मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनिवार विशेष

‘घुर घुर नबास घुघुती चैतमा, मुइ याद आउँछ आफ्नो माइतमा’

चैत लागेपछि चेलीबेटी लिन जाने सुदूरपश्चिमको अनौठो परम्परा

काठमाण्डौँ– ‘घुर घुर नबास घुघुती चैतमा,

  मुइ याद आउँछ आफ्नो माइतमा ।’

विवाहपछि भौतिक रुपमा टाढा भएका सुदूरपश्चिमका विवाहित चेलीहरु चैत महिना लागेसँगै माइती भेटन आउने परम्परा छ । चेली माइती जाने र आफ्ना प्रिय बाबुआमालाई भेट्ने आशासहितको मर्मलाई गीतमार्फत प्रस्तुत गर्ने चलन १३ औँ शताब्दीदेखि चल्दै आएको छ सुदूरपश्चिममा ।

चैतको महिना, गर्मी मौसमको शुरुवात, कोइली र न्याउलीको आवाजसँगै प्रकृतिमा पलाउने नयाँ पालुवाहरुले पश्चिमेली विवाहित चेलीबेटीको मन उदास बनाउँछ । त्यही मनलाई फुरुङ्ग बनाउन यो महिना शुरु भएसँगै उनीहरु माइतीमा भेट गर्न जान्छन् । जसलाई सुदूरपश्चिम प्रदेशका डोटेली समुदायमा ‘चैतलो भेटौलो’ पर्वका रुपमा सदिऔंदेखि मनाउँदै आएका छन् ।

पर्वको परम्परालाई नियाल्दा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा बसोबास गर्ने र त्यहाँबाट अन्यत्र बसाइसराइँ गरी गएका डोटेली समुदायसँगै भारतको कुमाउँतिर पनि चैत्र महिनाभर यो पर्व मनाउने गरेको पाइन्छ ।

सुदूरपश्चिममा भौगोलिक विकटतासँगै सञ्चार तथा यातायातका साधनको समेत अभावले केही समयअघिसम्म विवाहित चेलीबेटीले माइतीसँग सहजै भेटघाट गर्न सकिने अवस्था थिएन । कामकाजबाट फुर्सदपछि उदास भएका चेलीबेटीलाई चैत्र महिनामा एक–दुई दिन भए पनि हालखबर बुझ्नलाई सुदूरपश्चिममा भेटौलो परम्पराको शूरुवात भएको सुदूरपश्चिम स्थानीयबासीको भनाइ छ ।

डोटेली शब्द ‘भिटौलो’को नेपाली अर्थ भेट्नुसँग सम्बन्धित हुन्छ भने सुदूरपश्चिमको भाषामा भने खानाको विशेष परिकारसहित भेट्नु भन्ने बुझिन्छ ।

सुदूरपश्चिमका डोटी, बझाङ, अछाम र बाजुरामा माघ महिनामा विवाहित चेली भेट्ने तर दार्चुला, बैतडी र डडेल्धुरामा भने चैत्र महिनाभर चैतलो भेटौलो पर्व मनाउने गरिएको स्थानीय संस्कृतिविद् तथा मानसखण्डका अध्येता आचार्य घनश्याम लेखकले बताउँछन् ।

उनका अनुसार ‘भिटौलो’ संस्कृति मानसखण्ड क्षेत्रको अनुपम संस्कृति हो ।

‘भिटौलो भनेको खास गरेर दार्चुला, बैतडी र डडेल्धुरा तथा भारतको कुमाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइतीले भेट्ने परम्परा हो’ लेखकले जोयनेपालसँगको कुराकानीका क्रममा भने, ‘चैत महिना अलि सुख्खा हुने भएकोले यसबेला चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन चलेको हो ।’

वसन्त ऋतुमा माइती पक्षको सम्झना आउने र यो बेला माइती पुगेमा नियास्रो मेटिने भएकाले परापूर्वकालदेखि यो संस्कृति १३ औं शताब्दीदेखि चल्दै आएको बैतडीका शिक्षक रन्जितसिंह कार्कीले बताउँछन् ।

उनी भन्छन्, ‘वसन्त ऋतुमा पालुवा पलाउने र न्याउली तथा कोइलीको कुहुकुहु सुनिने बेला पनि हो, यही कारणले विवाह भएका चेलीहरूलाई माइतीको सम्झना हुने गर्दछ । माइती पक्षको न्यास्रो मेटाउन भिटौला जाने चलन छ ।’

यस्तै चैत महिना लागेसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा घरघरै पुगेर भेटौलोसँगै चैतालो, हुडकेलो गाउने चलन पनि छ ।

स्थानीय सस्कृतिविद् तथा स्थानिय गौरादेवी कार्कीले १३ औं शताब्दीतिरको नागवंशी राजा कालीनागको कथासँग यो परम्परा जोडिएको बताउँछिन् ।

उनले सुन्दै आएको कथन अनुसार नयाँ लुगा तथा मीठा खानेकुरासहित दिदी भेट्न नागराजा काली नागको चरणमा पुग्छन् । भाइलाई देखेर दुवै जना निकै भावुक हुन्छन् । भाइले बिर्सेर ढोग नगरेकोमा काली नागकी बहिनी भागानन्दले यो मान्छे भाउजूको भाइ नभएर पूर्व प्रेमी भएको शंका दाइलाई सुनाएपछि कालीनागले आक्रमण गर्छन् ।

भाइको मृत्यु देखेर दिदीले पनि आत्महत्या गर्छिन् । यता आफूले गल्ती गरेको महसूस गरी काली नाग पनि आत्महत्या गरेकाले दाजुबहिनीको पवित्र प्रेमको प्रतीकका रुपमा ‘चैतलो भिटौलो’ परम्परा शुरु भएको थियो ।

सुदूरपश्चिमममा अहिले पनि यही सन्दर्भलाई जोडेर बनाइएको डोटेली भाषाको गीतको एक हरफ कार्की सुनाउँछिन् ।

‘इचली व कनालीका पलुइ झान्ना तिता,

भलो गरे भागा नन्द दुई घर बनाइ रित्ता ।’

भाइबहिनीको प्रेम तथा सद्भावको पर्वका रुपमा रहेको चैतलो भेटौलो पर्वमा विवाह भइसकेकी चेलीबेटीलाई माइतीले कोसेली लगेर भेट्न जानैपर्ने पनि उनी बताउँछिन् ।

‘चैतको महिनामा विवाहित चेलीबेटीलाई माइतीले कोसेली लगेर भेट्न जानैपर्छ, कुनै कारणले आफूले जान नपाए नजिकका नातेदारहरुलाई भए पनि भेट्न पठाउनुपर्छ ।,’ कार्कीले भनिन् ।

भेटौलो चैत महिनामा छोरीचेलीका लागि माइतीले पठाइदिने विशेष कोसेली हो, जसमा घिउपाको वा तेलपाको (घिउमा वा तेलमा पकाएको खानाको परिकार), खीर, मालपुवा, हलुवा, गुड (उखु पेलेर त्यसको रसवाट बनाइने गुलियो परिकार), मिस्री, फलफूल तथा माइतीको सामर्थ्यअनुसार कपडा दिइने संस्कृतविद् लेखक बताउँछन् ।

तर, पछिल्लो समय भने शहर बजारमा पाइने फलफूल, मीठाई, वस्त्र आदिको प्रयोग गर्ने गरिएको उनी बताउँछिन् ।

सुदूरपश्चिम प्रदेश भौगोलिक तथा सांस्कृतिक रुपमा फराकिलो रहेको र यहाँका मौलिक परम्परा तथा सस्ंकृतिले समाजिक सद्भाव तथा छोराछोरीबीचको विभेद समेत कम गर्नमा भूमिका खेलेको बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीय चन्द्रदेव जोशी बताउँछन् ।

‘नेपालको अन्य क्षेत्रमा बसोबास गर्ने मानिसहरूले सुदूरपश्चिम भन्ने बित्तिकै धनगढी वा महेन्द्रनगरलाई मात्र सम्झन्छन्, वास्तवमा सुदुरपश्चिम धेरै विशाल र फराकिलो छ, यो नेपाली धर्म, संस्कृतिको केन्द्र नै हो’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?