मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यारिकेचर प्रदर्शनीमा उपेन्द्र सुब्बादेखि नारायण वाग्लेसम्म

काठमाडौँ– ‘नेपाली क्यारिकेचर २०८० प्रदर्शनी’मा लेखकहरु उपेन्द्र सुब्बादेखि नारायण वाग्लेसम्म सम्मका क्यारिकेचर प्रदर्शन गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा आइतवारबाट प्रदर्शनी’ शुरु गरिएको हो ।

अग्रज कार्टुनिस्ट मोहन श्याम महर्जन ‘खोकना’ ले उद्घाटन गरेको प्रदर्शनीमा सहभागी ३३ कलाकृतिहरूमा छनोट तथा मूल्याङ्कन गरी तीन जना कार्टुनिस्टका कलाकृतिहरुलाई प्रतियोगिताका लागि छनोट गरिएको थियो ।

प्रतियोगितामा अनुप गुरुङ, अनिशा भण्डारी र विश्व थापामगरलाई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कारको राशी प्रदान गरियो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले २०७४ सालदेखि यस प्रदर्शनी सञ्चालन भइरहेको बताए । कार्टुन/क्यारिकेचर कलालाई अझ विकास गर्न जरुरी रहेको बताउँदै यस किसिमको कार्यक्रमलाई व्यवस्थित र उत्कृष्ट बनाउन सबैबाट सहयोग हुनुपर्ने उनले सुनाए ।

कार्यक्रममा कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले ‘नेपाली क्यारिकेचर ः काठको ब्लकदेखि एआईसम्म’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले क्यारिकेचरको प्रारम्भिक कला, आधुनिक काल, प्रविधि र प्रवृत्ति, एआईः अवसर कि चुनौतीलगायतका पाटोको चर्चा गरे ।

‘काठको ब्लक प्रविधिदेखि अहिले एआईसम्मको यात्रामा नेपाली क्यारिकेचरले अनेक आयामहरु पार गरिसके पनि धेरैजसो नेपाली क्यारिकेचर कलाकारहरुमा चित्तबुझ्दो पारङ्गतता देखिएको छ । पारङ्गत कलाकारिताविना क्यारिकेचर कलाको सिर्जना गर्न सकिँदैन’ उनले भने ।

कार्यपत्रमाथि टिप्पणी गर्दै कलाकार रविन्द्र मानन्धरले क्यारिकेचरको इतिहासदेखि वर्तमानसम्मको पाटोलाई निकै सरल ढंगले प्रस्तुत गरेको बताए । उनले नेपालमा क्यारिकेचरको विकासमा अग्रजको योगदानलाई समेत कार्यपत्रमा संक्षिप्त रुपमै भए पनि राखिएको सुनाए ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले नेपालमा क्यारिकेचरलाई माथि उठाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । क्यारिकेचरले व्यावसायिकदेखि अन्य विविध क्षेत्रमा करिअर नै बनाउनसमेत सक्ने ठूलो सम्भावना रहेको धारणा राखे ।

अविन श्रेष्ठ, अकृन अधिकारी, अनिसा भण्डारी, अनुप गुरूङ, अर्पिता शाक्य, अशोकमान सिं लगायतको सहभागिता प्रदर्शनी चैत १ गतेसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?