मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित

काठमाडौँ- अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ ।

गत वर्ष प्रतिकेजी रु एक सय २० देखि रु एक सय ३० सम्ममा बिक्री भएको अम्रिसोको फूल (कुचो) अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भएको जनाइएको छ । माई नगरपालिका–९ का पूर्णकुमारी साउदेनले कुचो किन्नका लागि व्यापारीे घरैसम्म आएका र सस्तो मूल्यमा कुचो बेच्न बाध्य भएको बताइन् ।

“गत वर्ष यामको सुरुमा नै प्रतिकेजी रु एक सय १० का दरले कुचो बेचेको थिएँ, पछि रु एक सय ३० सम्म पुगेको थियो, यस वर्ष प्रतिकेजी रु ६५ का दरले बेच्न बाध्य भइयो”, उनले भनिन्, “यस्तै तरिका हो भने घरव्यवहार चलाउन नै मुस्किल गर्ने रहेछ ।”

मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अम्रिसोको खेतीमा लागेका किसान मारमा परेको किसान अभिषेक येक्तेनले बताए । विगतमा राम्रो मूल्य पाएपछि किसानले हौसिएर अम्रिसो खेती गरेको भए पनि अहिले निराशा छाएको उनले गुनसो गरे ।

“अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन”, उनले भने, “मैले यस वर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसा समेत नपुग्ने अवस्था छ ।” यसरी मूल्य नै घट्दै जाने हो भने अम्रिसोको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको किसान पवन राईले बताए ।

“दुई/तीन वर्षअघिसम्म कुचोको मूल्य राम्रो थियो”, उनले भने, “हामीले प्रतिकेजी एक सय ३० सम्ममा बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि खेतमा समेत अम्रिसो लगाइयो, अहिले समस्या भयो । समय फेरियो अब फेरि अम्रिसोको विकल्पमा अरु बाली लगाउनुपर्ने अवस्था छ ।” भिरालो पाखोबारीमा समेत भूक्षय रोक्ने उद्देश्यले बारीका कान्लाको अम्रिसो खेती गरिन्छ ।

अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमा नै आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गर्ने गरेका छन् । बिरुवाका लागि भइरहेको बोटबाटै अर्को बिरुवा निकाल्न सकिने, गोडमेलका लागि झन्झट नहुने भएका कारण कम लगानीमा राम्रो आम्दानी गर्न सफल भएपछि किसान अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?