्यतिबेला चार जना अरु स्क्रिप्ट राइटरको टिम पनि थियो, प्रियंका झा, रञ्जना झा, अनिता चौधरी र म थियौँ, त्यही बेला मैले उता कार्यक्रम पनि गरेँ, यता जात्राको शूटिङ पनि गर्ने भएँ,’ रविन्द्र स्मरण गर्छन् ।
अभिनय कलामै लामो समय बिताएकी प्रियंका झा रविन्द्रकी धर्मपत्नी पनि हुन् ।
जात्राको शूटिङ सेटमा उनले निर्देशक प्रदीप भट्टराईलाई धेरैपटक भने, ‘प्रदीप जी तपाईँले मलाई लिएर नराम्रो डिसिजन लिनुभएछ, मलाई स्वीकार गर्छ र कोही?’
त्यो बेला आफूले प्यारासिटामोल खाएर काम गरेको रविन्द्र बताउँछन् । दिनभरि फिल्मको छायांकनमा व्यस्त, रातभर जाग्राम बसेर भए पनि रेडियो नाटकको स्क्रिप्ट हेर्नुपर्ने काम ।
‘निद्रा नपुगेर मलाई त ज्वरो नै आएको थियो, कहिलेकाहीँ म निर्देशकलाई अफिसको प्रेसर छ भनेर सुनाउँथे,’ उनी अलिकति जोश निकाल्दै संवाद भनेकै शैलीमा भन्छन्, ‘प्रदीप जी, तपाईंले गलत गरिरहनुभएको छ, यतिधेरै सिन छ, मेरो त लिड रोल नै छ, तपाईंले धेरै रिस्क (जोखिम) लिनुभएछ है !’
रविन्द्रको कुरा सकिन नपाउँदै हामीले सोध्यौँ, ‘तपाईंलाई विश्वास थिएन?’
‘अहँ, मलाई थिएन, यसरी फिल्म चल्दिन्छ, दर्शकले मलाई स्वीकार गर्छ भन्ने मलाई विश्वास थिएन,’ उनी अगाडि थप्छन्, ‘म अहिले पनि दर्शकलाई सलाम गर्छु र गर्दै पनि रहन्छु, मेरो फिल्म नहेरे पनि म दर्शकलाई केही भन्न सक्दिनँ, भविष्य त भन्न सकिँदैन तर अहिलेसम्म मलाई धेरै माया दिनुभएको छ ।’
‘जात्रा’ प्रदर्शनमा आएर मुन्नाको अवतारमा भेटेपछि दर्शकले निकै माया दर्शाएको उनी सुनाउँछन् ।
‘दर्शकले जुन खालको स्नेह देखाउनुभयो, त्यो देखेर दर्शकको अगाडि त म रुँदैनथेँ तर म एक्लै हुँदा आफैमा प्रश्न गर्थेँ, त्यसपछि ममाथि अझ चुनौती थपिएजस्तो लाग्यो,’ उनी जोय नेपालसँगको कुराकानीमा सुनाउँछन् ।
रविन्द्र आफू हास्य कलाकारभन्दा पनि चरित्र अभिनेता भएर बाँच्न चाहेको बताउँछन् । आफूलाई जुन खालको भूमिका दिए पनि राम्रोसँग निभाउनेमा उनी ढुक्क छन् ।
‘फरक भूमिका निभाउन म मरुञ्जेल कोशिश गर्छु, दर्शकको मायाले झन् चुनौती थपिदिएको छ, श्रीमती (प्रियंका झा) समेत कलाकार भएकाले हाम्रो त घरमा पनि अभिनयकै कुरा हुन्छ’ रविन्द्र भन्छन् ।
फिल्म ‘जात्रा’ को मुन्ना चरित्र आफै पीडामा छ । रमाइलोसँग सामान्य जीवन बिताउन चाहने मुन्नाको जीवनशैली पनि सामान्य छ । तर, उसको जीवनमा पैसा नहुँदा कैयन् अप्ठेरा परिस्थिति सिर्जना हुन्छन् । अझ पारिवारिक झमेला र पैसा नभएका कारण आफ्नै पत्नी र सासुबाट समेत हेपिएको छ मुन्ना ।
पर्दामा यस्तो चरित्रमा देखिए पनि वास्तविक जीवनमा भने आफूले यस्तो कहिल्यै भोग्नु नपरेको रविन्द्र बताउँछन् ।
‘यो फिल्मको मुन्नाजस्तो आफूले नभोगेको चरित्र निभाउन सजिलो त थिएन तर नाटकमा वर्षौँ गरेको अभिनयले मलाई त्यति गाह्रो पनि भएन,’ उनी अगाडि थप्छन्, ‘मैले सुतेको बेला बाहेक जीवनको अरु सबै समय यही क्षेत्रलाई दिएँ, लामो अभ्यासका कारण पनि मलाई असहज भएन ।’
उनी ‘जात्रा’ को छायांकनका बेला आफू रविन्द्र झाबाट मुन्नाकै चरित्रमा हराएको बताउँछन् । त्यो चरित्रमा उनी आफू यति डुबे कि, म रविन्द्र झा हुँ भन्ने पनि भेउ थिएन । समाजमा पनि उनले यस्ता कैयन् चरित्र नजिकबाट नियालिरहेका थिए ।
‘जात्रा सिरिजमा अभिनय गर्दा मलाई जहिले पनि मुन्ना हुँ भन्ने लाग्थ्यो, म त्यही चरित्रमा छिरिसकेको थिएँ, तर वास्तविक जीवनमा भने मैले दश किलो सुन भेट्याउने हो भने सिधै प्रहरीलाई बुझाइदिन्थेँ, दायाँबायाँ नै छैन,’ उनी जोशका साथ सुनाउँछन्, ‘मुन्नाका आफ्नै समस्या छन्, हामीलाई फिल्मभरि त्यही झमेलामा पारिएको छ तर वास्तविक जीवनमा मैले त्यस्तो उट्पट्याङ काम गर्नु नै छैन, सामान्य जीवन रमाइलो मै बितिरहेको छ, यही ठीक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया