काठमाडौँ– सोह्र वर्षअघि रङ्गकर्मी चेतन आङथुपोसँग कैयन् सपना थिए । आफ्नो समुदायका लागि केही गर्नुपर्छ भन्ने भित्री मनदेखि नै थियो । तर, कसरी गर्ने र के गर्ने भन्नेमा उनी त्यतिबेला स्पष्ट थिएनन् ।
समाज रुपान्तरणको संवाहक बन्ने अठोट र आफ्नो इतिहास र संस्कृतिलाई खोतलेर त्यसलाई ब्युँताउने सपनालाई पछ्याउँदै जाँदा चेतनले रोजे, रङ्गमञ्च ।
अहिले आफ्नो जीवनलाई सरसर्ती हेर्छन्, चेतन । थोरै उनी आफ्नो जीवन र धेरै रङ्गमञ्चका बारे घोत्लिन्छन् । जीवन र रङ्गमञ्चको लडाइँमा उनको सोचले नाटकलाई बढ्ता प्राथमिकता दिएपछि यतैतिर उनको मन तानिएको छ ।
यसैले त विगत डेढ दशकदेखि पूर्वको इलाम चुलाचुलीस्थित ‘चुलाचुली रङ्गमञ्च’सँगै उनी हिँडिरहेका छन् ।
काठमाडौंले परिभाषित गरेको रङ्गमञ्च, नाटकको माहोल र यहाँका रंगकर्मीहरुको भन्दा उनको दुनियाँ अलग्गै छ । उनलाई रङ्गमञ्चमा ‘नाटक’ गरेर कलाकार होइन, समाज रुपान्तरणको संवाहक बन्नु छ । आफ्नो इतिहास र संस्कृतिलाई खोतलेर त्यसलाई ब्युँताउनु छ । र, भावी पुस्तालाई मौलिक पहिचान सिकाएर उठाउनु छ ।
पूर्वको सामाजिक परिवेश र नाटकको सन्दर्भलाई उठान गर्दा उनी केही नोस्टाल्जिक हुन्छन् र पूर्वेली रङ्गमञ्च र नाटकको फ्ल्यासब्याकमै पुग्छन् । भोलिको आशामा फेरि उत्साहित हुन्छन् ।
२१ वर्षको लक्का जवान हुँदा विदेशिन कम्मर कसेका चेतनलाई तीनताकाको समाज र परिवेशले परदेशी हुन दिएन ।
वि.सं. २०६४ सालमा वैदेशिक रोगजारीकै सिलसिलामा दुबईमा जाने उनको पक्कापक्की भएको थियो । विदेश जाने योजनाभन्दा अघि समाज रुपान्तरण गर्नुपर्छ भन्ने युवा जमातको एउटा समूहको नेतृत्व नै उनले गरिरहेका थिए । जोसिलो उमेर र समकालीन साथीभाइको लहलहैमा उनले परदेशी हुने सपना त्यागिदिए अनि रोजे रङ्गमञ्चको बाटो ।
‘नराम्रा कुरीतिलाई अन्त्य गरेर समाजलाई बदल्नुपर्छ भनेर हाम्रो डर्जन मर्डर ग्रुप अर्थात् सकारात्मक विचारका बाह्र हत्याराका समूह भन्ने एउटा युथहरुको ग्रुप नै थियो,’ उनले स्मरण गरे, ‘त्यसमा मैले नै साथीहरुलाई जम्मा पारेको थिएँ । तँ नै नबसेपछि हामीलाई सपना किन देखाइस् भन्ने कुरा आएपछि दुबईमा जाने भिसा नै क्यान्सिल गरेर बसेँ ।’
समाजको विभेद, कुरीति र विकृतिलाई बदल्नुपर्छ भन्ने उनको समूहमा आवद्ध युवाहरुको संकल्प थियो । शुरुमा चेतन साहित्य सिर्जनामा लागे । साहित्यलाई भिजुअल फर्ममा लगेमात्र समाजलाई प्रभाव पार्न सकिन्छ भन्ने मान्यता लिएर उनी नाटकको फर्ममा आए ।
वि.सं. २०६५ सालमा ‘मान्छेको खोजी’बाट चेतनको समूहले नाटकको यात्रा तय गरेका थिए । जतिबेला नाटकको अवधारणा र परिवेशकाबारे उनको समूह अनविज्ञ थियो । त्यहीबेला रंगकर्मी भोलाराज सापकोटाको समूह बाल दूर्व्यवहारको नाटक लिएर पूर्वतिर पुगेको थियो ।
त्यसबाट पनि चेतनको समूहले रङ्गमञ्च र नाटकबारे केही बुझ्ने मौका पाए । त्यसपछि थुप्रै सडक नाटकहरु लिएर उनीहरु गाउँ गाउँ पुगे । नाटकमार्फत् उनीहरुले पूर्वको संस्कृतिदेखि लिएर तत्कालीन समाज, परिवेश र अवस्थालाई देखाउने काम गरे ।
कहिले चौतारो, कहिले खोलाको किनार त कहिले घरको आँगनमा बसेको चेतनको नाट्य टोलीले झण्डै पाँच वर्षपछि एउटा भवन पाए । द्वन्द्वकालीन समयमा खाली भएको एउटा सरकारी भवनमा २०६९ साल साउन २७ गते १५ जना युवाहरुको टोलीमा चुलाचुली रङ्गमञ्चको औपचारिक शुरुवात भयो ।
त्यही भवनमा हालसम्म चुलाचुली नाट्य समूह चलिरहेको छ । यही भवनमै रहेर उनीहरुले ‘किपट’, ‘सुबिउ चरी, ‘देवाङ्सी राजा’, ‘खाल्डो’, ‘माङ्गेना’, ‘रिठ्ठु’देखि ‘झोडा’ सम्मका नाट्य सिर्जनाहरु गरेका छन् । चुलाचुली रङ्गमञ्च समूहले नेपालमै पहिलो पटक प्रयोगात्मक स्वरुप समुदायसँगको सहकार्यमा दुई दीवसिय ‘जंगल नाट्य उत्सव २०७९’ समेत गरिसकेको छ ।
अहिले ‘झोडा’ लिएर इलामदेखि काठमाडौंसम्म आइपुगेको चेतनको समूहलाई धेरैको सुझाव राजधानीमा नलैजानु भन्ने थियो । खासमा काठमाडौंले बाहिरका रङ्गकर्मीहरुलाई हेर्ने नजरियालाई परिवर्तन गर्ने चेतनको अठोट थियो ।
काठमाडौँ बस्ने रंगकर्मीहरुले रङ्गमञ्चलाई राजधानीको खाल्डोमा मात्रै सीमित राख्न खोजेको उनको गुनासो छ । उनले भने, ‘रङ्गमञ्च भनेको काठमाडौँभित्रको मात्र हो भन्ने बनाएको छ । दर्शक पनि यताको मात्र, रङ्गकर्मी यतैको र नाटक भन्ने चीज पनि यतै मात्र हुन्छ भन्ने भ्रम काठमाडौंले छरेको छ ।’
रङ्गमञ्चलाई गाउँ गाउँमा पुर्याउनुपर्छ भनेर बोल्ने अग्रज रङ्गकर्मीहरुले नै काठमाडौंभित्र मात्र नाटकलाई सीमित राख्न खोजेको प्रवृत्ति उनलाई चित्त बुझेको छैन । काठमाडौंभित्र हुने नाटकलाई मूलधारे र बाहिर हुनेलाई मोफसल वा स्थानीय भन्ने परिपाटी नै गलत भएको उनको भनाइ छ ।
उनका अनुसार राजधानीका रंगकर्मीहरुले नै नाटकलाई काठमाडौं भित्र र बाहिरको भनी दुई भागमा अलग्याउने काम गरेको छ ।
लामो समयदेखि गाउँ–गाउँमा नाटक पुर्याउँछु भनी लागिपरेका चेतनजस्ता रङ्गकर्मीहरु काठमाडौं बाहिर नै संघर्ष गरिरहेका छन् । उनीहरु उतै नाटक मञ्चन गरेर बेलाबेलामा राजधानीतिर पनि नाटककै साथ आइपुग्छन् ।
‘नाटक नै लिएर राजधानी छिर्नुपर्ने बाध्यता किन पर्यो ?’ भन्ने प्रश्नमा चेतन केही भावुक हुँदै भन्छन्, ‘हामीलाई राजधानीले अझै चिन्दैन । हामी पनि छौँ र नाटक गर्छौँ भन्ने देखाउन यता नाटक ल्याउनुपरेको छ ।’
गाउँबस्तीमा नाटक मार्फत् चेतनाको बिगुल फुक्दै गरेका चेतन जस्ता रंगकर्मीहरुलाई नाटक नै लिएर काठमाडौं आउँदा पनि बेवास्ता गरेको सुनिन्छ । जो राजधानीभित्र चलिरहेका छन् र जसको यता हालीमुहाली छ, उसलाई मात्र रङ्गकर्मी मान्ने प्रवृत्ति चेतनले काठमाडौँमा झेलेका छन् ।
उनले नाटक ‘झोडा’लाई शुरुमै थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन गर्ने योजना बनाएका थिए । मण्डलाले उनको लागि अवसर जुराएन । त्यसपछि शिल्पीले उनको लागि ढोका खोलिदियो ।
‘हामी गाउँमा बसेर रङ्गमञ्चकै लागि लडिरहेका छौँ । यता (काठमाडौं) आउँदा त यहाँकाहरुले हामीलाई स्वागत गर्नुपर्ने हो । हामी उहाँहरुको लागि त प्रतिस्पर्धी होइनौं नि । यसरी त रङ्गमञ्चलाई गाउँ गाउँमा पुर्याउँछु, विविधतालाई प्रतिनिधित्व गराउँछु भन्ने कुरा त भाषणमै सीमित हुने भए’, उनले दुःखेसो गरे ।
रङ्गमञ्चको विकासको लागि राजधानीमा बस्ने अग्रज रङ्गकर्मीहरुले राजा महाराजा शैलीको हिजोको एकात्मक स्वरुपलाई तोड्नुपर्ने चेतनको बुझाइ छ । काठमाडौंमा भएको रङ्गमञ्चको विकासलाई उनी समग्र नाट्य क्षेत्रको विकासका रुपमा लिँदैनन् ।
जबसम्म देशको जुनसुकै कुनामा भएपनि नाटकको एउटै भूगोल हुँदैन र मानिदैन तबसम्म रङ्गमञ्चको अहिले मानिएको विकास स्वीकार्न नसकिने उनको तर्क छ । अलि परको भूगोलमा नाटकका गतिविधिहरु के–के भइरहेका छन्, त्यताका रंगकर्मीहरुको अवस्था के छ र तिनिहरुले रङ्गमञ्चलाई कसरी अगाडि बढाइरहेका छन् भन्ने जानकारी समेत सोधीखोजी राजधानीभित्र बस्ने अग्रजहरुले नगर्ने चेतनले सुनाए ।
‘हिजो स्थापित भएकाहरुले नै हामी जस्ता नयाँ पुस्ताका संयौंलाई सपना देखाएका छन् । उहाँहरुले हामीलाई रङ्गमञ्चमा सहजकर्ताको भूमिका निभाउनु पर्ने होइन ?’ उनी प्रश्न गर्छन् ।
मण्डला, शिल्पी, सर्वनाम जस्ता राजधानीमै मौलाएका नाटकघर र यताका रंगकर्मीहरुले नाटकको सपना देखाएर दर्जनौं युवाहरुलाई नाटकको ज्ञान बाँडिरहेका छन् । नाटकको सामान्य परिवेश र ज्ञान दिएर छोडिएका युवाहरु आज मानसिक रुपमा विछिप्त बनेको चेतनको अनुभवले बताउँछ ।
यदि नाटक सपना देखाएर अवसर दिने र दिलाउनेको माहोल रङ्गमञ्चमा बन्दैन भने युवाहरुलाई यसतर्फ नल्याउन उनको अनुरोध छ । कसैलाई काख र कसैलाई पाखा लगाउने सीमान्तकृत शैलीलाई छोड्नुपर्ने उनको भनाइ छ ।
उनले त रङ्गमञ्चलाई नै आफ्नो सपना बनाइसके । कहिले कुनै संस्था त कहिले व्यक्तिको मुख ताकेर उनले नाटकघर चलाएर आफ्नो ठाउँलाई नाटकमय बनाइरहेका छन् । सँगैका थुप्रै सहकर्मीहरु उनलाई छोडेर काठमाडौंको बाटो लागिसके । कतिले रङ्गमञ्च नै छोडिसके ।
उनी अहिले सन्तानले छोडेको बुवाआमा जस्तै बनेका छन् । उनी कहिलेकाहीँ त चुलाचुली नाटकघरको ढोका धेरै दिन खोल्दैनन् । फेरि उनको मन मान्दैन ।
भित्र छिर्छन् र पुस्तकालयमा जमेको धुलो टकटकाउँदै एक्लै भक्कानिन्छन् । र पनि उनलाई आफ्नो कर्ममा विश्वास र प्रेम छ । यसैगरी जीवन र रङ्गमञ्च चलाउँछु भन्ने उनको हिम्मत पनि छ । रङ्गमञ्चमै रंगकर्मीहरु सुखले बाँच्ने दिन एकदिन आउँछ भन्ने आशामा उनी छन् ।
उनी चाहन्छन्, प्रत्येक रङ्गकर्मीहरू दयाहाङ राई बन्न नसक्लान्, तर बाँच्न चाहीँ सबैले पाउनुपर्छ । यसका लागि रङ्गमञ्चको विकास र विस्तारका लागि जिम्मेवारी बहन गरेका निकायले प्र्रत्येक रंगकर्मी र रङ्गमञ्चलाई बचाउने पहल गरोस् भन्ने उनको ध्येय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया