मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सङ्गीत

‘कोशीको पानी यो जिन्दगानी’ भन्दै जब नेपथ्यले इलाम ततायो…

इलाम– पाँच हजार फिट उचाइमा धुपी सल्लाले घेरिएको जंगल, त्यसको छेवैबाट गुज्रिएको राजमार्ग र सुनसान फाँटमा शनिवार अचानक हजारौं दर्शक जम्मा भए ।

सदैव सहर बजारको भिडभाडमा उभिने नेपथ्यकाे समूहले यसरी पहिलोपटक आफूलाई प्रकृति र संगीतको समागममा दर्शक अघिल्तिर प्रस्तुत दिए । कन्सर्ट सुरुहुनु केहीघन्टा अगावैदेखि फिक्कलबाट सदरमुकाम इलाम बजारलाई जोड्ने राजमार्गमा चलहपहल सुरुभएको थियो ।

निकै परबाट आएका दर्शकहरु आफ्ना सवारी साधन राख्ने ठाउँ खोज्दै पर परसम्म फैलिएका देखिन्थे । चार बजे बेलुकी ढोका खुलेपछि उनीहरु अलि-अलि गर्दै करफोक विद्यामन्दिरको परिसरतर्फ ओर्लन शुरु गरे ।

तोकिएको समय अर्थात् बेलुकीको ठीक ६ बजे कन्सर्ट शुरु भएपछि मञ्चमा उक्लेका गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत कोशीको पानी यो जिन्दगानी’ बाट साँझको थालनी गरेका थिए ।

‘हाम्रोतिर नेपथ्य नआएको धेरै भइसकेकोले नजिकै पर्ने यो ठाउँमा साथीहरुसँग आयौं,’ कन्सर्टकै लागि दार्जिलिङदेखि आएका जितेन्द्र रसाइली आफ्नै शैलीमा भनिरहेका थिए, ‘बबाल रमाइलो लाग्यो ।’ फिक्कल, पञ्चकन्या र कन्याम गाविस जोडेर बनेको यस सूर्योदय नगरपालिकाको सिमाना भारतसँग जोडिएको छ ।

‘नेपथ्यको उपस्थितिलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्ने अवसरका रुपमा पनि लिएका छौं,’ नगरप्रमुख रणबहादुर राइले भने, ‘चियाको निम्ति प्रसिद्ध यस स्थानलाई अब पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पनि यस्ता कार्यक्रमले मद्दत गर्ने विश्वास छ ।’

कूल भू–भागमध्ये ६० प्रतिशतभन्दा बढी चियाबगानले ओगटेको यो नगरपालिकाले वर्षेनी ५० लाख किलोभन्दा बढी चिया उत्पादन गरेर यहाका माटो हावापानीको स्वाद संसारभरलाई बेच्नेगरेको छ ।

देशमै सबैभन्दा पहिले सूर्योदय देखिने श्रीअन्तुदेखि लिएर सूर्यास्तका मनोरम दृश्य देखिने उच्च भू-भागका रमाइला चियाबारी र धुपी सल्लाका जंगलहरु यस भेगमा जताततै पाइन्छन् । पछिल्लो समय सुविधाजनक होटलहरुले भरिभराउ यो स्थान अब व्यापक स्तरमा पर्यटकहरुलाई निम्त्याउन तम्तयार छ ।

कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गरेः ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थेँ ।’ अमृतले तमाम दर्शकहरुलाई नेपालमा जताततै रमाइला पर्यटकीय स्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आव्हान पनि गरे ।

यसपालाको कन्सर्टमा सँधै दोहोरिने नेपथ्यका सदाबहार हिट गीतहरु लगायत भर्खरै रिलिजभएको पचासै वर्षमा जुग कहाँ पुग्यो नि’  पनि प्रस्तुत गरिएको थियो । युवायुवतीको बाहुल्यता रहेको भीडमा दर्शकहरुबीच विविधता पनि उत्तिकै देखिन्थ्यो ।

राजधानी काठमाडौंको सञ्चारकर्ममा धेरै वर्ष बिताएका लेखक केदार शर्मा पछिल्लो समय करफोकस्थित जन्मथलोमै आएर बसोबास गर्न थालेका छन् । शनिबार घर छेवैको मैदानमा आयोजित नेपथ्य कन्सर्टमा उनी पनि भेटिए ।

‘धेरै पहिलेदेखिको चिनजान भएता पनि नेपथ्य समूहको कन्सर्ट हेर्ने अवसर मलाइ बल्ल आफ्नै आँगनमा जुरेको छ,’ शर्मा भनिरहेका थिए, ‘अमृतजीको उर्जा हामी सबै दर्शकहरुमा विस्तारहुँदा गज्जब रमाइलो लाग्दो रहेछ ।’ इलामको गढीथुम्कामा निर्माणाधिन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’को प्रस्तुति थियो ।

‘कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए,’ आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, ‘यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुशी लागेको छ ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । नेपथ्यको यसै महिनाको अन्त्यमा नयाँ वर्षको अघिल्लो रात बिर्तामोडमा प्रस्तुत हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?