मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

नेपाली फिल्मकी ‘हिम्मतवाली’ रेखा

काठमाडौँ– नेपाली फिल्म ‘उपहार’ यही फागुन २५ मा प्रदर्शन हुँदैछ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्मलाई रेखाले निर्माण गरेकी हुन् । केही समयअघि अमेरिकामा छोरी जन्माएकी रेखा यतिबेला भने फिल्मका कारण मिडियामा छाइरहेकी छिन् ।

फिल्म ‘हिरो’ बाट नेपाली रजतपटमा छाएकी रेखा पछिल्लो समय ‘उपहार’ लिएर दर्शकमाझ आउँदैछिन् ।

यतिबेला छोरीको स्याहार सुसारमा व्यस्त रेखाले आफ्नो फिल्म ‘उपहार’ को प्रचारलाई पनि समय दिइरहेकी छिन् । उनलाई फिल्म क्षेत्रमा हिम्मतवाली, स्टाइलिस र सुन्दर अभिनेत्रीका रुपमा समेत लिने गरिन्छ । लामो समय फिल्म क्षेत्रमा अभिनय गरेकी रेखाले दुई समभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।

वि.सं. २०३९ भाद्र ५ गते मोरङमा प्रेम थापा र सरस्वती थापाकी जेठी छोरीकी रुपमा जन्मिएकी उनका १ बहिनी र २ भाइ छन् । साथै उनी ‘रेखा थापा फाउन्डेसन समाज’ नामक संस्था खोलेर समाजसेवामा समेत छिन् । वि.सं. २०७८ मा जाजरकोटका पर्यटन व्यवसायी बलराम शाहीसँग बिहे गरेकी उनी केही समय फिल्ममा भन्दा राजनीतिमा सक्रिय भइन् ।

उनी राजतन्त्रको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भए पनि केही समयअघि उनले एक अन्तर्वार्ताका क्रममा आफू गणतन्त्रवादी भएको बताएपछि उक्त भिडियो क्लिप भाइरल भएको थियो । रेखाले आफ्नो चिनारीलाई केवल कलाकारका रुपमा मात्र सीमित राखेकी छैनिन् । उनले निर्देशक, समाजसेवी, राजनीतिज्ञका रुपमा पनि आफूलाई स्थापित गर्ने कोशिश गरेकी छिन् ।

’हिरो’ बाट शुरु भएको रेखाको अभिनय यात्रा

५० को दशकमा फिल्मी क्षेत्रमा ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एक दशकसम्म यस क्षेत्रमा राज गरिन् । फिल्म ‘हिरो’मा रेखाले अभिनेता राजेश हमालसँग अभिनय गरेकी थिइन् । थापाले ‘हिरो’, ‘वरमाला’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘मितिनी’, ‘बाटो मुनिको फूल’, ‘लंका’, ‘रावण’, ‘हिम्मतवाली’, ‘तथास्तु’ देखि ‘उपहार’ सम्म अभिनय गरेकी छिन् ।

निर्देशकको भूमिकामा रेखा

अभिनेत्री थापाले निर्देशकको रुपमा समेत आफ्नो बलियो छबि बनाएकी छिन् । उनले पहिलो निर्देशन रहेको फिल्म ‘हिम्मतवाली’ दर्शकले रुचाए । अहिले पनि उनलाई हिम्मतवाली भनेर सम्बोधन गर्ने गरिन्छ । नेपाली फिल्म उद्योगमा राम्रो चर्चा पाएपछि उनले फिल्म ‘राम प्यारी’ लगायत फिल्म समेत निर्देशन गरेकी छिन् ।

रेखाको वैवाहिक जीवन

वि.सं. २०५८ मा निर्देशक छविराज ओझासँग विवाह गरेकी रेखाको २०६९ मा सम्बन्धविच्छेद भयोे । वि.सं. २०७८ सालमा उनले बलराम शाहीसँग काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज गरेकी थिइन् ।

रेखा थापाको राजनीतिक यात्राः पछिल्लो समय कलाकार राजनीति र राजनीतिक दलका नेताहरु फिल्म उद्योगतिर देखिनु नौलो दृश्य होइनन् । नेपाली फिल्मी क्षेत्रमा अभिनेता, अभिनेत्री, निर्देशक, निर्माताहरु पनि राजनीतिमा होमिरहेका छन् ।

निर्देशक मनोज पण्डित, निर्माता तथा निर्देशक सरोज थापा, करिश्मा मानन्धर, गायन क्षेत्रमा राम्रै परिचय बनाएकी कोमल ओली लगायतले राजनीतिमा प्रवेश छन् । यही लहरमा रेखा पनि अछुतो रहन सकिनन् ।

केही समयअघि तत्कालीन एकीकृत नेकपा. माओवादीको सदस्य रहेकी थापा अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न रहेकी छन् । २०७९ मंसिर ४ को चुनावमा उनले राप्रपाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी समेत दिएकी थिइन् । अहिलेको राजनीतिलाई दोस्रो पुस्ताले सुधार्नुपर्ने अभिनेत्री थापाले भनाइ राख्दै आएकी छिन् ।

रेखाको राजनीतिमा प्रवेशको समयमा नेपाली सिनेमा क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्रमा निकै बहस चर्चा चुलिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवारीमा पराजय भएकी उनी प्रतिनिधि सभा सदस्यका लागि मोरङ–३ बाट राप्रपाबाटै उम्मेदवार दिँदा उता पनि हार बेहोरिन् ।

समाजिक सेवामा पनि उत्तिकै सक्रिय

महिला अभिनेत्रीलाई सहायक र असहाय रुपमा चित्रण गर्ने नेपाली फिल्मको परम्परागत धारलाई परिवर्तन गरेर रेखा आफैं नायकको भूमिकामा उभिन आइन् ।

पुरुष पात्रको वरिपरि घुम्ने विषयलाई उनले नारी प्रधान बनाइन् । फिल्ममा मात्र नभएर रेखाले महिला सशक्तीकरणका लागि ‘रेखा थापा फाउन्डेसन समाज’ नामक संस्था खोलेर समाज सेवामा सक्रियता बढाइन् । उनले २०७० साल पुस १९ गते एक कार्यक्रमको आयोजना गरी फाउन्डेसन शुरु भएको घोषणा गरेकी थिइन् ।

उनले सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको जोगबुढास्थित राउटेहरुलाई सहयोग गरेकी थिइन् । हाल अमेरिकामा पतिसँग बसेर छोरीलाई हुर्काइरहेकी रेखाले उतै बसेर फिल्म ‘उपहार’को प्रचार गरिरहेकी छिन् ।

उनी देश र समाजमा भएका विविध गतिविधिहरुमा समेत उत्तिकै सक्रिय भएर सामाजिक सञ्जालमा आफ्नो धारणाहरु व्यक्त गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?