मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जलवायु परिवर्तनको असर

के चराका प्रजातिहरू मासिँदै गएका हुन्?

कुन कुन चराहरू देखिन छाडे?

काठमाडौँ– बिहानी घामको किरणसँगै चराहरुको चिरबिर आवाजले निन्द्रा खुल्ने हिजोको समय मानिसका लागि नौला भइसके । गाउँघरमा घाम डुब्दै गर्दा ‘हुट्टिट्याउँ–हुट्टिट्याउँ’ भनेर साझँ परेको सूचना दिने हुट्टिट्याउँहरु पनि अहिले देखिन छाडेको छ ।

अहिले भँगेरा, गौथली, लामपुच्छ्रेजस्ता चराका धेरै प्रजातिहरु कम मात्रै होइन लोप हुने अवस्थामा पुगेको विज्ञहरुको अनसन्धानले बताउँछ ।  पछिल्लो समय जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट आउने हिउँदे चरा पनि नेपालमा घट्दै गएको विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ ।

यस्तै अवस्था यथावत रहने हो भने नयाँ आउने पुस्ताले चराहरू देख्न नपाउनेमा चराविद्हरुले सचेत गराएका छन् ।

नेपाल पंक्षी संरक्षण संघले पनि धेरै प्रजातिका चराहरु लोप हुने अवस्थामा रहेको बताउँछ । संघका कार्यक्रम प्रवन्धक अंकित विलास जोशीका अनुसार नेपालमा पाइने १ सय ७२ प्रजातिका चराहरु लोप हुने अवस्थामा छन् ।

अहिले नेपालमा जम्मा ८ सय ९२ प्रजातिका चराहरु पाइनेमा ४० प्रजातिका चराहरु विश्वमै दुर्लभ प्रजातिका छन् । यस्तै १ सय ७२ प्रजातिका चरा नेपालमै विभिन्न कारणले गर्दा संकटमा परेको जोशीले जोय नेपालसँगको कुराकानीका क्रममा बताए ।

काठमाडौँ लगायतका ठूला शहरहरुमा अहिले नयाँ डिजाइनका घरहरु बनेका कारण साना प्रजातिका चराहरूको सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।

उनले भने, ‘भँगेराहरू मुख्यतया बासस्थान विनाश र आहाराको अभावले हराएका हुन् । पुराना र परम्परागत घरहरु चराहरुको बासस्थानका लागि उपयुक्त हुन्थे । पछिल्लो समय बनेका नयाँ डिजाइनका घरका कारण पनि शहरहरूबाट चराहरु हराउन थालेका छन् ।’

पछिल्लो समयमा बढ्दो प्रयोग, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, लगायतका कारणले पनि चराहरु लोप हुने अवस्था आएको जोशीले सुनाए ।

बदलिँदो तापमान र मौसम परिवर्तनले पनि धेरै प्रजातिका चराहरु संकटमा पर्ने गरेको उनको बुझाइ छ ।

विगतमा सजिलै र धेरै मात्रामा भेटिने भँगेरा, गौँथली, लामपुच्छ्रे जस्ता चराहरु अहिले छिटफुट मात्र देखिँदै जाँदा भविष्यमा लोप हुनसक्ने सम्भावना रहेको चराविद् डा. हेम बरालले बताए ।

उनका अनुसार नेपालमा भँगेरासँगै अन्य धेरै प्रजातिका चराहरु हराउने क्रम बढेको भए पनि संकटापन्न चराको सूचीमा राखिएको छैन ।

उनले भने, ‘युरोपमा संकटको सूचीमा राखिएको भँगेरा लगायतका धेरै प्रजातिका चराहरु अहिले हराउँदै गइरहेका छन् । तर यसलाई नेपालमा संकटापन्न चराको सूचीमा राखिएको छैन् । भँगेरा मात्रै नभइ नेपालमा पाइने धेरै प्रजातिका चराहरु हराउन थालेका छन् ।’

चराहरुको संरक्षण एउटा व्यक्ति वा संस्थाले गर्न नसक्ने बताउँदै उनले राज्य स्तरबाट नै संरक्षणको लागि पहल हुनुपर्ने बताए ।

कृषकहरुले अन्नबालीमा प्रयोग गर्ने विषादी र मोबाइल टावर, बिजुलीका पोल तथा तारहरुका कारण पनि चराहरू लोप हुने कारण बनिरहेको पंक्षीप्रेमीहरुको मत छ ।

चराहरुको संरक्षण गर्नका लागि सबैभन्दा पहिले प्रकृति संरक्षणमा ध्यान दिनुपर्ने डा. बरालको भनाइ छ । यसका लागि वातावरण मन्त्रालयले मात्र नभई अन्य मन्त्रालयले पनि यो कुरा बुझ्न जरुरी रहेको उनले बताए ।

चराहरुको बारेमा धेरै अनुसन्धान र अध्ययन नेपालमा हुन नसकेको भनाइ अर्का चराविद् बिमल थापाको छ ।

बढ्दो शहरीकरणसँगै चराचुरुङ्गीहरुको लागि उत्पन्न भएको बासस्थान तथा आहाराको अभावले गर्दा यसको सङ्ख्यामा घडबढसँगै लोप नै हुने अवस्था आएको उनले सुनाए ।

उनले भने, ‘हुलका हुल देखिने भँगेरा आजभोलि थोरै देखिन्छन् । अब भने यिनको संरक्षणको लागि पहल गर्नुपर्छ ।’

नेपालमा चरा संरक्षणको अवस्था पनि एकदमै कमजोर रहेको उनको भनाइ छ ।

‘चरा संरक्षण गर्न हामीमा जनचेतना, सहभागिता र विज्ञताको अभाव छ, सरकारको पनि संरक्षण सम्वन्धी नियम कानुनको अभाव छ, पत्रकारहरुले पनि यस विषयमा कलम कमै चलाउँछन्,’ उनले भने ।

घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा तापक्रमका कारण तराई क्षेत्रबाट लोप हुने अवस्थामा छन् । पंक्षी संरक्षण संघका कार्यक्रम प्रवन्धक जोशीले पनि यसमा सही थप्दै चरा संरक्षण विशुद्ध एकल संस्थाको अभियानले मात्र सम्भव हुन नसक्ने बताए ।

नेपालमा पाइनेमध्ये करीब १ सय ७२ प्रजातिका चराहरु लोप हुने अवस्थामा पुगेको अवस्थामा शहरी क्षेत्रमा परेवाको सङ्ख्या भने बढिरहेको देखिन्छ ।

भक्तपुरको च्यामासिङका विश्वराम दुलालले घरको सौन्दर्य बढाउनका लागि छाना बनाएका थिए । तर उक्त छाना र बार्दलीको रेलिङमा परेवाका बथानले बिस्ट्याएर दिक्क पारेको उनले सुनाए ।

संरक्षण संघका संरक्षण सदस्य जय भण्डारीले पनि सहरी क्षेत्रमा काग तथा परेवाहरुको सङ्ख्या बढे पनि यसलाई समस्याको रुपमा भने लिन नहुने बताए ।

उनले भने ‘पंक्षी संरक्षण संघ हरेक वर्ष २ पटक शहरी क्षेत्रमा परेवा तथा कागको सङ्ख्या गणना गर्ने गरेको छ, यसले पनि शहर तथा शहरोन्मुख क्षेत्रहरुमा तिनको सङख्या बढेको देखिएको छ ।’

परेवाको संख्या बढ्दै गएर यसबाट पंछीजन्य रोग सल्कियो भने समस्या हुन सक्ने उनले बताए । परेवालाई शान्तिको प्रतिक मानेर पूज्ने, खाना खुवाउने तथा बासस्थान पनि विशेष स्थान नचाहिने भएकोले सहरी क्षेत्रहरुमा परेवाको सङ्ख्या बढ्दै गएको उनको ठम्याइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?