बाथ रोग भन्ने बित्तिकै हामी घुँडा तथा जोर्नी दुख्ने रोग भनेर बुझ्ने गर्छौं । शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग नै बाथ रोग हो । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले लक्षण पनि फरक फरक देखाउँछन् । तर, सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो ।
बाथ रोग कस्तो रोग हो ? यो कति प्रकारको हुन्छ रुयसको कारण के हो र रोकथामका उपायहरु के कस्ता छन् भन्ने सम्बन्धमा बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको अंश:
बाथ कस्तो खालको रोग हो ?
सामान्यतया बाथ रोग लाग्दा हातखुट्टाका जोर्नीहरू दुख्ने तथा सुन्निनेहुन्छ । तर यो बाहेक अरु लक्षणहरु पनि हुन सक्छन् । जस्तै आँखा रातो हुने, दुख्ने, कपाल झर्ने, छालामा घाउ आउने, दुख्ने, डाबर आउने, हातखुट्टा झम्झमाउने र भित्री ठुलो– ठुलो अङ्गमा आक्रमण गर्यो भने नशामा समस्या हुने, प्यारालाइसिस हुने, मुटु, मृगौला र आन्द्रामा समेत समस्या हुन सक्छ ।
बाथ रोग सयभन्दा बढी प्रकारका छन् तर मुख्य भनेको चारवटा रहेका हुन्छन् । प्रमुख एक भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर बाहिरी जिवाणुहरुसँग लड्नुपर्ने कोषिकाहरुले आफ्नै जोर्नी तथा भित्री अङ्गलाई असर गर्छ । त्यसलाई अटो इम्युन डिजिज भनिन्छ । अर्को हुन्छ हड्डी खिइने बाथ । अर्को भनेको खानपिनसँग सम्बन्धित युरिक एसिड बाथ । त्यस्तै अर्को छ, मांशपेशीसँग सम्बन्धित बाथ ।
बाथ रोग लाग्ने मुख्य कारण के के हुन् ?
बाथ रोग अटो इम्युन डिजिजको कारणले हुन्छ । अटो इम्युन प्रोसेस भन्नाले हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमता हो । हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ र रोग प्रतिरोधात्मक क्षमताले बाहिरी जिवाणुहरुसँग लड्ने गर्छन् । तर अटो इम्युन डिजिज भएपछि रोग प्रतिरोधात्मक क्षमतामा हृास आउँछ र बाहिरी जिवाणुहरुसँग लड्ने कोषिकाहरुले आफ्नै शरीरमा भएका अंगहरु नष्ट गर्न थाल्दछन् र बाथ हुन्छ । अर्को भनेको खानपान र उमेरका कारण पनि बाथ हुने गर्दछ ।
यो रोग लागेको कसरी थाहा पाउने ? यसका लक्षणहरु के–के हुन् ?
बाथ रोग धेरै प्रकारका हुने भएकोले यसका लक्षण भिन्नाभिन्नै हुन्छन् । बाथको प्रकार अनुसार यसले विभिन्न अङ्गहरू समात्छ । बाथ रोगको साझा लक्षण जोर्नी दुखाइ हो । हात–गोडाका सानातिना जोर्नीहरु दुख्ने, सुतेर उठ्दा मुठ्ठी कस्न ग्राहो भएजस्तो हुने, सुन्निने जस्ता समस्या बाथ रोगका प्रारम्भिक लक्षणमा पर्छन् । यदि छालामा बाथ रोग भएको अवस्थामा अनुहार तथा छालामा डाबर आउने, घामको एलर्जी हुने, मुख तथा गोडामा बारम्बार घाउ आउने जस्ता लक्षण देखिन्छन् ।
आँखा रातो हुने तथा बारम्बार दुख्ने, सुख्खा हुने तथा आँसु नआउने समस्या हुने जस्ता लक्षण देखिएमा पनि बाथ रोग भएको शंका गर्न सकिन्छ । यदि बाथले भित्री अंगलाई आक्रमण गरेको अवस्थामा भिन्नै प्रकारको लक्षण देखा पर्न सक्छ । फोक्सोमा जाली परेको अवस्थामा स्वाँ–स्वाँ बढ्ने, खोकी लाग्ने, दम बढ्ने, मुटुमा पानी जमेमा मुटुको ढुकढुकी बढ्ने, रक्तचाप बढ्ने, मृगौलाबाट प्रोटिन जान थालेको अवस्थामा मिर्गौलामा समस्या आउने, गोडाहरु सुन्निने हुन सक्छ ।
बाथ रोगका बिरामीहरुले कस्तो खालको खानपान र जीवनशैली अपनाउनुपर्छ ?
अरु प्रकारका बाथ रोगका बिरामीहरुले खानपान बार्नुपर्दैन । तर युरिक एसिडको बाथ भएका बिरामीहरुले रक्सी, रातो मासु, जनावरको भित्री अंग चिनी र गुलिया चिजहरुको सेवन गर्नु हुँदैन । दुध र यसबाट बनेका खानेकुराहरु र अण्डा प्रशस्त मात्रामा खाने, दैनिक आधा घन्टा व्यायाम गर्नुपर्छ ।
यो रोग लाग्न नदिन के गर्ने? यसका रोकथामका उपायहरु के–कस्ता छन्?
यसको रोकथामको उपाय भनेकै हामीले रोगको पहिचान गर्न र उपचारको थालनी गर्न आवश्यक छ । जति छिटो उपचार सुरु गर्यो त्यति नै बिरामीहरुको लागि राम्रो हुन्छ र अंगहरु बिग्रनबाट जोगाउन सकिन्छ । बाथ भनेको दीर्घकालिन रोग हो र यसको उपचार पनि दीर्घकालीन नै हुन्छ । समयमै रोगको पहिचान गरी नियमित औषधी सेवन गरेर स्वस्थ जीवनशैली अपनाएमा हामीले यो रोग नियन्त्रणमा ल्याउन सक्छौँ ।
बाथ रोगले कतिसम्मको जटिलता निम्त्याउन सक्छ ?
बाथका प्रकार अनुसार जटिलताहरु हुन्छन् । बाथ भइसकेपछि यसको नियमित औषधी सेवन गर्नुपर्छ । जन मानसमा यसबारे चेतनाको धेरै कमी छ । बाथ भइसकेपछि १०/१५ दिन औषधी खाएर मलाई ठीक भयो भनेर छोडिदिने चलन छ । यस्तो कदापि गर्नु हुँदैन । यसो गर्दा झनै बल्झिँदै जाने खतरा हुन्छ ।
बाथ रोगले जोर्नी र तन्तुलाई मात्रै हानी गर्दैन । यसले दीर्घकालमा फोक्सो मृगौला, मुटु र नसालाई समेत असर गर्छ । यसलाई लापरबाही गर्यो भने धेरै क्षति व्यहोर्नुपर्छ । ज्यानै समेत पनि जान सक्छ ।
महिला र पुरुषको तुलनामा यो रोग कसलाई बढी मात्रामा देखिन्छ ?
बाथ रोग महिलालाई बढी लाग्ने अथवा पुरुषलाई बढी लाग्ने भन्ने हुँदैन । कुनै प्रकारका बाथ महिलालाई बढी लाग्ने हुन्छ भने कुनै प्रकारका बाथ पुरुषहरुमा बढी देखिने गर्छ । गठिया, लुपस, ओस्टियो आरथाइटिस जस्ता बाथ रोग महिलामा बढी हुने गरेको पाइएको छ । यद्यपि, युरिक एसिड, मेरुदण्डको बाथ रोगहरु भने पुरुषमा बढी देखिएको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया