मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

को हुन् बिल गेट्सलाई चिया पिलाउने डोली चायवाला ?

काठमाडौँ– भारत भ्रमणमा रहेका माइक्रोसफ्ट कम्पनीका संस्थापक एवम् अर्बपति धनाढ्य बिल गेट्सले चिया पिएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा भाइरल ‘डोली चायवाला’ ले उनका लागि चिया बनाएर पिलाएको देख्न सकिन्छ ।

भिडियोको शुरुमै गेट्सले भनेका छन्, ‘वान चाय प्लिज ।’ त्यसपछि डोली चायवालाले आफ्नै शैलीमा चिया बनाएर गेट्सलाई पिलाउँछन् ।

आफैँले चिया बनाएर पिलाएका बिल गेट्सलाई आफूले नचिनेको उनले बताएका छन् । भिडियो भाइरल भएपछि बल्ल आफूले बिल गेट्सलाई चिया पिलाएको थाहा पाएको उनले बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले भनेका छन्, ‘मलाई त उनी बिल गेट्स हुन् भन्ने नै थाहा भएन । मलाई त कुनै विदेशीलाई चिया पिलाएजस्तो लागेको थियो । भोलिपल्ट मात्रै मैले कसलाई चिया पिलाएँ भन्ने थाहा पाएँ ।’

उनले अब प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिया पिलाउने आफ्नो चाहना रहेको खुलासा गरेका छन् । ‘म जीवनभर सबैलाई मुस्कानसहित चिया बेच्छु र ग्राहकहरुको मुस्कान फिर्ता पाउँछु ।’ उनले भनेका छन् ।

को हुन् डोली चायवाला ?

आफ्नो अलग अन्दाजमा चिया बनाउने डोली चायवाला भारतसँगै विश्वभर चर्चित छन् । पहिले पनि उनले चिया बनाएको भिडियो करोडौँले हेरेका छन् । सामाजिक सञ्जालमा पनि उनका दशौँ लाख फलोअर्स छन् ।

उनको चिया भन्दापनि चिया बनाउने शैलीबाट मानिसहरु प्रभावित छन् । उनले विशिष्ट हाउभाउ र भावभङ्गीले चिया बनाउँछन् । ग्राहकका लागि चिया बनाउने र चुरोट सल्काउने उनको विधि अचम्मैको छ ।

उनको ड्रेसअप पनि फरक किसिमको हुने गरेको छ । उनी प्रायः फिटिङ सर्ट लगाउँछन्, हेयरस्टाइल पनि कुनै कोरियन फिल्मको हिरोजस्तो । उनी आँखामा चश्मा, गलामा नेकलेस र कानमा लामो इयरबड्सका साथ देखा पर्छन् । धेरैले उनको भावभङ्गी हलिउड फिल्म श्रृङ्खला ‘पाइरेट्स अफ द क्यारेबियनका नायक जोनी डेपको जस्तो रहेको भन्ने गरेका छन् ।

उनले आफ्नो पहिरन मौलिक नभएको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘मैले दक्षिण भारतीय फिल्मबाट यो पहिरनको नक्कल गरेको हुँ ।’

उनले चिया बेच्ने ठेला महाराष्ट्र राज्यको नागपुरस्थित रवीन्द्रनाथ टेगोर मार्गमा रहेको छ । उनले बनाएको चिया चाख्न ठेला वरिपरी हरेक दिन ग्राहकहरुको ठूलो भीड नै जम्मा हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?