काठमाडौँ– अमेरिकन समीक्षक हेरोल्ड ब्लूम भन्छन्– साहित्य सिर्जनाले मानव कल्पनालाई विश्वसँग जोड्ने काम गर्छ । उनी यसलाई जीवनको दर्शन, व्याख्या र जीवनलाई नै बुझ्ने तौरतरिकाको रुपमा हेर्छन् ।
हेरोल्ड र कवि ईश्वर थोकरको परिभाषामा साहित्यको अर्थमा थोरबहुत समानता छ । ईश्वरका लागि साहित्य जीवन हो । यसैबाट उनले जिउन सिकेका छन् र जिउनुको अर्थ भेट्टाएका छन् ।
उनी जे देख्छन्, जे भोग्छन् र जे मनमा लाग्छ, त्यही लेखेर साहित्यको ढाँचामा ढाल्छन् । अझै प्रस्ट्याउँदा उनी आफैंमाथि आफ्नो लागि लेख्छन् र लेखनको स्वाद मीठो लागेमा मात्र पाठकलाई पस्कन्छन् ।
त्यसैले त उनी साहित्यको भूमिमा नितान्त भिन्न छन् ।
साहित्य लेखन कुनै लेखकका निजी धारणा र भावनाहरु हुन् । लेखनमा समाज वा व्यक्ति आउनु लेखकको कल्पनामा भर पर्छन् । ईश्वरको लेखनमा कल्पनाभन्दा यथार्थता नजिक छ । यथार्थमा टेकेर उनी पाठकसमक्ष स्वयं नै उपस्थित हुन्छन् र जीवन एव्ं जगतबीचको सम्बन्धलाई सहज भएर खुलाउँछन् ।
काभ्रे तिमाल मेचे, मुक्पाका ईश्वर ६० को दशकदेखि साहित्य लेखनमा सक्रिय छन् । पछिल्लो समय कविको छवि बनाएका उनी संस्मरण लेखक समेत हुन् । नेपाली भाषासँगै तामाङ मातृभाषा लेखनमा समेत उनी त्यतिकै प्रखर छन् ।
मूलधारको साहित्यसँगै आफ्नो मातृभाषा लेखनलाई सँगसँगै डोर्याइरहेका उनी लेखनकै माध्यममा आफ्नो मातृभाषालाई जोगाउनुपर्छ भन्ने दौडमा छन् । वि.सं. २०६२ सालमा अध्ययनकै क्रममा ‘छार गोङ्मा’ तामाङ मासिक पत्रिकामा ‘ङा प्राङ्बाला कोला’ शीर्षकको तामाङ भाषाको कविता छपाएर उनी साहित्यमा प्रवेश गरे ।
विशेषत: आफ्नै भोगाइ संस्मरण र त्यसलाई छोटो र सरल भाषामा कवितामार्फत् व्यक्त गर्ने उनको शैलीलाई पाठकले रुचाएका छन् । उनको जीवन र भोगाइमा जो आए र जसले जसरी छाप छोडेर गए, तिनलाई ईश्वरले उनको सिर्जना बनाएका छन् ।
उनका स्मरण, उनका जीवनका मीठा पलहरु, उनका प्रिय मान्छेहरु बनेर नै ‘पिङ्गाई(२०६८)’ गजल सङ्ग्रह, ‘प्लिक्सी(२०६९)’ कविता सङ्ग्रह, ‘नोरी(२०७४)’ कविता सङ्ग्रह, ‘वाला स्विटर(२०७५)’ संस्मरण सङ्ग्रह, ‘सिरिया(२०७५)’ कविता सङ्ग्रह, ‘ल्हुइला गोङमा(२०७६)’ संस्मरण सङ्ग्रह, ‘लीला(२०२१)’ शृंखलाबद्ध कविता सङ्ग्रह लगायतका सिर्जनाहरु जन्मेका छन् ।
‘मैले भोगेको कुरा र मेरो जीवन नै मेरो लेखनमा छ,’ उनी भन्छन्, ‘लेखनले नै म बाँचिरहेको छु, लेखन नै मेरो जीवन हो ।’
सिर्जनालाई सारथि मान्ने उनी यसको आयु कति हुन्छ भनेर एकिन साथ भन्न सक्ने पक्षमा छैनन् । पाठकका नजरमा उनको सिर्जना बाँचुन् या नबाँचुन्, उनी भने यसैमा बाँचिरहेका छन् । यही नै उनको लागि ईश्वर भएर बाँच्नुको ताकत हो ।
मानसिक वार्डमा उब्जेको ईश्वरको सिर्जना
काभ्रे तिमालमा २०४४ साल मंसिर ४ गते जेठो छोरोको रुपमा अक्कल लामा (ईश्वर) को जन्म भयो । उनीभन्दा मुनि ६ जना भाइहरु र दुई जना बहिनीहरु छन् ।
जेठो छोरा भएकै कारण बुवासँग उनी सानैमा भक्तपुर न्यातपोल नगरमा आए । भक्तपुरको कला सम्पदा र नेवारी संस्कार हेर्दै हुर्किएका उनी त्यही परिवेशमा कला अनुरागी भए ।
उनीसँगै खेल्ने उनको दौतरी भने उनी भन्दा दुई वर्ष कान्छी काकीकी छोरी बहिनी प्लिक्सी थिइन् । अचानक प्लिक्सीले उनलाई सधैंका लागि संसारबाट छोडेर गइन् ।
त्यसपछि एक्लिएका ईश्वरका लागि आफ्नो भन्नु कोही नभएको महसुस भयो । उनी एक्लै रोए, विरक्तिए र पीडामा छटपट्टिए । उनको बाल मस्तिष्कमा विचलन आयो र १३ वर्षकै उमरमा उनी २०५८ मा अनामनगरस्थित मानसिक वार्डमा पुगे ।
तीन महिनाको बसाइँमा उनले नर्सहरुबाट धेरै माया पाए । त्यही मायाको छहारीमा उनले ‘मलाई खाँचो छ’ विषयकेन्द्रित कविता बनाएर सबैलाई सुनाएको उनी स्मरण गर्छन् ।
उनी स्मरण गर्छन्, ‘सबै बिरामीहरुमध्ये म सबैभन्दा सानो थिएँ, सबैले माया गर्नुहुन्थ्यो, सबैले केही न केही सुनाउँदा मैले चाहीँ कविता लेखेर सुनाएको थिएँ, मानसिक वार्ड नै मेरो पहिलो साहित्यिक मञ्च हो ।’
अक्कल लामा यसरी बने ईश्वर थोकर
साहित्यिक फाँटमा चिनिएका ईश्वरको परिचय पारिवारिक माहोलमा अक्कल हो । बुवा, आमा र उनको गाउँको लागि उनी अक्कल लामा हुन् । अक्कलबाट ईश्वर हुन पनि उनलाई जीवनको भोगाइले नै अवसर जुटायो ।
मानसिक वार्डबाट तन्दुरुस्त भएर गाउँ पुगेका उनले स्कुल पढाइ उतै सकाए । उनका लागि उनी ठिक थिए, र पनि गाउँको परिवेशले उनलाई मानसिक रोगी बनाइरह्यो । गाउँ र परिवारको आँखामा उनी कहिल्यै निको नहुने मानसिक रोगी बनेका थिए ।
उनको मानसिक सन्तुलनमाथि शंकाको नजरले हेरिरह्यो । उनले ती सबैलाई भोगिरहे । २०६१ सालमा सिन्धुलीबाट एस.एल.सी.सकाएपछि उनी फेरि भक्तपुर नै फर्किए । उच्च शिक्षाको अध्यनन र साहित्यको सिर्जनाको दौडकै क्रममा फेरि उनी २०६४ सालमा मानसिक वार्डमा भर्ना हुन पुगे । ६ महिनाको बसाइँमा उनले त्यहाँ झनै मानसिक तथा शारीरिक यातना भोगे ।
मानसिक रोगीमाथि समाजले हेर्ने दृष्टिकोण देखेर उनी झनै सिर्जनशील बने र आफ्नो एक्लोपनालाई सिर्जनामा उतार्ने काम गरे । ६ महिनाको अन्तिम बसाइँमा अस्पतालबाट बुवासँग बाहिरिँदै गर्दा उनलाई माया गर्ने एकजना कुसुम सिस्टरले उनलाई उपहार स्वरुप कागजमा केही लेखेर उपहार दिइन् ।
‘म हस्पिटलबाट बुवासँग निस्कनै लाग्दा कुसुम सिस्टरले मलाई तिम्रो लागि उपहार भनेर हातमा सानो कागज दिनुभयो, त्यसलाई मैले तुरुन्तै खोल्न सकिनँ, पछि मात्र खोलेर हेरेँ,’ उनी सम्झन्छन् ।
पत्रमा उनलाई ‘ईश्वर’ नाम उपहारस्वरुप दिइएको थियो । यही नाममा उनको सिर्जनायात्रा अगाडि बढोस् भन्ने कुसुम सिस्टरको मनोकांक्षा थियो ।
अस्पताल बसाइपछि पनि दुई वर्ष लगातार उनले ‘अक्कल’ भएर लेखे । २०६६ सालमा ‘चारु मासिक’मा उनले न्यातपोल दवु’ शीर्षक कवितामा ईश्वर थोकर नाम न्वारन गरे । त्यसपछि उनी निरन्तर यही नाममा सिर्जना गरिरहेका छन् ।
उनका कृतिहरु यही नाममै जन्मिए । कुसुम सिस्टरबाट उपहार पाएको उनको नामले चर्चा पाइरहँदा उपहार दिने मान्छे नै कता छिन्, उनलाई जानकार छैन । कुसुमबाट पाइएको नाम उनलाई फापेको छ । कुसुमले पनि यही नाम सुनेको हुनुपर्छ भन्ने उनको मनको विश्वास छ ।
सिर्जना र लेखनका लागि ईश्वरलाई केही सम्बन्ध, केही भोगाइ र केही एक्लोपनाको क्षणहरु नै काफी छन् ।
उनी एक्लै मन्दिर र घाटहरुमा निदाएका छन्, पुस–माघको ठण्डीमा एकसरो कपडामा उनले खुल्ला आकाश हेरेर रात कटाएका छन् । ती सबै उनका लागि लेखनका खुराक बनेका छन् ।
जीवन भोगाइ र लेखनकै क्रममा उनको जीवनमा सिस्टर नोरी भूजु, अमेरिकन कवि डेबिट अस्टेल युयुत्सु, विकेश कविन जस्ता मान्छेहरु आए ।
तीमध्ये सिस्टर नोरीलाई उनले लेखेका छन् भने अस्टेल र विकेशले उनका बारेमा लेख्ने जमर्को गरेका छन् ।
‘पिङ्गाई’, ‘लीला’ जस्ता महिला पात्रहरु उनको जीवनका लागि अमिट छापहरु हुन् । जसले उनको कविको छविलाई अझै उचाइमा पुर्याएको छ । सानोमा उनले पाँच दिन मात्र आमाको दूध चुस्न पाए ।
त्यसपछि बाँच्ने संघर्षमै उनले अरू आमाहरुको दूध चुसे । त्यही दूधको प्रभावले महिलाप्रेमी सिर्जना जन्मिएको उनी केही भावुक हुँदै सुनाउँछन् ।
साहित्यको माहोललाई नजरअन्दाज लगाउँदा अहिले लेख्नु मात्र होइन बजारमा पुग्न सक्ने नै स्रष्टा हुन् । बजार र व्यापार अहिलेको साहित्यका अर्को पाटो हो । ईश्वरको बुझाइमा बजारमुखी हुनु उनको विशेषता होइन ।
उनी भन्छन्, ‘बजारमा मेरो साहित्य बिकाउन म व्यापारी होइन, साहित्यकार हुँ । मलाई मेरो सिर्जना बिकाउन होइन, आफैंलाई बुझाउन लेख्नुछ ।’
उनलाई बजारको प्रतिस्पर्धामा दौडनु छैन । भन्छन्, ‘मलाई लेखेर कहीँ पुग्नु छैन, बस् ! यसैमा बाँचिरहनु छ, सिर्जनाले नै म बाँचेको मान्छे हुँ ।’
साहित्यमा खस नेपाली भाषी लेखकहरुको रजगज छ । मातृभाषी लेखकहरु ओझेल परिरहेको अहिलेको सन्दर्भमा पनि ईश्वर मातृभाषी लेखनमै जोड दिइरहेका छन् । उनी हाल नेपाली राम्रा भनिएका स्रष्टाका सिर्जनाहरु तामाङ भाषामा अनुवाद गर्ने कार्यमा अभ्यस्त छन् ।
यसलाई निकट भविष्यमै पुस्तकको स्वरुपमा ल्याउने उनको योजना छ । उनलाई लाग्छ, आमाको भाषा बोक्नेहरु कहिल्यै हराउँदैनन् । जो इमान्दार भएर लेख्छन्, त्यही नै साहित्यको फाँटमा टिक्छन् ।
विश्व प्रशिद्ध कवि रवीन्द्रनाथ टैगोरले बंगाली भाषामै ‘गीताञ्जली’लेखेर नोबेल पुरस्कार जिते । ईश्वरलाई यही तहमा पुग्नु छ भन्ने लोभ पनि छैन ।
उनी सौम्य स्वरमा सुनाउँछन्, ‘मलाई लेखेर कहीँकतै पुग्नु छैन । म मै भएर बाँच्न नै लेखिरहेको छु, म आफ्नो लागि नै कवि भएर मर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया