पोलिग्राफ टेस्ट अर्थात् झुटो समात्ने मेसिनको प्रयोग गरेर शङ्कास्पद एवं आरोपी व्यक्तिलाई सत्यतथ्य ओकल्न लगाइन्छ ।
विश्वका विभिन्न देशका प्रहरीहरुले ठूला र अनुसन्धान गर्न जटिल आपराधिक घटनाहरूमा अभियुक्तको बयान लिन यो प्रविधिको प्रयोग गर्ने गर्छन् ।
आरोपी पक्राउ पर्यो तर प्रमाणहरू कम भएर उसैबाट वास्तविकता ओकल्नु पर्यो भने यो प्रविधिको आवश्यकता पर्छ । यसको नतिजाको सत्यतामा ८०.९० प्रतिशत विश्वास गरिन्छ ।
नेपाल प्रहरीले पनि २०७० माघ २२ देखि ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागु भएपश्चात् विधिवत् रूपमा पोलिग्राफ परीक्षण थालेको हो ।
यसको खोज यूनिभर्सिटी अफ क्यालिफोर्नियाबाट मेडिकल पढेका अमेरिकी नागरिक जोन अगस्तस लार्सनले सन् १९२१ मा यसको खोज गरेका थिए ।
के हो पोलिग्राफ टेस्ट ?
पोलिग्राफ एक मेसिन हो । कुनै व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसलाई सेन्सरद्वारा यो मेसिनसँग जोडिइन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ ।
आरोपीको श्वासप्रश्वास, मुटुको चालको गति, प्रश्नको समयमा आरोपीको रगतको प्लेटिस्योग्राफमा हुने परिवर्तन र उसको छालाको तरङ्ग इलेक्ट्रो डरमल र प्रश्नको उत्तर दिँदा उसले झूट बोलेको छ या छैन भन्ने खुट्याउने काउन्टर मेजर सेन्सरको आधारमा नतिजा निस्कन्छ।
यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ । परीक्षण गरिने मानिससँग ६ वटा सेन्सर जोडिएको हुन्छ ।
कसरी गरिन्छ ?
यसका लागि सुरुमा आरोपीको अनुमति चाहिन्छ । त्यसपछि प्रश्न सोध्न थालिन्छ । साधारण देखि ऊमाथि लागेको आरोपसम्मका प्रश्नहरू सिलसिलेवार रूपमा सोध्दा यो पुरै प्रक्रियामा व्यक्तिबाट आएको तरङ्गलाई मेसिन मुभिङ पेपर (ग्राफ) मा रेकर्ड गरिन्छ ।
प्रश्नोत्तरको प्रक्रिया पुरा हुन भन्दा पहिले र पछि पोलिग्राफ परीक्षकले ग्राफको जाँच गरेर कुन प्रश्नको उत्तरमा व्यक्तिबाट आएको तरङ्ग परिवर्तन भएको छ भन्ने हेर्छ ।
पोलिग्राफको जाँच दक्ष तालिमप्राप्त परिक्षकद्धारा गराइएमा सत्य र झुटो सजिलै पत्ता लाग्छ । तर परीक्षक तालिमप्राप्त नभएमा यसको नतिजामा फरक पर्न सक्छ । फलतः यसलाई पूर्ण सत्य मान्न सकिँदैन ।
अर्कातर्फ यदि कसैलाई उसको पोलिग्राफ टेस्ट गरिँदैछ भन्ने थाहा छ भने उसले टेस्टको लागि आफूलाई तयार गरेर पोलिग्राफ टेस्ट वा लाई डिटेक्टरलाई धोका दिन सक्छ र परीक्षकले थाहै नपाउने ढङ्गले झुट बोल्न सक्छ । जसले नतिजा प्रभावित बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया