शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि गर्न जरुरी हुने मुटुरोग विशेषज्ञहरू बताउँछन् ।
व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ भने व्यायाम नगर्ने व्यक्तिलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।
यस्ता छन् फाइदाहरू
मुटुको स्वास्थ्यमा सुधार
नियमित रूपमा व्यायाम गर्ने व्यक्तिको शरीरको हरेक अङ्गको गतिविधि राम्रो हुन्छ । यस्तोमा मुटुको गतिविधि राम्रो हुने भयो र मुटु स्वास्थ्यमा सुधार हुन्छ । नियमित व्यायाम गर्ने व्यक्तिको तौल नियन्त्रणमा हुन्छ ।
तौल नियन्त्रण हुँदा कोलेस्ट्रोल, सुगर र प्रेसर बढ्ने सम्भावना हुँदैन । शारीरिक तौल, कोलेस्ट्रोल, सुगर र प्रेसर नियन्त्रणमा भएपछि मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।
नियमित व्यायाम नगर्ने व्यक्तिको तौल बढ्छ । तौल बढ्ने बित्तिकै विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । तौल बढेपछि कोलेस्ट्रोल, प्रेसर र सुगर बढ्न जान्छ । प्रेसर, कोलेस्ट्रोल र सुगर बढेपछि मुटुको रोग निम्तिने सम्भावना पनि बढ्छ ।
फोक्सोको क्षमता बढ्छ
दौड, पौडी जस्ता एरोबिक्स व्यायाम फोक्सोका लागि निकै फाइदाजनक हुन्छ । व्यायाम गर्दा हाम्रो शरीरलाई अक्सिजन बढी चाहिन्छ । जसका लागि हाम्रो फोक्सोले बढी काम गर्नुपर्छ, जसले गर्दा फोक्सोको क्षमता बढ्छ ।
फोक्सोमा हुने क्षतिको एउटा कारण शारीरिक निष्क्रियता हो । जो व्यक्तिहरू व्यायाम गर्दैनन् अर्थात् निष्क्रिय बस्छन् उनीहरूमा फोक्सोको समस्या निम्तिने समस्या बढी हुन्छ ।
कलेजोको समस्याबाट बचाउँछ
नियमित व्यायाम नगर्नुका साथै अस्वस्थकर खानपान शैलीले मोटोपनको समस्या आउँछ । यही मोटोपन तथा अस्वस्थकर खानाका कारण फ्याटी लिभर (कलेजोमा चिल्लो जम्ने समस्या देखिने गर्छ ।
जो व्यक्ति नियमित व्यायाम गर्छ, स्वस्थकर खानपान अपनाउँछ, उसमा मोटोपनको समस्या हुँदैन र फ्याटी लिभरको समस्या पनि कम हुन्छ ।
फ्याटी लिभरको समस्या देखिएको व्यक्तिले पनि दैनिक व्यायाम गर्न थालेमा शरीरको बोसो (मोटोपन) घटाउन सक्छन् ।
हड्डीलाई बलियो र मजबुत बनाउँछ
हड्डीलाई बलियो र मजबुत बनाउन पनि व्यायामको महत्त्वपूर्ण भूमिका हुन्छ । जति धेरै शारीरिक व्यायाम गर्याे, हड्डी उति नै चलायमान हुने र हड्डीलाई जोड्ने जोर्नीमा हुने घर्षण कम गराउने रसिलो पदार्थको उत्पादन पनि राम्रो हुन्छ ।
यसले समग्रमा हड्डी र जोर्नीलाई मजबुत प्रदान गर्छ । व्यायाम नगर्नेहरूमा हड्डीलाई जोड्ने तरल पदार्थको कमी हुन्छ भने हड्डी क्रमशः कमजोर हुन्छ । हड्डी कमजोर हुँदा सामान्य चोटले पनि हात–खुट्टा वा हड्डी भाँचिने हुन्छ ।
मिर्गौलाको समस्याबाट पनि बचाउँछ
नियमित रूपमा व्यायाम गर्दा शरीरको सबै अङ्गले राम्ररी काम गर्छन् । व्यायाम गर्दा मुटुको धड्कनले पनि तीव्र गतिमा काम गर्छ । यसले मिर्गौलालाई स्वस्थ बनाउँछ र यसको काम छिटो बनाउँछ ।
यसबाहेक नियमित व्यायामले रगतमा रहेको बोसो, कोलेस्ट्रोल र ट्राइग्लाइसेराइड्सलाई घटाउन मद्दत गर्छ, जसले मिर्गौलालाई स्वस्थ राख्न मद्दत गर्छ ।
व्यायाम नगर्ने व्यक्तिमा मोटोपन निम्तिने भएकाले प्रेसर र सुगरको समस्या पनि हुने जोखिम बढ्न जान्छ । प्रेसर र सुगर अनियन्त्रित हुँदा मिर्गौला खराब हुने सम्भावना समेत बढ्छ ।
तनाव कम गर्छ
नियमित व्यायामले मस्तिष्कको कार्यमा पनि सुधार गर्छ । व्यायाम गर्दा मस्तिष्क कोशिकाहरू अधिक उत्पादन हुन्छ । व्यायामको कारण प्राप्त हुने ऊर्जाको कारण ध्यान केन्द्रित गर्न मद्दत मिल्छ ।
नियमित व्यायाम गर्दा यसले तनाव र उदासीसँग लड्ने एन्डोर्फिन हर्मोन निष्कासन गर्छ । व्यायाम नगर्ने व्यक्तिको दिनचर्या राम्रो हुँदैन । जसले गर्दा निद्रा बिग्रन्छ ।
निद्रा बिग्रिने बित्तिकै शरीरमा हर्मोनको लेभल गडबडी हुन गई तनाव सिर्जना हुन्छ । लामो समय तनाव हुँदा शारीरिक समस्या निम्तिन्छ ।
वृद्धावस्थामा पनि सक्रिय राख्छ
नियमित व्यायाम गर्ने व्यक्ति शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छन् । उनीहरूमा केही रोग नहुँदा आयु पनि बढ्छ । व्यायामले हड्डी, मांसपेशी तथा जोर्नी बलियो तथा लचिलो राख्छ र ढल्किँदो उमेरमा पनि जवान देखिन्छन् ।
७० वर्षपछि बिर्सने रोग अल्जाइमर हुने सम्भावना २५ प्रतिशतलाई हुन्छ । तर व्यायाम गर्नेहरूमा यो रोग लाग्ने सम्भावना समेत कम हुन्छ ।
उमेर छँदै व्यायाम नगर्ने व्यक्तिहरूमा वृद्धावस्थामा जोर्नी कमजोर हुने दुख्ने, मधुमेह, प्रेसर लगायतका रोगको जोखिम बढ्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया