काठमाडौँ– वि.सं. २०५२ सालमा आफ्नो सिनेमा ‘खाङ्ग्री’ लिएर अन्तर्राष्ट्रिय सिनेमा फेस्टिभलमा जाने कुरा सुनाउँदा नेपाली सिने उद्योगकै सहकर्मीहरुले सिनेकर्मी तथा निर्देशक नवीन सुब्बालाई खिसिट्युरी गर्थे । त्यतिबेला सिनेमा ‘खाङ्ग्री’का साथ इटलीको ‘ट्रिन्टो अन्तर्राष्ट्रिय सिनेमा फेस्टिभल’मा सहभागिता जनाउने सुब्बाले तय गरेका थिए ।
अन्तर्राष्ट्रिय प्लेटफर्ममा जाने उनका कुरालाई तिनताकाका फिल्मीकर्मीहरुले नै पत्याएनन् ।
‘त्यतिबेला मैले सिनेमा लिएर अन्तर्राष्ट्रिय सिनेमा फेस्टिभलमा जाने कुरा गर्दा सिनेमाका साथीहरु नै नपत्याएर हाँसे,’ उनले स्मरण गरे, ‘बाहिरका अरु मानिसहरुले पनि मेरो कुरा पत्याएनन् । बाहिर सिनेमा लगेर के हुन्छ र समेत भन्थे ।’
त्यतिबेलाको माहोल नै त्यस्तै रहेको उनी सम्झन्छन् । उनका अनुसार अहिलेको जस्तो सिनेमा निर्माण, प्रदर्शन, फेस्टिभल, सिनेमाबारे बहस, समीक्षाको माहोल त्यो समयमा थिएन । सिनेमाका विषयमा लेख्ने र टिप्पणी गर्ने मिडिया जगत नै त्यतिबेला नरहेको उनले सुनाए । तथापि ती सबैका बावजूद पनि ‘खाङ्ग्री’लाई उनले फेस्टिभलमा पुर्याएर नेपाली सिनेमालाई विश्व बजारमा लैजाने ढोका खोलिदिए ।
५० को दशकमै उनले चालेको त्यो कदमले नै आज दर्जनौं नेपाल र नेपाली मौलिकताको स्वाद बोकेका सिनेमाहरु विश्वका प्रतिष्ठित सिनेमा फेस्टिभल मार्फत अन्तर्राष्ट्रिय बजारमा पुगेका छन् । जसमा फिचरदेखि लिएर सर्ट सिनेमा तथा डकुमेन्ट्रीहरु समेत छन् ।
बर्लिन, टोरन्टो, कान्स, बुसान, भेनिस जस्ता प्रतिष्ठित मानिने फेस्टिभलहरुमा नेपाली सिनेमा पुगेका छन् । यो वास्तवमै देश र सिने उद्योगकै लागि गर्वको कुरा भएको सुब्बा लगायतका सिनेकर्मीहरु सुनाउँछन् । यसले नेपाली सिनेमा उद्योगको धार परिवर्तन गर्दै गुणस्तरसँगै व्यावसायिक उद्योगमा समेत फड्को मार्ने उनीहरुको एक मत छ ।
नेपाली सिनेमा निर्माणमा अहिले युवा पुस्ताको बलियो उपस्थिति देखिन्छ । उनीहरुको उपस्थिति सिनेमा लेखनदेखि निर्माण, निर्देशन तथा वितरणमा समेत छ । सिनेमामा आएका युवाहरुले देशभित्र मात्र नभएर विश्व बजारलाई समेत केन्द्रित गरेर सिनेमा निर्माणलाई जोड दिएका छन् । जसले गर्दा एकपछि अर्को नेपाली सिनेमाहरु अन्तर्राष्ट्रिय बजारको पहुँचमा पुगेका छन् ।
हालै भएकाे विश्व चर्चित ‘बर्लिन सिनेमा फेस्टिभल’को मुख्य प्रतिस्पर्धाका लागि मीन भाम निर्देशित फिल्म ‘साम्बाला’ ले सहभागिता जनायो । फेस्टिभलमा फिल्मले उपाधि हात नपारेपनि बर्लिनमा अन्तर्राष्ट्रिय सिनेमा विधामा छानिएको यो नै पहिलो फिल्म हो ।
यसअघि पनि निर्देशक भामको सर्ट सिनेमा ‘बासुल्ली’ र फिचर सिनेमा ‘कालो पोथी’ अन्तर्राष्ट्रिय बजारमा पुगिसकेका छन् । त्यस्तै क्यानडाको ‘टोरन्टो अन्तर्राष्ट्रिय सिनेमा फेस्टिभल’मा हालै मात्र नविन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’ प्रिमियर गरिएको थियो । यही सिनेमालाई दक्षिण कोरियाको ‘बुसान अन्तर्राष्ट्रिय सिनेमा फेस्टिभल’मा समेत देखाइएको थियो ।
‘लोरी’, ‘द रेड सुटकेस’, ‘हेलेना र विन्ड हर्स’,‘गुराँस’, ‘फोर नाइट्स’, ‘ह्विल अन द बस’, ‘जुनुको जुत्ता’ लगायतका सिनेमाहरु पनि अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा पुगेर लोकप्रियता कमाइसकेका छन् । यसलाई निकै सुखद पक्षका रुपमा लिन्छन्, सिनेमा समीक्षक अनुप सुवेदी ।
फिचर या सर्ट सिनेमाको यात्रा फेस्टिभलमा भए पनि अन्तर्राष्ट्रिय जगतमा पुग्नु सकारात्मक पक्षका रुपमा लिनुपर्ने उनको धारणा छ । ‘हाम्रा सिनेमाहरु विश्वमा पुग्नु भनेको नेपाली सिनेमा क्षेत्रका लागि राम्रै हो । यसले सिनेमा मेकर मात्र नभएर घरेलु दर्शकमा सिनेमाप्रतिको धारणा समेत परिवर्तन गर्न सक्छ’, उनले भने ।
उनका अनुसार अहिले नेपाली सिनेमाले हिँडेको बाटो पछ्याएर नै अर्को पिँढीहरु उत्पादन हुने हो । अन्य सिनेमा मेकरलाई पनि गुणस्तर सिनेमा बनाउने धारतिर लैजान सकिन्छ ।
अहिले सिनेमा क्रेजले दर्शकहरुमा समेत नेपाली सिनेमाहरु राम्रा बनेका छन् भन्ने माहोल बन्दै गएको उनले सुनाए । यसले नेपालको घरेलु बजारमा सिनेमाको छाप बढ्ने उनको भनाइ छ ।
अर्कोतिर अहिले विश्वमा नेपाली सिनेमा जाँदै गर्दा मेकरहरुमा गुणस्तर र प्रतिस्पर्धामा जाने खालका सिनेमा निर्माण गर्नुपर्छ भन्ने माहोल बनेको सिनेमा निर्माता अमोद राई स्पष्ट पार्छन् ।
उनी थप्छन्, ‘अहिले नेपाली सिनेमा बजारमा गुणस्तर सिनेमा बनेपछि अन्तर्राष्ट्रिय बजारमा जान सकिन्छ भन्ने बुझाइ बनेको छ । यसले गर्दा राम्रा सिनेमा र मेकरहरु आउने सम्भावना धेरै छ, यो त नेपाली सिनेमा उद्योग, बजार र दर्शकका लागि निकै राम्रो कुरा हो ।’
यही क्रममा अन्तर्राष्ट्रिय यात्रा अगाडि बढ्दै गएर व्यावसायिकतामा जोडिने उनको तर्क छ ।
सिने उद्योगलाई व्यावसायिकतामा लैजाला ?
नेपाली सिनेमाले फेस्टिभलहरु मार्फत अन्तर्राष्ट्रिय यात्रालाई फराकिलो आयाम बनाइरहेको यो समयमा व्यावसायिकताको पाटो अर्को महत्वपूर्ण पक्ष रहेको स्वयम् सिनेकर्मीहरुले बहसमा छुटाइरहेका छन् ।
जुनसुकै क्षेत्रले जता फड्को मारे पनि त्यसमा निचोडमा व्यवसाय र बजारको पाटो जोडेर आउँछन् । नेपाली सिनेमाहरु अन्तर्राष्ट्रिय फेस्टिभलहरुको पहुँचमा पुग्नुलाई व्यावसायिक बजारसँग तुलना गर्न नहुने सिनेमा निर्देशक तथा विश्लेषक मनोज पण्डितको बुझाइ छ ।
उनले भने, ‘फेस्टिभलहरु मार्फत विश्वमा नेपाली सिनेमा पुग्नु निकै सुखद पक्ष हो । तर हाम्रा सिनेमा किनबेच गर्ने विश्व बजारमा अझै पुगेका छैनन् । फेस्टिभलहरु मार्फत त्यहाँ पुगेका सिनेमाको माहोलले भने व्यावसायिक रुपमा बजारमा कसरी जाने भन्ने चिन्तनलाई बढाएको छ ।’
फेस्टिभलहरुमा गएका सिनेमाकै आधारमा नेपाली फिल्मी उद्योग विश्व बजारमा गयो र विश्वव्यापीकरण भयो भन्ने कुरालाई उनी स्वीकार्दैनन् । यसले व्यावसायिकतालाई नबोक्ने मनोजको तर्क छ ।
विश्व सिनेमा थिएटर, ओटीटीजस्ता प्लेटफर्ममा नेपाली सिनेमा अब कसरी पुर्याउने भन्ने कुरालाई सोच्नुपर्ने समय भएको मनोज सुनाउँछन् । अहिलेको सिनेमाको क्रेज र फेस्टिभलहरु जाने माहोलले भने युवा पुस्तामा सिनेमाप्रति उत्प्रेरणा र झुकाव बढाएको उनको ठम्याइ छ ।
उनको धारणा छ, ‘हामीमा फेस्टिभलहरुमा सीमित नभएर अब नेपाली सिनेमाको बौद्धिकता र कलात्मक पक्षको बहस पनि हुनुपर्छ, नेपाली सिनेमालाई बेच्ने र विस्तार गर्ने बजारतिर सिनेकर्मीहरु लाग्नुपर्छ ।’
व्यवसाय र बजार जोड्ने विषयमा सिनेमा मेकरहरुको मनोविज्ञान नबनेको उनको बुझाइ छ ।
पण्डितकै भनाइ अनुसार केही सिनेमा अन्तर्राष्ट्रिय बजारमा जानु नेपाली सिनेमा उद्योगका लागि सफलता भने होइन । सिनेमा निर्माण र उद्योग फरक पाटाहरु रहेकोले यसको मेकिङ र बजारका बारेमा छुट्टै बहस हुन सक्ने मनोजको तर्क छ ।
नेपाली सिनेमालाई विश्व बजारमा व्यावसायिक रुपमा लैजाने पाटोमा भर्खरै बाटो बनेको मनोजले सुनाए । उनका अनुसार कोरियन, चिनियाँ सिनेमाहरु जस्तै नेपाली सिनेमाहरु प्रतिस्पर्धामा जान अझै लामो समय लाग्न सक्ने उनको अनुमान छ ।
उनले जोडे, ‘विश्वका फेस्टिभलमा अहिले हाम्रो नेपाली सिनेमाको डिमाण्ड बढेको छ । प्रतियोगिताहरुमा अवार्ड जित्न थालेको छ । विस्तारै विश्व बजारका अडियन्स (दर्शक) ले हेर्न थालेका छन् । हामीले अन्तर्राष्ट्रिय मिडिया कभरेज समेत पाइरहेका छौं ।’ यसले जनशक्ति क्रियाशील बनाउन, नयाँ उत्पादन गर्न र बजार विस्तारमा सघाउने उनले सुनाए ।
सिनेमा निर्माणमा राज्यको भूमिका कस्तो हुनुपर्छ ?
विश्व बजारमा नै जाने खालका सिनेमा निर्माणमा राज्यको समेत महत्वपूर्ण भूमिका रहने सिनेकर्मीहरुको भनाइ छ । विश्व सिनेमा बजारलाई हेर्ने हो भने सिनेमा निर्माण र वितरणमा समेत राज्यको भूमिका देखिने उनीहरु सुनाउँछन् ।
नेपालमा भने यसमा शून्य भूमिका देखिएको सबैको एक मत छ । यसले गर्दा सिनेमा निर्माणमा लगानी र जनशक्ति खोज्नै मुख्य चुनौती हुने निर्माता राई सुनाउँछन् ।
‘नेपाल चलचित्र विकास बोर्ड’ जस्ता निकायले सिनेमा निर्माणमा केही रकम छुट्याए पनि त्यो लगानी कसलाई र कसरी बाहिरिन्छ भन्ने छर्लङ्ग देखिने नविन सुब्बा सुनाउँछन् । राजनीतिक पार्टी र कार्यकर्ताहरु हाबी रहने यसमा राज्यको लगानी नै दुरुपयोग भएको उनको भनाइ छ ।
यस्तो अवस्थामा राज्यबाट आशा राख्नुभन्दा सिनेकर्मीहरु नै जागरुक भएर नेपाली सिनेमालाई अगाडि बढाउन आफ्नो तहबाट उठ्नुपर्ने उनको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया