मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उपत्यकाका ३२ महाविहारका एक सय २५ देवी देवताको दर्शन

ललितपुर– ललितपुरको नागबहालमा आउने आजबाट उपत्यकाका ३२ महाविहार (बहाःबही) हरुका एक सय २५ देवीदेवताको दर्शन एवम पूजा गर्न पाइने भएको छ ।

चापाँगाउँ, बुंङ्गमती, कीर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको एक स्थान प्रदर्शनी गर्ने र दर्शन गर्न पाउने यस्तो अवसर यो पाँच वर्षपछि जुरेको हो । पाँच वर्षको एकचोटी फागुण शुक्ल तृतीया र चौथीको दिन सम्यक महादान पर्व हुने परम्परा छ ।

सोही अनुरुप सम्यक महादान पर्वको मुख्य दिन चैत्र १ गते विहीबार बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म देवीदेवताको दर्शन तथा पुजाआजा गराउने कार्यक्रम रहेको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले जानकारी दिए ।

दिउँसो नागबहाल परिसरमा रहेको ढुङ्गेधारामा धाः बाजा र बाँसुरी बाजाको प्रदर्शन गरिने जनाइएको छ । समितिका अध्यक्ष बज्राचार्यका अनुसार दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमीशोधन पुजाका साथै दानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन बज्रयानी बौद्ध परम्परा अनुसार मौलिक पोशाकमा सजिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर आजु (जेष्ठ) आजुलाई पनि दान दिने गरिन्छ ।

सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत धानचामल, लड्डु पुरी र दक्षिणा दान दिइन्छ । यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ ।

यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । यही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको अध्ययेता लोकरत्न शाक्यले बताए । ‘सम्यक महादान लिच्छिविकालीन अमूर्त संस्कृति हो ।

सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको छ’ अध्येयता शाक्यले भने । सम्यक महादान पर्वको अघिल्लो दिन अर्थात् फागुण ३० गते बुधबार राति भने बढी रौनकता छाउने गर्दछ ।

राति १० बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनहरुको लावालस्कर, परम्परागत धा बाजाका साथ देवीदेवताहरुलाई खटमा राखेर, बोकेर नागबहाल पुर्‍याउने गरिन्छ । ‘बढी भीडभाड हुने, धाः बाजाको गुञ्जनसंगै पुरै माहौलले छोप्ने भनेको यही बेला हो’ अध्यक्ष बज्राचार्यले भने ।

नागबहालमा देवी देवता पुरयाउनु अघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिनेछ । त्यसपछि टंगलस्थित जेष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएको देवीदेवतालाई नागबहालमा क्रमबद्ध रुपमा देवीदेवताको विराजमान गराइने परम्परा रहेको छ ।

त्यस्तै सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रुपमा गौतम बुद्ध भन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रुपमा गौतम बुद्ध र भविष्यको बुद्धका रुपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ।सम्यक दानमा खीर,लाखामरी गरी मीठाईका विविध परिकार सामग्री,रोटी फलफूल दान दिने गरिन्छ ।

यसका लागि पम्परागत रुपमा गर्नुपर्ने विधि र प्रक्रियाहरु फागुण १ गतेदेखि शुरु भएको समितिका प्रचारप्रसार संयोजक विश्वन्तर शाक्यले जानकारी दिए । सम्यक महादान पर्व अगावै विभिन्न धार्मिक विधि र परम्पराहरु गर्नुपर्ने पनि प्रचारप्रसार संयोजक शाक्यको कथन रहेको छ ।

संयोजक शाक्यका अनुसार सो पर्वमा देवीदेवतालाई चढाउन रोटी पकाउने काम धार्मिक विधिपूर्वक फागुण २ गतेदेखि शुरु गरिएको थियो।फागुण ३ गते नागबहालमा प्रतिस्थापित बासुकी र चम्पक नागराजको प्राण प्रतिष्ठा निकालिएको थियो।

फागुण २४ गते योसि द्यः ठड्याउने तथा हलिपताका फहराइएको थियो भने फागुण २८ गते सम्यक महादानमा भाग लिन परम्परा अनुसार विभिन्न महाविहारमा गएर निमन्त्रणा गरिने छ ।सो पर्वका लागि पुजा व्यवस्थापन, अतिथि सत्कार, शान्ति सुरक्षा, आर्थिक, गरी १० वटा समिति गठन गरिएको छ।

ललितपुरमा ७ सय ७३ वर्षअघि ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सम्यक महादान पर्व निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।वि.सं १८६१ सम्म वर्षेनी भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच वर्षमा एकचोटी सञ्चालन हुँदै आएको छ।अब हुन लागिएको ५४ औं सम्यक महादान पर्व हो।

यस्तो छ किम्बदन्ती

सम्यक महादान पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसंग सम्बन्धित रहेको छ । यसपर्वको शुरुआतसंग एउटा किवदन्ती चर्चामा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो।

भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले। भलिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए।धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो । त्यस धन दान दिन दीपंकर बुद्धका प्रतिमाहरु, आर्यतारा आदि देवदेवीहरु र चैलक, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्य भिक्षु, वज्राचार्य इत्यादिहरुलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको थियो।

धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ। हिरण्यवर्ण महाविहारको बंशावलीमा उल्लेखित यस किवदन्तीको प्रमाणिक आधार नभए पनि यसले आफूमा भएको दान सम्पति दान दिने उद्देश्यले सम्यक महादान चलाईएको भने सन्देश दिन खोजेको बौद्ध विद्धानहरुको कथन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?