मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुकुम्बासी बनेका दाता परिवारलाई घर बनाइदिने अभियान

झापा – विर्तामोड नगरपालिका–३ स्थित डोमालाल रङ्गशालालाई १४ बिघा जग्गादान गर्ने स्व डोमालाल राजवंशीका परिवार घरबारविहीन बनेपछि खेलप्रेमीले सहयोग जुटाएर दाता परिवारलाई घर बनाउने अभियान सुरु गरेका छन् ।

जग्गादाता स्व डोमालालका पत्नी र दुई छोरा गजेन्द्र र दीपेन्द्रको मृत्यु भइसकेको छ । हाल डोमालालकी एक छोरी ८५ वर्षीया सम्पता राजवंशी र दुई नाति भीम तथा छवि दान दिएकै जग्गामा कच्ची छाप्रो बनाएर आश्रय लिइरहेका छन् ।

दाता परिवारले सुकुम्बासी जीवन बिताइरहेको घटनाबाट भावुक बनेका झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले ११४ औँ नारी दिवसका अवसर पारेर घर बनाइदिने अभियानको घोषणा गरेका हुन् । उनले दाता परिवारको घर निर्माणका लागि रु ५१ हजार दिने घोषणा गर्दै थप रकम जुटाउन आर्थिक सहयोगको अपिल गरे ।

अभियानको घोषणा भएकै दिन रु सात लाख आर्थिक सहयोगको प्रतिबद्धता आएको बस्नेतले जानकारी दिए । रु १० लाख सहयोग जुटाएर स्व डोमालालकी छोरी सम्पताको घर निर्माण गरिने उनले बताए।

“सार्वजनिक हितका लागि १४ बिघा जग्गादान दिने दानवीर डोमालालका सन्तान घरबारविहीन भएको अमिलो दृश्यले हामी सबैको मन भत्भती पोलिरहेको थियो”, अभियानको नेतृत्व गरिरहेका बस्नेतले भने, “उनीहरूका लागि केही त गर्नै पर्दछ भन्ने लाग्यो र घर निर्माण गरिदिने अभियान सुरु गरेका हौँ ।”

ठेलाले गुजारा चलाउँछन् नाति

विर्तामोड–३ का भीम र छवि आफ्ना हजुरबुवा डोमालालले दान दिएको जग्गाको एउटा कुनोमा अलग–अलग झुपडी हालेर परिवारसँग बसोबास गर्दै आएका छन् । डोमालालकी छोरी सम्पताको पनि त्यहीँनेर अर्को छाप्रो छ । छाप्रोमा एक्लै बस्दै आएकी सम्पताको जीविकाको माध्यम सरकारले दिने वृद्धाभत्तामात्रै हो । “केही वर्ष अघिसम्म उहाँ बजारमा सागसब्जी व्यापार गरेर पेटपालन गर्नुहुन्थ्यो”, स्थानीय प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी भन्छन्, “बुढेसकालले च्याप्दै लगेपछि व्यापार छाड्नुभयो ।”

उनका अनुसार दानवीर डोमालालका नाति छविले बिर्ताबजारमा तीनचक्के ठेला चलाएर परिवारको जीविका धान्दै आएका छन् । अर्का नाति भीम स्थानीय फ्याक्ट्रीमा मजदुरी गर्छन् । डोमालालकी छोरी सम्पता र दुई नातिले झुपडी बनाएर ओगटेको जग्गा तीन कठ्ठा जति छ । उनीहरूको नाममा कुनै जग्गा छैन । दान दिएकै जग्गामा सम्पताका लागि आर्थिक सहयोग जुटाएर घर बनाउने खेलप्रेमीको योजना छ ।

सहयोगी हातहरु बढ्दै

सुकुम्बासी बनेका दाता परिवारलाई घर बनाउने अभियानमा सहयोगी हात बढ्दै गएका छन् । दुई दिनमा रु सात लाख सहयोगको प्रतिबद्धता जुटिसकेको छ । युवा व्यवसायी राजीव तेघ्रे धिमाल र अर्जुन चुडालले रु एक–एक लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । विर्तामोडका व्यवसायी किरण श्रेष्ठ, सुधार कुमार, रविन श्रेष्ठ र समिल राईले रु २५–२५ हजार सहयोगको घोषणा गरेका छन् । पत्रकार गणेशमान मुखिया, इन्द्रजित मुखिया र भूमिका सुब्बाले रु ११–११ हजार सहयोग दिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?