मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तर्राष्ट्रिय कला कार्यशाला हुँदै

काठमाडौँ– कलाको विस्तार र विकासका लागि अन्तर्राष्ट्रिय स्तरको कला कार्यशाला हुने भएको छ ।

कला, कलाकार, कला लेखक, कलाको बजार र समाजलाई एकैसाथ लैजाने हेतुले कार्यशाला एवं प्रदर्शनी गर्न लागेको कार्यशाला संयोजकका रुपमा रहेकी ‘आकार आर्ट सेन्टर’की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन् ।

बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा भट्टराईले कार्यशालाबारे जानकारी दिएकी हुन् । उनका अनुसार चैत्र २ गतेदेखि ५ गतेसम्म ‘कलाशाला’ शीर्षकमा गर्न लागेको कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान र युएईका १ सय २० जना कलाकारहरु सहभागी हुनेछन् ।

कार्यशाला उद्घाटन कार्यक्रम राजधानीको एयरपोर्टस्थित ‘होटेल एयरपोर्ट’ मा युरोपियन युनियन(ईयु)का राजदूत भेरोनिक लोरेन्जोको आतिथ्यमा चैत्र २ गते १ बजेदेखि शुरु हुनेछ । त्यस्तै ३ गते बिहान ८ बजे कलाकारहरुसँग पाटन दरवार क्षेत्रमा भ्रमण हुनेछ ।

त्यसपछि दिउँसो १ बजे कलाकारहरु नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा जानेछन् । त्यसपछि लगत्तै ‘होटेल एयरपोर्ट’ कला प्रदर्शनी हुने जनाइएको छ ।

४ गते भने पशुपतिनाथ दर्शन र भ्रमणसँगै एयरपोर्ट होटेलमै कला प्रदर्शनी र समापन समारोह हुनेछ । ५ गते कलाकारहरु आ–आफ्नो देश प्रस्थान गर्नेछन् ।

कार्यशालालाई ‘इन आर्ट वल्र्ड’को आयोजनामा आकार सेन्टर र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ले संयोजन गरेको हो ।

नेपालमा कला विस्तारकै लागि थुप्रै कार्यक्रमहरु भएपनि ‘कलाशाला’लाई फरक ढंगबाट लैजान खोजेको भट्टराईले बताइन् । ‘नेपालमा भएका कला कार्यक्रमहरुको आ–आफ्नै ग्रुपहरु छन् ।

चित्र, मूर्तिकला, प्रिन्ट कला, वाटर, एक्रेलिक जस्ता थुप्रै समूहहरु छुट्टाछुट्टै काम गरिरहेका छन्’, उनले भनिन्, ‘हाम्रोमा सबै धारलाई एकै ठाउँमा देख्न सक्नुहुन्छ । कला र कलाकार सबै ठाउँमा काम गर्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’

नेपालमा कलाको विधा र माध्यम अनुसार कलाकारहरु अलग समूहमा रहने परिपाटीले कलाको स्तर माथि नउठेको उनको बुझाइ छ । नौलो किसिमको कला कार्यशालाले कलाको अन्तर्राष्ट्रिय विस्तार र विकासमा सघाउ पुग्ने उनको विश्वास छ ।

कला मार्फत् नै कलाकार बाँच्नुपर्छ भन्ने ध्येयले ‘नेपाल जर्मन चेम्बरका अध्यक्ष सन्तोष कुँवर कलालाई व्यापार र बजारसम्म लैजाने पुलका रुपमा काम गरिरहेका छन् ।

उनले भने, ‘प्रत्येक कलाहरु व्यापारिक वर्गमा पुग्नुपर्छ । सिर्जनाले मात्र पेट पाल्न सकिँदैन । जब कला बजारमा पुग्छ, तबमात्र कला र कलाकार दिगो रहन सक्छ ।’

कार्यशालामा सिर्जना भएका कलाकृति बिक्री गरेर आएको ५० प्रतिशत रकम ‘सफलता एच.आई.भी. शिक्षा सदन’लाई प्रदान गरिनेछ । कार्यशालामा चित्र, मूर्ति, प्रिन्ट मेकिङ, डिजिटल आर्ट लगायतका विविध विधाहरु समेत समावेश हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?