मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रंगमञ्च

नेपालमा किन मञ्चन हुन्छन् विदेशी लेखकका नाटक ?

काठमाडौँ– नेपाली रंगमञ्चको क्षेत्र पछिल्लो समय निकै फस्टाएको देखिन्छ । राजधानीभित्र र बाहिर समेत नयाँ नाटकघरहरु खुलिरहेका छन् । फिल्मले तान्न नसकेका दर्शकहरु नाटकघरहरुले तानिरहेका छन् । यद्यपि नाटकघरमा आएका दर्शकहरुले भने सधैं नेपाली मौलिक नाटकको स्वाद चाख्न पाएका छैनन् ।

नाट्य क्षेत्रमा अग्रजदेखि अनुजसम्मका रंगकर्मीहरुले विदेशी नाटकहरु अनुवादको ढर्रालाई अझै चट्टक्कै त्याग्न सकेका छैनन् । दर्शकको माया र उपस्थिति पाइरहँदा पनि नेपाली मौलिक नाटकहरुको कमी किन भइरहेको छ ?

विदेशी नाटकहरु अनुवाद गर्नुपर्ने आवश्यकता कति छ भन्ने प्रश्नमा रंगकर्मी केदार श्रेष्ठ भन्छन्,‘नाटकको विधा नै अलि गहन छ । अर्काेतिर नाटक नै लेखेर लेखनमा दिगो हुन सकिने अवस्था अझै बनेको छैन । यसले गर्दा अझै पनि नेपाली नाटकको अभाव छ । हामीले प्रभावकारी नाटक देखाउन विदेशी नाटक नै अनुवाद गर्नुपर्ने अवस्था छ ।’

अनुवादसँगै पछिल्लो समयमा नेपालमा निकै राम्रा मौलिक नाटकहरु पनि बनिरहेको श्रेष्ठको भनाइ छ । यद्यपि चर्चामा भने सधैं विदेशी नाटकहरु नै आइरहेको उनी स्विकार्छन् ।

श्रेष्ठले भनेजस्तै ‘चोरको स्वर’, ‘खुवालुङ’, ‘ब्युँझिएको सिरानी’, ‘ढल्केको सालैजो’, ‘साथी साथी आइदेऊ न’ जस्ता राजधानी भित्रका थिएटरहरुमा पछिल्लो समय मञ्चन भएका मौलिक नाटकहरुलाई दर्शकको निकै साथ रह्यो । तर बढी चर्चा भने अनुवादित नाटकहरुकै भयो ।

थापागाउँस्थित मण्डला थिएटरमा केही समयअघि मञ्चन भएको नाटक ‘एउटा सपनाको अवसान’को निकै परिचर्चा भयो । आर्थर मिलरको विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरण रहेको नाटकको निर्देशन रंगकर्मी अनुप बरालले गरेका थिए ।

त्यस्तै, भारतीय नाटककार सौरभ शुक्लाको नाटक ‘बर्फ’लाई नेपाली रुपान्तरण गरी ‘हिउँभन्दा चिसो’को रुपमा मण्डलामा नै मञ्चन गरिएको थियो । उक्त नाटकको निर्देशन रंगकर्मी सोमनाथ खनालले गरेका थिए । यो नाटकको पनि राम्रै चर्चा भयो ।

नेपालमा प्रभावकारी रुपमा बहसमा जाने खालका नाटकहरु नभएकै कारण विदेशी नाटकहरुमा भर पर्नुपर्ने अझै अवस्था रहेको रंगकर्मी श्रेष्ठको ठहर छ । उनी भन्छन्, ‘नाटककै फर्ममा पावरफुल टेक्स र संरचनाका नाटकहरु अझै लेख्न सकिएको छैन । विदेशी नाटकको लेभलमा हामी अझै पुग्न सकेका छैनौं ।’

रंगकर्मीहरुका अनुसार एउटा नाटक लेखनका लागि सर्जकले समाज र विषयको गहन अध्ययन गरेको हुनपर्छ । यससँगै समय र आर्थिक पक्ष जोडेर आउँछ । यी सबै पक्षलाई जोडेर जसले नाटक गरिरहेका छन्, तिनीहरुको उचित मूल्यांकन हुन नसकेको स्वयम् रंगकर्मीहरु तिक्तता पोख्छन् ।

रंगकर्मी आशान्त शर्मा नाटक र फिल्म दुवैमा उत्तिकै समय दिइरहने कलाकारभित्र पर्छन् । कोरोना महामारीपछि मात्र उनले ‘ढल्केको सालैजो’ र ‘साथी साथी आइदेऊ न’ जस्ता मौलिक नाटकहरु नाट्यप्रेमीहरुमाझ ल्याए । हालै मण्डला थिएटरमा माघ ६ गतेसम्म मञ्चित नाटक ‘पगला घोडा’मा समेत उनी देखिएका थिए ।

सन् १९६० को दशकमा भारतीय नाटककार बादल सरकारले लेखेका नाटकको निर्देशन भने घनश्याम श्रेष्ठले गरेका थिए । नाटकको आलेख सुपरिवेक्षण भने शर्माले गरेका हुन् । विदेशी नाटकहरु नेपालमा गर्दा समय र आर्थिक रुपमा पनि निकै सहज हुने उनको अनुभव छ ।

‘नयाँ नाटक लेख्नका लागि समय निकै लाग्छ । समाज र विषयलाई पनि उत्तिकै अध्यनन गर्नुपर्‍यो । समय र पैसा लगानी गरेर मौलिक नाटक गर्नेहरुलाई पनि यहाँ सम्मान छैन । समय र आर्थिक कारण पनि विदेशी नाटकहरु गरिरहनु परेको छ’, उनले सुनाए ।

कथा, कविता, निबन्ध, उपन्यास जस्ता विधामा लेख्ने स्रष्टाहरुले कृति तयार भएपछि त्यसको प्रतिफल नाटकको तुलनामा छिटो पाउँछन् । नाट्य क्षेत्रमा भने नाटक तयार भएर मञ्चन हुनेबेलासम्म पनि प्रतिफल पाउने थोरै आशा हुन्छ । प्रतिफलको झिनो आशाका कारण पनि नाटक लेखन विधा अगाडि नबढेको शर्माको तर्क छ ।

नाटक लेखनमा लेखकले विषय र पात्रसँगै मञ्चमा आउने दृश्यको समेत ख्याल गर्नुपर्ने लेखक राजन मुकारुङ थप्छन् । आख्यानसँगै उनी नाटक विधामा समेत उत्तिकै सक्रिय छन् । उनको लेखन रहेको पछिल्लो नाटक ‘बाखाम्मा’ अहिले मञ्चनका लागि तिव्र तयारीमा छ । उनका अनुसार नाटककारलाई नाटक लेखनसँगै मञ्चनसम्म पनि त्यतिकै अभ्यस्त भइरहनु पर्छ ।

‘नाटकको निर्देशक, संगीत, प्रकाश, प्रप्स, कस्ट्युम डिजाइनर सबैसँग उतिकै सहकार्य गरिरहनुपर्छ । यसरी खटिरहन सबै नाटकका लेखकहरुसँग समय हुँदैन । यसले गर्दा पनि अरु विधा जस्तो नाटक लेखकहरु धेरै छैनन्’, उनले प्रस्ट्याए । नेपाली नाट्य क्षेत्रलाई नाटक लेख्नेहरु नै नभएपछि विदेशी नाटकहरु अनुवाद गर्नुपर्ने बाध्यता छ । आम दर्शक र समाज परिवेश सुहाउँदो नाटक चयन गरी अनुवादित नाटकहरु नै चलाएर नेपाली रंगमञ्चलाई निरन्तरता दिइरहेको रंगकर्मीहरु सुनाउँछन् ।

नाट्य क्षेत्रमा मौलिक नाटक नै अगाडि बढाउनुपर्छ भन्ने युवापुस्ताका रंगकर्मीहरु पनि छन् । समाजका पात्रलाई कसरी जीवन्त रुपमा उठाउने भन्ने पक्षमा जोड दिने हो भने मौलिक नाटकहरु बनाउन सकिने रंगकर्मी केदारनाथ पौडेल सुनाउँछन् ।

पौडेलको लेखन रहेको नयाँ नाटक ‘धनिरामको गोरु’ पोखरास्थित ‘पोखरा थिएटर’मा माघ १८ गतेदेखि नियमित मञ्चनमा आएको छ । उनको यो सातौं नाटक हो । आफ्नै समाज र विषयलाई नाटकमा ल्याउनुपर्छ भन्ने भावनामा अडिग रहने हो भने चिया गफमा नाटक लेख्न सकिने उनको मत छ ।

नेपाली नाटक लेखनलाई कसरी अगाडि बढाउने ?

नेपालको माटो र संस्कृति सुहाउँदो नेपाली नाटकहरु बन्नुपर्ने रंगकर्मीहरुको एक मत छ । विदेशी नाटकहरुमा मात्र भर पर्ने हो भने मौलिक लेखन अगाडि नबढ्ने श्रेष्ठको धारणा छ । उनी भन्छन्, ‘हामीले प्राथमिकतामा त नेपाली नाटक नै राख्नुपर्छ । हामीलाई प्रभावकारी भनेको हाम्रै विषय र कथाहरु हुन् ।

यस्तो अवस्थामा नाटक लेखनमा लागेकाहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । उनकै मतमा सही थाप्दै नाटक लेख्नेहरुलाई नाट्य क्षेत्रका संघ–संस्थाहरुले सघाउनुपर्ने उनले बताए ।

उनका अनुसार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाले लेखनका लागि प्रोत्साहन र कृतिपछि सम्मान गर्नुपर्छ । एउटा नाटकको सिर्जना भएर त्यसको प्रतिफल आउने कुरामा ढुक्क हुन सक्ने अवस्था भएमा मात्र नेपालमा मौलिक नाटक लेखनको अवस्था सुध्रिने श्रेष्ठ र शर्मा दुवैको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?