मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जब केपी ओलीलाई नपर्खी ‘शिल्पी’ मा नाटक शुरु भयो.. 

काठमाडौँ – बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चनरत नाटक ‘झोडा’ हेर्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि समय तय गरेका थिए ।

त्यही दिन देशमा राजनीतिक उथलपुथल भएपछि ओलीलाई भ्याइनभ्याइ भयो । व्यस्तताकै बाबजुद उनी शिल्पीमा नाटक हेर्नका लागि त पुगे तर नाटक शुरु भएकै आधा घण्टा बितिसकेको थियो । ढिला पुगेकै कारण नाटकघरभित्र प्रवेश गर्न नपाएपछि उनी त्यतिकै फर्के ।

उनीसँगै नाटक हेर्ने योजना बनाएका पार्टीका उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य लगायत नेताहरू समयमै उपस्थित भएर नाटक हेरेरै फर्के । 

कुनै पनि सार्वजनिक कार्यक्रममा ओलीलाई नपर्खिनु, ओलीबिना नै कार्यक्रम शुरु हुनु र उनैलाई ढिला पुगेकै कारण फर्काइनु सम्भवतः उनका लागि यो आश्चर्यचकित नै होला ।

ओलीले यसबारे सार्वजनिक रूपमा नकारात्मक धारणा राखेका छैनन् । तर उनलाई नाटक देखाउने चाँजोपाँजो मिलाएका नेकपा नेता तथा साझा प्रकाशनका अध्यक्ष डा.विजय सुब्बाले भने ओलीलाई गरेको व्यवहारप्रति क्रुद्ध हुँदै शिल्पीमा हुने कुनै पनि कार्यक्रममा आइन्दा सहभागी नहुने धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

यतिबेला शिल्पी, रङ्गकर्मी र सुब्बा ओलीको पक्ष विपक्षमा उभिएर आ–आफ्नो धारणा बनाइरहेका छन् । 

सुब्बाले ओलीले नाटकको प्रचारका लागि भावनात्मक रूपमा सोचेकाले उनलाई ताली र भाषण नभई शान्त तरिकाले प्रवेश गर्न दिइनुपर्ने विचार राखेका छन् । राजनीतिक परिस्थितिका कारण अचानक राष्ट्रपति कार्यालय जाने कामले ओली ढिला हुन पुगेको उनले कारण भनेका छन् । 

नाटकघरमा नेता तथा प्रजा सबैलाई समान अनुशासन र नियम लागु हुन्छ भनेर अहिले रङ्गमञ्च सँगै साहित्यका स्रष्टाहरूले शिल्पीको पछिल्लो कदमलाई साथ दिइरहेका छन् ।

रङ्गकर्मी आकाङ्क्षा कार्कीले शिल्पीको कार्यलाई समर्थन गर्दै रङ्गमञ्चमा पद र प्रतिष्ठाका आधारमा दिने प्राथमिकताको अभ्यास रोकिनुपर्ने धारणा व्यक्त गरेकी छिन् । 

नाटकघरमा ढिला उपस्थितिकै कारण अध्यक्ष ओली र विष्णु पौडेल लगायत नेताहरू फर्किएको शिल्पीका अध्यक्ष कुमार आलेले जोय नेपालसँगको कुराकानीमा सुनाए ।

‘विजय सुब्बा दाइबाट नै अध्यक्ष केपी शर्मा ओली जीको टोली झोडा हेर्न आउने योजना सुनेपछि हामी तयारी अवस्थामा थियौँ’, उनले भने,‘पछि विजय दाइले नै विशेष कारणले अध्यक्ष ओली जी नाटक हेर्न आउनुहुन्न होला भन्नुभएको थियो ।

आधा घण्टा बितेर नाटक घरमा उहाँहरू पुग्नु भएपछि नाटक नहेरी फर्किनुभएको हो ।’ उनका अनुसार शिल्पीले प्रवेश रोक लगाउनु पूर्व नै ओलीले आधा घण्टा बितिसकेकोले नाटक नहेर्ने इच्छा व्यक्त गरेका थिए ।

ओली सार्वजनिक व्यक्ति भएकाले नाटक चलिरहेकै अवधिमा उनी भित्र प्रवेश गर्दा माहौल नै बिग्रेर नाटक रोक्नुपर्ने अवस्थालाई बुझेर फर्कने निर्णय गरेको अध्यक्ष आलेको बुझाइ छ ।

उनले भने, ‘म हौसला दिन मात्र आएको हुँ । आधा घण्टा बितिसकेर के नाटक हेर्नु भनेर उहाँले भन्दा म त झन् फुरुङ्ग भएँ । उहाँ कला र नाटकलाई पनि बुझेको मान्छे हुनुहुन्छ ।’ सुब्बा जस्ता व्यक्तिले नबुझीकन सार्वजनिक रूपमा धारणा राख्दै गर्दा सबै रंगकर्मीहरुलाई आघात पुगेको उनले सुनाए । 

अध्यक्ष ओलीले पूर्व सूचना नै दिएर आफू सहितको टोलीका लागि उक्त दिनलाई हल नै बुक गरेको सुब्बाले सुनाए । उनले भने, ‘ओली जीले व्यस्त हुँदाहुँदै पनि समय निकालेर त्यहाँ पुग्नुभएको थियो । हल नै रिजर्भ भएपछि उहाँहरूले बुझ्नुपर्थ्यो
 । देशको विशिष्ट मान्छेलाई हलवालाहरूले त्यस्तो गर्नुहुँदैन थियो । लेखक गणेश रसिकलाई भेटेर फर्कन्छु भन्दा पनि उहाँहरू मान्नु भएन रे ।’

ओलीलाई अन्य समयमा जस्तो स्वागत र तालीभन्दा पनि सामान्य दर्शकका रूपमा प्रवेश गर्न दिएको भए कलाप्रति उनले देखाएको भावनात्मक सम्बन्धको सम्मान हुने सुब्बाले बताए । 

नाटक शुरु भएर अन्य अतिथिसँगै भित्र प्रवेश गरिसकेकोले बाहिरको स्थितिबारे अनविज्ञ रहेको नाटकका निर्देशक चेतन आङथुपोले सुनाए । विशेष ‘शो’ भनेर अगावै सूचित गरेकाले नाटकलाई सामान्य समयभन्दा केही परिवर्तन गरी नाटक मञ्चनको व्यवस्था गर्नुपर्ने निर्देशक आङथुपोको भनाइ छ ।

उनले थपे, ‘खासमा पूरै हल बुक गर्ने ओली जीको कुरा आउँदा म मानेको थिइनँ । अरू दर्शकलाई अन्याय हुन्छ भन्ने मेरो भनाइ थियो । पछि शिल्पीबाट नै हल बुकको कुरा भएको रहेछ । फेरि उहाँहरूले नै फर्काइनुभएछ । मैले पछि मात्र थाहा पाएँ ।’

थिएटरको नियम र अनुशासन सबैका लागि एकै हुने उनले बुझेका छन् । यद्यपि राजधानीबाहिरबाट आएका नाटकहरूमा नियमित भन्दा थप दर्शक भएकाले केही समय मिलाउनुपर्ने उनको म त छ । समय निश्चित हुनु र दर्शकले नाटकघर फेला नपार्ने समस्याले नाटकलाई केही प्रभाव पारेको उनले सुनाए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?