मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

मौसम परिवर्तन हुँदा एकाएक बिरामीको सङ्ख्या बढ्नुको कारण के हो?

काठमाडौँ– मौसम परिवर्तन प्राकृतिक पक्रिया हो । यतिबेला जाडोयाम सकिएर गर्मी महिना शुरु हुँदैछ । यो समयमा न जाडो छ न गर्मी हुने भएकाले मौसम त राम्रो हुन्छ तर मौसमी फ्लूका बिरामीहरू पनि बढ्ने गर्छन् ।

जाडो सकिने र गर्मी बढ्दै गरेको अवस्थामा अहिले स्वास्थ्यमा धेरै समस्याहरु देखिन थाल्छ । हल्का जाडो अझै रहे पनि अबको केही समयमा नै गर्मी बढ्दै जाने मौसमविदहरू बताउँछन् । यस्तो मौसम हामी जसलाई मौसम बद्ली हुने भनेर भनिरहेका हुन्छौँ ।

सरुवा रोगहरुले सताउने भएकाले यो समयमा स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । साथै मौसम परिवर्तन हुने समयमा शरीरमा आलस्यता पनि पैदा हुन्छ ।

खासगरी बालबालिकाहरुलाई ज्वरो आउने र इन्फेक्सन हुने सम्भावना समेत बढेर जान्छ । तर केही कुरामा ध्यान दिन सके यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । मौसम परिवर्तन हुँदा स्वास्थ्य संयमता अपानाउनु पर्दछ भन्ने विषयमा सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोलासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

अरुका तुलनामा मौसम परिवर्तन हुँदा बढी बिरामी किन पर्छन्?

यो समय भनेको सरुवा रोगहरुले बढी सङ्क्रमण गर्ने समय हो । सरुवा रुघाखोकीका लाग्ने समय पनि हो । र अर्को कुरा भनेको यही मौसमबाट बर्षायाम शुरु हुन्छ । र, पानीका मुहानहरुमा दूषित पानी मिसिने हुँदा उक्त पानीको सेवन गर्दा विभिन्न रोग जस्तै झाडापखाला, रुघाखोकी, हेपाटाइटिस जस्ता रोगहरु लाग्ने गर्दछ । अर्को भनेको दूषित र बासी खाना खाँदा टाइफाइड र रोगहरू लाग्ने गर्छ ।

यस्तो समयमा हामीले कस्तो खानपान गर्नुपर्दछ?

यो समय भनेको पानीबाट सर्ने रोगहरुको सिजन हो । यस्तो समयमा पहिलो कुरा भनेको पिउने पानी सफा र सुरक्षित बनाउनुपर्दछ । सकेसम्म पानी उमालेर मात्रै पिउने गर्नुपर्छ । बासी र सडेगलेका खानेकुरा खानु हुँदैन । खानेकुरा खानुपूर्व राम्ररी सफा पानीले हात धुनुपर्छ ।

जाडो सकिएर गर्मी लाग्दा धेरै जनालाई रुघाखोकी र भाइरल बिरामीले सताउने कारण के होला?

तापक्रममा परिवर्तन आएपछि अनेक खालका भाइरसहरू उब्जिन्छन् । अनि यिनै भाइरसले मानिसलाई बिरामी बनाउँछन् । इन्फ्लुएन्जा एकदम छिटो फैलिन्छ र मानिसलाई रुघाखोकी तथा बिमारी बनाउँछ । अझ रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस यस्ता रोगको छिट्टै शिकार हुन पुग्छन् । बहिरी तापक्रम बदलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैं घट्दै जान्छ । यसैले मानिसलाई छिट्टो बिरामी बनाउँछ । मौसम परिवर्तन हुँदा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकावट हुने समस्या आइलाग्छन् ।

यस्ता समस्याहरुबाट बच्न के गर्ने ?

यस्ता समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा भिटामिन सी र डी को मात्रा बढाउनुपर्छ भने फलफूल तथा तरकारी प्रशस्त मात्रामा खानुपर्छ । त्यस्तै स्वास्थ्यका लागि पौष्टिक भोजन, सरसफाइ र नियमित कसरतमा ध्यान दिइएन भने मौसम बदलिने बित्तिकै बिरामी पर्ने सम्भावना हुन्छ ।

तापक्रम बढ्न थालेसँगै ब्याक्टेरिया र भाइरस फैलिन अनुकूल मौसम हुने हुँदा पनि रोगहरुले च्याप्ने खतरा रहन्छ । यस्तो बेलामा शरीरमा शक्ति बढाइरहन मौसमी फलफूल सेवन गर्ने, समय समयमा खाना खाने र रसिलो फलहरु बढी खाने गर्नुपर्छ । अहिले धेरै जाडो र धेरै गर्मीबाट पनि बच्नुपर्ने हुन्छ । त्यसैले धेरै तातो पानी र चिसो पानी नपिउनु नै उपयुक्त हुन्छ ।

अन्त्यमा, आम पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

मौसममा आउने परिवर्तनसँग डराउनुभन्दा थोरै सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ । शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउने खालका खानेकुरामा ध्यान दिए पनि धेरै फाइदा हुन्छ । यो मौसममा सुरक्षित रहन सफा र ताजा खानाका साथै शुद्व पिउने पानीमा विशेष ध्यान दिनुभयो भने रोगबाट टाढै रहनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?