मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कृष्णमन्दिर नियाल्दै, क्यानसभामा उतार्दै

ललितपुर– पाटनको कृष्ण मन्दिर निकै बेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाले । चित्र कोर्न तम्तयार हुँदै गर्दा उनले मन्दिरतर्फ फर्केर नमस्कार गरे। 

निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न सुरु गरेका उनले भने “मलाई नेपाल निकै मनपर्छ, यहाँ हरेक दृश्य चित्रकला कोर्नलायक छन् ।” 

पाटनस्थित कृष्ण मन्दिर वरिपरि शनिबार ६० भन्दाबढी विदेशी कलाकारले प्रत्यक्ष दृश्य अवलोकन गरेर चित्र कोरेका थिए । इन आर्ट वल्डको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको ‘कला शाला’ को दोस्रो दिन विदेशी एवं स्वदेशी कलाकारले एकैसाथ कलाकृति सिर्जना गरेका थिए । 

कला शालामा मात्रै कलाकारले कला सिर्जना गर्नु मात्रै नभई कलाकारमा एकता विस्तार गर्नु अर्को महत्वपूर्ण उद्देश्य रहेको आकार आर्ट सेन्टरकी अध्यक्ष अनिता भट्टराईले बताए । 

उनका अनुसार नेपाली कलामा कलाकार एक मत हुन जरुरी छ । यही सन्दर्भ पारेर कला शालामा चित्रकला, मूर्तिकला, डिजिटल आर्ट, प्रिन्टमेकिङलगायत विभिन्न कला एकै ठाउँमा बसेर कलाकारले सिर्जना गरिएको हो । 

कलाशालामा बङ्गलादेश, भारत, इरान, ताइवान र नेपाल गरी पाँच देशका कलाकारले आआफ्नो शैलीमा कला सिर्जना गरेका थिए । 

पाटनको दरबार क्षेत्रअवलोकन गर्दै चित्र बनाइरहेका ताइवानका चित्रकार डेरियसले यहाँको परम्परागत भौतिक संरचना अत्यन्त रचनात्मक लागेको बताए ।

आँखीझ्याल ठोकाका बुट्टाले आफूलाई धेरै आकर्षित गरेको उनले सुनाए । “एउटा कलाकार नै लोभिने खालको अद्भूत कला छ नेपालमा”, उनी भन्छन् “अर्को पटक यिनै कलाको अध्ययन गर्न अलि धेरै समय बस्नेगरी नेपाल घुम्न आउनेछु ।” 

बङ्गलादेशका चित्रकार कौशर हुसैनका लागि नेपाल आफ्नै देशजस्तै आत्मीय लाग्ने बताए । धर्मले मुस्लिम समुदायको भए पनि नेपालको धार्मिक कला कौशलले निकै आकर्षित गरेको उनी बताउँछन् ।  पाटनको कृष्ण मन्दिर चित्रमा उतार्दै उनले सम्झनास्वरुप आफ्नो देश लैजाने सुनाए ।

 “हुन त म मुस्लिम हुँ तर, यो कृष्ण मन्दिरको तस्वीर घरै लगेर राख्नेछु”, उनले भने  । 

नेपाली चित्रकार प्रमिला परियारले भने पाटन दरबार क्षेत्रको दृश्य अलि फरक ढङ्गले उतारे । उनको बुझाइमा कलाकारले जे देख्छ, त्यही उतार्नु वास्तविक कला होइन । त्यो भइरहेको दृश्यमा मौलिकता थप्न सक्नु कला रहेको उनले बताए । 

आइतबारसम्म चल्ने ‘कलाशाला’ मा कलाकारले पशुपति मन्दिर वरिपरिको दृश्यसमेत चित्रमा उतार्ने छन् । यसरी सिर्जना भएका कलालाई आयोजकले प्रदर्शन गरी बिक्री गर्नेछ । बिक्री भएबापतको ५० प्रतिशत रकम एचआइभी सङ्क्रमित बालबालिकाको संस्था ‘बेबी लाइफ होम’लाई सहयोग गरिने आयोजक भट्टराईले बताए ।

कलाको व्यापारमा प्रोत्साहन दिन नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोषचन्द्र कुँवरले व्यापारी नै उदार भएर कलाको संरक्षण गर्नुपर्ने बताए । “कार्यशालामा कलाकारले बनाएका चित्र सकेसम्म बिक्री गराउने हेतु छ”, उनी भन्छन्, “व्यापारीले नै कलालाई माया नगरे कला र कलाकार सङ्कटमा पर्छन् ।” 

त्यस्तै, अर्का कला प्रेमी एवं साहित्यकार निर्मल थापाले नेपाली कलाको बजार विस्तार गर्न अन्तर्राष्ट्रियस्तरको सहकार्य हुन जरुरी रहेको सुनाए । उनका अनुसार कलाको विश्वव्यापीकरणले पर्यटनसमेत आकर्षण गर्न मद्दत गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?