डडेलधुरा अस्पतालको बाहिर च्यातिएको लुगा, लुगामा दाग, अनि भिजेको जस्तो देखिने, टाउकोमा हात राखेर बसेको दृष्य अरुभन्दा फरक थियो । उनी थिइन पाठेघरमा समस्या आएर पहिलो पटक अस्पताल आएकी ६० वर्षीया झुमा नेपाली ।
उनलाई पिसाबमा समस्या आएको त धेरै वर्ष भयो तर आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न जान नसकेको उनका छोरा सानुकाजी नेपालीले बताए । ‘आमालाई धेरै पटक एक्लै रोएको देखेको थिए तर मसँग पैसा नभएर अस्पताल ल्याउन सकेको थिइन, आज अलि अलि पैसा जम्मा पारेर अस्पताल ल्याएको तर उहाँले आफ्नो समस्या भन्नै मान्नु भएन ।’
झुमा एक उदाहरण मात्रै हुन् यस्ता लाखौँ महिला छन् जो समयमा नै उपचार गर्न नसकेर पीडामा रोमलिएका छन् । नेपालको विकट ठाउँमा मात्रै होइन केन्द्रीय राजधानी काठमाडौँ पनि यस्ता समस्या भएर लुकाउनेको कमी छैन ।
यसैको उदाहरण हुन काठमाडौं घितालथोक घर भएकी पवित्रा पाठक । ४० वर्षीया पवित्रालाई पिसाब चुहिने समस्या भएको तीन वर्ष भै सकेको छ तर अस्पताल गएर डाक्टरलाई कसरी भन्ने भनेर अस्पताल नगएको उनले बताइन । ‘एकपटक माछापोखरीको क्लिनिकमा गए तर त्यहाँ पुरुष डाक्टर रहेछन् अनि त्यत्तिकै फर्किए,’ उनले भनिन् ।’
‘अहिले प्राईभेट अफिसमा काम गर्छु कमाई पनि राम्रो छ तर पनि मलाई अस्पतालगएर कसरी यो कुरा भन्ने आँट नै छैन त्यसैले अस्पताल गएको छैन ।’ झुमा र पवित्रा त प्रतिनिधि पात्र मात्रै हुन । नेपालमा यस्ता समस्या हुने र समयमा नै अस्पताल नजानेको संख्या धेरै छ । प्रस्तुत छ, यसै विषयमा केन्द्रीत रहेर जनस्वास्थ्यविद् डाक्टर अरुणा उप्रेतीसँग प्रजनन स्वास्थ्यका विषय गरिएको कुराकानीको सम्पादित अंश ।
पछिल्लो समय महिलाको प्रजनन् स्वास्थ्यमा धेरै समस्या देखिन्छन्, यो समस्या गामिण क्षेत्रमा धेरै छ किन ?
महिलाको प्रजनन् स्वास्थ्यमा हुने समस्याको बारेमा पहिलाभन्दा पछिल्लो समय धेरै छलफल भएको हुँदा धेरै मात्रामा देखिन थालेको मात्र हो। म यस क्षेत्रमा कार्यरत भएको ३४ बर्ष भईसक्दा महिलाको पाठेघर खस्ने, असुरक्षित गर्भपतन हुने जस्ता समयस्याहरु पहिलादेखि नै थियो र अहिले यस्ता प्रजनन स्वास्थ्यका समस्याहरु सम्बन्धि धेरै छलफलहरु भएर सरकारले केही नीति तथा कार्यक्रमहरु बनाएका छन् तर अझै महिलाको पिसाब चुहिने समस्या, महिलाको महिनावारी सुकिसकेपछि हुने समस्याहरुको बारेमा छलफल हुन नै बाँकी छन् र यस्ता समस्याहरु ग्रामिण भेगमा मात्र नभइ शहरी क्षेत्रमा पनि छन् ।
४०-४५ वर्ष पुगेका महिलाहरुमा हाँछ्यु गर्दा, ठूलो स्वरमा हाँस्दा, पेटमा बल परेको कामहरु गर्दा खेरी पिसाब चुहिने समस्या छन् । यी समस्याहरु खासै ठूलो नलागे पनि महिलाको सामाजिक जीवनमा असर परिरहेको छ । तर यी विषयमा खासै छलफल हुँदैन र यस्ता समस्याहरु बोकेर स्वास्थ्यकर्मीकोमा जाने चलन पनि छैन ।
महिलाहरु स्वास्थ्य संस्था गए पनि भनेको समयमा स्वास्थ्यकर्मीको अभावले आफनो समस्या भन्न नसक्दा पनि समस्या बढेको भन्न मिल्छ ?
प्रजनन् स्वास्थ्य बारेमा शहरीया क्षेत्रमा भन्दा गाँउघरका महिलाहरु प्रजनन् स्वास्थ्यका समस्याहरु, पाठेघरका समस्याहरु लिएर पुरुष स्वास्थ्यकर्मीकोमा जाने चलन कमै छन् । पुरुष स्वास्थ्यकर्मी भएको ठाउँमा गएर आफ्नो समस्या भन्न लाज मान्ने गरेका छन् । पाठेघर खस्ने समस्या, पिसाब चुहिने जस्ता समस्या खुलेर भन्न नसकिने हुँदा यस्ता समस्या शहरी क्षेत्रमा पनि छन् तर तुलनात्मक रुपमा ग्रामिण भेगमा अलि बढि देखिन्छ ।
ग्रामिण क्षेत्रमा यस्ता समस्या धेरै देखिनुको कारण के हो ?
पिसाब लगातर चुहिने समस्या ग्रामिण भेगमा बढी छ । कुपोषण, स्वस्थ्य चौकीमा सुत्केरी नगराउने जस्ता कारणले ग्रामिण क्षेत्रमा बढि छ । तर शहरी क्षेत्रमा पनि यस्ता समस्या छन् । कुपोषण भएका महिला, धुम्रपान गर्ने महिला, प्रजनन् अगंको सरसफाइमा ध्यान नदिँदा यस्ता खालका समस्या बढि देखिने सम्भावना हुन्छ । युवा अवस्थादेखि नै सम्पूर्ण स्वास्थ्य, प्रजनन् स्वस्थ्य, पोषण, शारीरिक व्यायाममा ध्यान दियो भने पिसाव चुहिने समस्या कम हुन्छ ।
यो समस्या कुन उमेर समूहमा बढी देखिन्छ ?
यो समस्या २५-३० वर्षसम्म त्यक्ति देखिँदैन । खासगरी विवाहित महिलाहरुमा ३-४ वटा बच्चाहरु पाईसकेपछि पाठेघरको मांशपेसिहरु कमजोर भएर मुत्र नलीमा पिसाब बढि भएपछि यो समस्या हुन्छ । अलि पुगेका महिलाहरुमा लगातार हाँस्दा पेटमा बल पर्दा पिसाब चुहिन्छ र पिसाब गन्हउने समस्या हुन्छ कतिपय गाँउघरमा लुगा फेर्ने समय पनि नपाउने हुँदा उनीहरुको सामाजिक जीवनमा पनि समस्या पर्छ ।
यस्ता समस्या आउन नदिन के गर्नुपर्ला ?
मोटोपन, मधुमेह, सुत्केरी हुँदा स्वस्थ्य उपचार नपाएका महिलाहरुमा यो समस्या धेरै देखिन्छ । यस्ता समस्या हुन नदिन किगल एक्सरसाइज गर्ने, प्रजनन् अंगको सरसफाइमा ध्यान दिने, पिसाबको इन्फेक्सन हुन नदिन पर्याप्त मात्रमा पानी पिउने र पोषणमा ख्याल गर्ने ।
आफ्नो शरीरको तौलमा युवा अवस्थादेखि नै ख्याल गर्ने । किगल एक्सरसाइजले पाठेघरलाई ठीक ठाँउमा अड्याउन, पुठ्ठा वरिपरिको अन्य अगंहरु पनि बलियो बनाउने हुँदा यो एक्सरसाइजलाई पनि ध्यान दिनुपर्छ ।
अर्को छुटाउनै नहुने कुरा भनेको महिनावारी भएका महिलाले दैनिकरुपमा पेन्टी चेन्ज गनुपर्छ । यति गर्दा पनि समस्या देखियो भने स्वास्थ्यकर्मीको गएर उपचार तथा परामर्श लिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया